Rumpum Advertisement

महिलाले दशैंमा एक करोडको खसीबोका बेच्ने

Neuro Revised Adv
Koshi Dashain ad
महिलाले दशैंमा एक करोडको खसीबोका बेच्ने

बागलुङ, २९ असोज । नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसी बोकामा जान थालेको छ ।

बागलुङको एक गाउँमा दशैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक दुई करोड भित्र्याउँदै आएका छन् । जसमध्ये दशैँ तिहारमा मात्रै करिब एक करोडका खसीबोको कारोवार गर्दै आएका छन् ।

तंग्राममा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत् विगत छ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।

दशैँ तिहारका लागि सप्तरंगी सहकारीले ३९५ र वसन्त सहकारीले ६०० खसीबोका गरी जम्मा ९९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् । दशैँ तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिइन् । ‘वर्षभरिमा हाम्रो खसीबोकाको बढी व्यापार दशैँ तिहारमा हुन्छ,’ विकले भनिन्, ‘गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत् बजारीकरण गरिन्छ, कूल खसीबोकाको कारोबारमध्ये आधा कारोवार दशैँ तिहार लक्षित हुने गरेको छ ।’

दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत् बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिइन् । दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी ४५० मा संकलन गर्ने र ४५५ मा बिक्री गर्ने गरेका छन् ।

प्रतिकिलो जम्मा पाँच रुपैयाँ बढी लिएर सदस्यहरुका उत्पादन संकलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ । सहकारीका शेयर सदस्यमध्ये एक वर्षमा पाँचदेखि ३० सम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताइन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ