Rumpum Advertisement

ओलीलाई भट्टराईको प्रश्न : सबै ठूला भ्रष्टाचार प्रकरणको छानबिन गर्न कसले रोकेको हो ?

Neuro Revised Adv
Koshi Dashain ad
ओलीलाई भट्टराईको प्रश्न : सबै ठूला भ्रष्टाचार प्रकरणको छानबिन गर्न कसले रोकेको हो ?

विराटनगर, ३० असोज । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै ठूला भ्रष्टाचार प्रकरणको छानबिन गर्न चुनौती दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटमार ट्वीट गर्दै भट्टराईले बूढीगण्डकी आयोजना मात्र नभएर सबै ठूला भ्रष्टाचार प्रकरणको छानबिन गरेर देखाउन चुनौती दिए ।

प्रधानमन्त्री ओलीले बूढीगण्डकी आयोजनाबारे बाबुरामले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका थिए ।

बाबुरामले जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालसमेतको संलग्नता रहेको बताएका थिए । केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।

शुक्रबार नेपाल प्रहरीको ६५औँ प्रहरी दिवस कार्यक्रममा बोल्दै ओलीले पूर्वप्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए ।

‘कसैले नलिएको, कार्य आरम्भ नभएको, हुन्छ हुँदैन, कसले गर्छ भन्ने टुङ्गो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यति अर्ब बाँडेर खाएर भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ ओलीले भनेका थिए ।

ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्वप्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए ।

सोको जवाफ दिँदै बाबुरामले ट्वीटरमा भने, ‘प्रधानमन्त्री ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्यसहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यती, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न कसले रोकेको हो त ? कुराले हैन काम गरेर देखाउनोस् ! नत्र ढाँटेको कुरा खाई पत्याउनु…!’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ