Rumpum Advertisement

यसरी सफा गर्नुपर्छ हात

Neuro Revised Adv
Koshi Dashain ad
यसरी सफा गर्नुपर्छ हात

विराटनगर, २९ असोज । हात शरीरको धैरै चल्ने महत्वपूर्ण अंगमध्ये एक हो । हातले विभिन्न कुरा छोइन्छ र चलाइन्छ ।

जसका कारण मानव स्वास्थ्यका लागि घातक भाइरसहरु हातका माध्यमबाट शरीरका प्रवेश गर्न सक्छन् । अहिले कोरोना भाइरस संक्रमणले विश्वकै आक्रान्त छ । विभिन्न अध्ययनले हातका माध्यमबाट पनि भाइरसको संक्रमण हुने देखाइसकेका छन् । कोरोना लगायत विभिन्न रोगको संक्रमणबाट बच्न नियमित हात धोइरहनु पर्ने र हातको सफाईमा ध्यान दिनु पर्नेमा सरोरकारवालाको जोड छ ।

‘कन्ट्याकलेस हेण्ड वास स्टेशन’मा गएर खुट्टाले पाइडल थिचेर आवश्यक पानी र साबुनको प्रयोग गर्दै नियमित मिचीमिची हात धुन्छन् विराटनगर बसपार्क व्यवस्थापन समितिका सचिव महेन्द्र ढुंगाना । आफूमात्रै हैन, विराटनगर महानगरपालिका–११ बसपार्कमा रहेको यो स्टेशनमा उनी अरुलाई हात धुन अभिप्रेरित गर्दै सिकाउँछन् पनि । हातले धाराको टुटी समाएर पानी खोल्नु र बन्द गर्नु नपर्ने भएकाले धेरै सजिलो रहेको उनको अनुभव छ ।

खुट्टाले नै पाइडल थिचेर पानी र झोल साबुन (लिक्विड) निकाल्दै धुँदा हातका माध्यमले सर्ने कोरोना संक्रमणबाट जोगिन सकिने उनको भनाइ छ । ‘बसपार्कमा गाडी चढ्न आउने यात्रुहरुको चाप र मानवीय चहलपहल धेरै हुन्छ,’ ढुंगानाले भने, ‘त्यही भएर कोरोनाको जोखिमबाट सुरक्षित रहन यो प्रविधि धेरै उपयुक्त र प्रभावकारी छ ।’

विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बा पनि सीमा नाका रानीमा जडान गरिएको हात धुने सुविधासहितको प्रविधिले धेरैलाई राहत पुगेको बताउँछन् । ‘सीमा नाकाबाट आवतजावत गर्नेका लागि हात धुन र सरसफाई गर्न यो प्रविधि सहयोगी बनेको छ,’ उनले भने, ‘यसले संक्रमणको जोखिम रहँदैनभन्ने विश्वास सबैमा बढेको छ ।’

हात नियमित धुँदै सरसफाईमा ध्यान दिए हातका माध्यमबाट सर्ने भाइरसको संक्रमण हुन नपाउने उनी बताउँछन् । नयाँ प्रविधिसँगै पानीका लागि धारामा हातनै लगाउन नपर्ने भएकाले जोखिम नरहेको उनको भनाइ छ । रानीमा बनाइएको ‘कन्ट्याकलेस हेण्ड वास स्टेशन’ विश्व हात धुने दिवसको अवसर पारेर बिहीबार हस्तान्तरण गरिएको छ ।

सीमा नाकाको रानी, विराटनगर बसपार्कसहित मोरङ र सुनसरीका २१ स्थानमा धारा नछोइकन हात धुन सकिने ‘कन्ट्याकलेस हेण्ड वास स्टेशन’ बनाएर मानव अधिकार तथा वातावरण मञ्च (फरेन)ले सञ्चालनमा ल्याएको हो । फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले हात धुने, सरसफाई गर्ने र शुद्ध पिउने पानीको व्यवस्थासहितको स्टेशन बनाएर सञ्चालनमा ल्याइएको बताए । यसमा प्रदेश १ सरकारको समन्वय र युनिसेफको सहयोग छ ।

मोरङको बूढीगंगास्थित मनमोहन पोलिटेक्निक इस्टिच्युटका पूर्वविधार्थी एवं मेकानिकल ओवर्सियर योगेश निरौलाले हातले नछोइकन खुट्टाको मद्धतले हात धुँदा भाइरस एकबाट अर्कोमा सर्ने जोखिम नहुने बताए । ‘सामान्य धारामा पानी प्रयोग गर्न एक जनाले चलाएपछि अर्कोले पनि हात नै लगाउनु पर्छ,’ उनले भने, ‘त्यसरी भाइरस सर्ने जोखिम हुने भएकाले हात नलगाइकन खुट्टा प्रयोग गर्दा त्यस्तो अवस्था रहँदैन ।’

अध्यक्ष शर्माका अनुसार विशेष गरेर क्वारेन्टाइन सञ्चालन भएका शैक्षिक संस्थाहरु, मानवीय चहलपहल बढी हुने सरकारी कार्यालय एवं सार्वजनिक स्थल र अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्टेशन निर्माण गरिएको छ । सुनसरीको इनरुवा र दुहवी नगरपालिका, इनरुवा अस्पताल, मोरङको विराटनगर महानगरपालिका, रंगेली, सुनवर्षी, रतुवामाई, उर्लाबारी, बेलबारी नगरपालिका, रानी नाका, बूढीगंगा र कानेपोखरी गाउँपालिका, विराटनगर बसपार्क, मालपोत कार्यालय, अदालत, रंगेली अस्पताल, मंगलबारे अस्पताल, कानेपोखरी स्वास्थ्य केन्द्र लगायतका स्थानमा यो प्राविधि जडान गरेर सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

उनका अनुसार शैक्षिक संस्थाबाट क्वारेन्टाइन हटाइएपछि त्यो सम्पत्ति सम्बन्धित शैक्षिक संस्थाकै हुनेछ । सार्वजनिक स्थलको संरक्षण र सञ्चालनका लागि सम्बन्धित निकायलाई हस्तान्तरण गरिने जानकारी शर्माले दिए । उनका अनुसार २०७७ जेठ १६ गतेदेखि सुरु भएको स्टेशन निर्माणको काम सबै ठाउँमा सकिएको छ । काम सम्पन्न हुँदा ३८ लाख आठ हजार रुपयाँ खर्च भएको जानकारी उनले दिए । त्यसबाहेक युनिसेफले आवश्यक सामग्री पनि सहयोग गरेको छ ।

अध्यक्ष शर्माका अनुसार २१ वटामध्ये १० वटामा सामाजिक दूरी कायम गरेर एकै पटकमा दुई जना र ११ वटामा सामाजिक दूरी कायम गर्दै तीन जनाले एकै पटक प्रयोग गर्न सकिन्छ । सबै स्टेशनमा साबुन र लिक्विडको व्यवस्था पनि संस्थाले गरिरहेको उनको भनाइ छ । शर्माले कोरोना महामारीका बेला समुदायको आवश्यकता र सुरक्षा एवं संक्रमण नियन्त्रणलाई ध्यानमा राखेर स्टेशन सञ्चालन गरिएको बताए ।

जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा विभिन्न कुरा छोइरहनु पर्ने अन्जानमा झुक्किएर हात जुनसुकै बेला नाक, मुख, आँखा लगायतका अंगमा पुग्नसक्ने भएकाले कोरोनाको जोखिम हुने बताउँछन् । हातले नछोइकन पानी प्रयोग गर्न मिल्ने प्राविधिको नयाँ प्रयोगले जोखिम न्यूनिकरणमा सहयोग गर्ने उनको भनाइ छ । यो भाइरसबाट बच्न यस्ता नयाँ प्रविधिको प्रयोगमा जोड दिँदै सबैलाई अभ्यस्त बनाउँदै लैजान जरुरी रहेको उनले बताए ।

सुब्बाका अनुसार अहिलेको अवस्थामा घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थल आदिमा साबुनपानीले हात धुने सुविधासम्बन्धी नौला र सिर्जनशील उपाय अपनाउनु उत्तम हुन्छ । उनले आफू बच्न र अरूलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाउन आवश्यक रहेको बताए ।

भाइरसलाई निष्क्रिय बनाई यसको संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक रहेको उनको भनाइ छ । सुब्बाका अनुसार शौचालय गइसकेपछि, कुनै कुरा चलाइएपछि, हात फोहोर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्छ । सरसफाइमा सजगता नअपनाए कोरोना संक्रमणले थप भयावह स्थिति उत्पन्न हुने उनी बताउँछन् । त्यसका लागि विभिन्न संघ संस्थासँग समन्वय गर्दै सरकारले सावधानीका कदमहरु चाल्नु पर्नेमा उनको जोड छ ।

प्रत्येक अक्टोबर १५ का दिन पर्ने विश्व हात धुने दिवस बिहीबार (आज) नेपालमा पनि मनाइँदैछ । यस सन्दर्भमा असोज १३ देखि कात्तिक १४ गतेसम्मको एक महिना तीनै तहका सरकार र सरोकारवालाको साझेदारीमा ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने संकल्पका साथ सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको छ ।

साबुनपानीले २० सेकेन्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्सजस्ता रोगका भाइरसको संक्रमणबाट बच्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ