Rumpum Advertisement

तीन दिनपछि नोबेलबाट उठ्यो महिलाको शव

Neuro Revised Adv
Koshi Dashain ad
तीन दिनपछि नोबेलबाट उठ्यो महिलाको शव

विराटनगर, २९ असोज । विराटनगरको नोबेल शिक्षण अस्पतालमा ट्यूमरको शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव परिवारका सदस्यले बुझेका छन् ।

चिकित्सकले लापरवाहीका कारण मृत्यु भएको बताउँदै आफन्तले मंगलबारदेखि अस्पतालमै शव छाडेर आन्दोलनमा उत्रिएका थिए ।

पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्टराईको मृत्यु मंगलबार बिहान भएको थियो ।

शल्यक्रिया गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने, पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका आफन्त र परिवारका सदस्य अस्पतालसँग सहमतिपछि बिहीबार शव बुझ्न राजी भएका हुन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच बिहीबार भएको वार्तामा अस्पतालले कीरिया खर्च दिने, उपचारवापत लागेको रकम फिर्ता गरिदिने सहमति भएको थियो ।

कीरिया खर्चवापत एक लाख १० हजार रुपैयाँ उपलब्ध गराएर औषधिको ९३ हजार र उपचारमा लागेको एक लाख २३ हजार रुपैयाँ फिर्ता गर्न अस्पताल सहमत भएपछि शव बुझेर लगिएको परिवारका सदस्यले बताएका छन् ।

तारादेवीका श्रीमान ओम भट्टराईका अनुसार शल्यक्रियाका लागि श्रीमतीलाई आइतबार अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि सोमबार बिहान ९ बजेतिर शल्यक्रिया भएको जानकारी दिए ।

पहिलो शल्यक्रियापछि बाहिर निकाल्दा सामान्य अवस्थामा रहेकी श्रीमतीको मृत्यु हुँदा परिवारका सदस्य र आफन्त आक्रोशित बनेको उनले बताए । शल्यक्रियापछि आईसीयूमा रहेकी श्रीमतीको रगत नरोकिएकाले पुनः अर्को पटक पनि शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले बेलुका अप्रेशन थिएटरतिर लिएर गएको उनको भनाइ छ ।

दोस्रो शल्यक्रियापछि भेन्टिलेटरमा लैजानुपर्ने भयो भन्दै अचेत अवस्थामा अक्सिजनसहित अप्रेशन थिएटरबाट चिकित्सकले बाहिर निकालेको र भोलिपल्ट मृत्यु भएको जानकारी दिएको उनले बताए ।

ओमले सामान्य अवस्थाकी श्रीमतीको चिकित्सकको लापरवाहीले दुई पटकसम्म शल्यक्रिया गर्नुपर्दा मृत्यु भएका कारण तत्काल शब नबुझेको बताए । ट्यूमर निकाल्ने बहानामा चिकित्सकले आन्द्रा नै काटिदिएको उनको आरोप छ ।

शल्यक्रियामा सहभागी स्त्रीरोग विशेषज्ञ प्रा.डा गेहनाथ बरालले भने मृतक महिलाको पाठेघरमा तेस्रो चरण (स्टेज थ्री) को क्यान्सर भइसकेको बताए ।

पाठेघरको साइडबाट फैलिएको क्यान्सर पिसाब थैली र आन्द्रासम्म पुगेका कारण ट्यूमरको शल्यक्रिया गरिए पनि बिरामीलाई बचाउन नसकिएको उनको भनाइ छ ।

शल्यक्रियापछि ट्यूमरभित्र जम्मा भएको तीन लिटर रगतबाहिर गएको जानकारी बरालले दिए ।

अस्पताल प्रबन्धक नारायण दाहालले सहमतिपछि मृतकका परिवारका सदस्यले दाहसंस्कारका लागि शव बुझेर लगेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ