Rumpum Advertisement

कोरोना पोजेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज, घर लैजाँदै गर्दा बाटैमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना पोजेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज, घर लैजाँदै गर्दा बाटैमा मृत्यु

विराटनगर, ३० असोज । विराटनगरको विराट नर्सिङ होमले कोरोना पोजेटिभ देखिएपछि डिस्चार्ज दिएका व्यक्तlको घर लैजादैगर्दा बाटोमै मृत्यु भएको छ ।

अस्पतालले कोरोना पोजेटिभ देखिएपछि डिस्चार्ज दिएको मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालले डिस्चार्ज दिएपछि आफन्तले बिहीबार बेलुका घर लिएर गएका थिए । घर लैजाँदै गर्दा उनकाे साँझ ७ः४० बजे बीच बाटैमा मृत्यु भएको हो ।

परिवारका सदस्यका अनुसार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि उनलाई उपचारका लागि गत बुधबार अस्पतालमा भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएका उनको बिहीबार बिहान नै रिपोर्ट पोजेटिभ आएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले बताए ।

उनका अनुसार रिपोर्ट पोजेटिभ आएर कोरोना पुष्टि हुँदाहुँदै उपचार नहुने भन्दै अस्पतालले डिस्चार्ज दिएको थियो ।

मृतकको दुवै मृगौलाले काम गर्न छाडेको र मधुमेह तथा दमको पुरानै समस्या रहेको राईले बताए । मेयर राईले कोरोना पोजेटिभ देखिएपछि डिस्चार्ज गर्नु लापरवाही भएको बताए ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णु खड्काले मृत्यु भएका संक्रमितको घरलाई सिल गरी शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको बताए ।

अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालबाट बिरामीलाई आफन्तले लिएर गएपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताए ।

‘पुराना विभिन्न रोग रहेका बिरामीलाई चिन्ताजनक अवस्थामा अस्पतालमा भर्ना गरिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो,’ उनले भने, ‘उपचार सफल नहुने भएपछि परिवारका सदस्यले लैजान्छौं भनेर जिद्दी गरेपछि डिस्चार्ज दिइएको हो ।’

उनका अनुसार मोरङको बूढीगंगामा रहेको विराट शिक्षण अस्पतालको प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गरिएको हो ।

रिपोर्ट नआइकनै उपचार गर्दा पनि नबाँच्ने भए लैजान्छौं भनेका कारण परिवारलाई बिरामी जिम्मा लगाएर पठाएको र पछि रिपोर्ट पोजेटिभ आएपछि जानकारी गराइएको विनाडीले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालले डिस्चार्ज दिएर घर पठाएको जानकारी आफूले पनि पाएको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ