Rumpum Advertisement

कोरोना कहरमै झापामा विकासको लहर

Neuro Ad
Koshi Dashain ad
कोरोना कहरमै झापामा विकासको लहर

सुरेन्द्र भण्डारी

झापा, २८ असोज । कोभिड–१९ को बढ्दो संक्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाई भने खासै प्रभाव परेको छैन । कोरोना कहरकैबीच पनि झापाका १५ ओटा पालिकामा सञ्चालित विकासका योजनामा धमाधम काम भइरहेको छ ।

संघ, प्रदेश र स्थानीय तहमार्फत् सञ्चालित विकासका योजनाहरु यसअघिको बन्दाबन्दीका समयमा केही समय प्रभावित भए पनि त्यसपछि ती योजनाहरु पुनः सञ्चालनमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ (दमक) देखि नेपालकै होचो भू–भागकका रुपमा चिनिएको कचनकवल गाउँपालिकासम्म सञ्चालित विकास निर्माणका आयोजनाले गति लिएका छन् । बाह्रदशी गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको ‘उज्यालो बाह्रदशी’को काम कोरोना कहरकैबीच सम्पन्न भएको छ भने अन्य ठूला विकास आयोजनाका काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै गाउँपालिकाले चार करोड लागतमा गाउँपालिकाभित्र विद्युत् सेवा विस्तार गरेको हो ।

अभियान सम्पन्न भएसँगै गाउँपालिकाका सबै नागरिक विद्युत् सेवाको पहुँचमा पुगेका छन् । यसअघि गाउँपालिकाको ६० प्रतिशत घरधुरीले मात्रै विद्युत् सेवा उपयोग गर्दै आएका थिए । स्थानीय तह गठनको पहिलो वर्ष नै हरेक नागरिकको घर–घरमा विद्युत् सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान घोषणा गर्दै काम सुरु गरेको थियो । उज्यालो बाह्रदशीसहित बाह्रदशी गाउँपालिकामा अहिले ६ करोड को लागतमा वडा नं ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण कार्य समेत सुरु भएको छ ।

बाह्रदशी–५ पाख्रीबास पूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँमा पक्की पुल निर्माणको काम सुरु भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएसँगै पुल निर्माणको काम अघि बढेको हो । कोरोना कहरकैबीच अहिले बाह्रदशी ५ र ६ जोड्ने सडकको घाग्रा खोलामा पक्की पुल निर्माण भइरहेको छ ।

त्यस्तै गाउँपालिकाले गौरव आयोजनाका रुपमा बाह्रदशी–६ साधुकुटीमा झण्डै १२ करोडको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा रहेको साधुकुटीको विकास गर्ने उद्देश्यले भ्यू टावर निर्माणको काम अघि बढाइएको अध्यक्ष राजवंशीले बताए । यो वर्ष गाउँपालिकाले एक करोड बजेट विनियोजन गर्दै भ्यू टावर निर्माणको काम अघि बढाएको छ ।

त्यस्तै २२ बिगाह क्षेत्रफलमा फैलिएको साधुपर्ती ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३६ करोड रुपैयाँको लागतमा पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको अध्यक्ष राजवंशीको भनाइ छ । जसका लागि गुरुयोजना निर्माण गर्दै काम अघि बढाइएको छ । साधुपर्तीमा दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो पोखरी र नजिकै चारकोसे जंगल रहेकाले यस ठाउँको विकास गर्दै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले साधुपर्तीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

त्यस्तै बाह्रदशी गाउँपालिका–६ कुमालगाउँ जोड्ने सडक निर्माण कार्य अघि बढाइएको छ । दुई करोडको लागतमा सडक निर्माण कार्य अघि बढेको हो । यसैगरी मेचेगाउँ, कोनावारी पूर्व अन्धुवा खोलामा पक्की पुल र साधुपर्ती जोड्ने सडकको अन्धुवा खोलामा समेत पक्की पुल निर्माणको काम सुरु गर्न लागिएका अध्यक्ष राजवंशीले बताए । यता बाह्रदशी गाउँपालिका–३ मा रहेको राजगढ बजारलाई स्मार्ट सिटीका रुपमा विकास गरेर लाने उद्देश्यले गाउँपालिकाले एक करोडको लागतमा बजार व्यवस्थापनको काम सुरु गरेको छ । दक्षिण क्षेत्रकै पुरानो बजारका रुपमा रहेको राजगढको विकाससँगै त्यहाँको मुहार फेरिने अपेक्षासहित बजारको स्तरोन्नति गर्न लागिएको हो । कोरोना कहरकैबीच अहिले राजगढ बजारको स्तरोन्नति भइरहेको छ ।

नेपालको संविधानले संघीयतामार्फत् संघ, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै संवैधानिक अधिकार दिएको छ । केही साझा अधिकार छन् भने केही छुट्टाछुट्टै अधिकार हुनेगरीको व्यवस्था गरेको छ । स्थानीय तहको निर्वाचनमार्फत् स्थानीय सरकारको गठन भई गाउँगाउँ एवं घर–घरमा सरकार पुगरेको अवस्था छ अहिले । यसरी गठित स्थानीय सरकार अहिले आफ्नो क्षेत्रभित्र विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्न, चाहेजस्तो विकास गर्न तथा स्वतन्त्र एवं जिम्वेवार ढंगले काम गरिरहेका छन् ।

पन्ध्र ओटा स्थानीय तहमध्ये झापाको ‘झापा गाउँपालिका’ मा पनि अहिले विकासको लहर छाएको छ । यो ठाउँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । कुमरखाद, शरणामति र टाघनडुब्बा गाविस मिलेर बनेको झापा गाउँपालिका मुलुक संघीयतामा जानुअघि विकास निर्माणका दृष्टिकोणले निकै पछि परेको थियो । पञ्चायती व्यवस्थामा झापाको सदरमुकाम चन्द्रगढी सरेपछि यो ठाउँको विकास हुन सकेको थिएन । तर, मुलुक संघीयतामा गएसँगै तीन तहको सरकार गठनपछि झापाको मुहार फेरिएको छ ।

अहिले झापा गाउँपालिकाको सबै वडामा कालोपत्र सडक पुगेको छ भने खोलामा पुल, खाने पानीका लागि ट्यांकी, कृषकका लागि प्रविधिमैत्री उपकरण, विद्युत् सेवा विस्तार, विद्यालय भवन निर्माणदेखि स्तारोन्नतिसम्मका काम भएका छन् । चालू आर्थिक वर्षमा मात्रै गाउँपालिकाले नौवटा सडक कालोपत्र गरेको छ । गाउँपालिकामा एक नमूना विद्यालयसहित सातवटा विद्यालयमा भौतिक संरचना निर्माण भइरहेको छ भने विपन्न आवास कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकावासीले स्थानीय सरकाको महसुस गरेका छन् । अहिले गाउँपालिकाले सहारा नेपाल र ह्याविट्याटसँगको सहकार्यमा विपन्न परिवारका लागि घर निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

झापा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा नौवटा सडक कालोपत्र गर्न ११ करोड ७९ लाख ४६ हजार १८२ बजेटको काम सम्पन्न गरेको छ । सबै वडाका मुख्य सडकमा कालोपत्र पुर्‍याउने लक्ष्यसहित गाउँपालिकाले वडागत रुपमा सडक छनोट गर्दै कालोपत्र गरेको गाउँपालिका अध्यक्ष साहको भनाइ छ । गाउँका सडक फराकिला र कालोपत्र हुन थालेपछि अहिले त्यहाँका स्थानीयवासी हर्षित देखिएका छन् । गाउँपालिकाले हस्पिटल–सितुमारी–सालमारा सडक कालोपत्रका लागि दुई करोड २० लाख ७६ हजार २६९ बजेट विनियोजन गरेको थियो । सोही रकमले यो सडक कालोपत्र भएको हो । यो सडक एसएएस जेभीले कालोपत्र गरेको हो ।

एक करोड ३६ लाख ६० हजार ४७१ को लागतमा झापा खानेपानी ट्यांकी–बालुवाटार–सिमलवारी तथा टेकरिया चौक–सानुमाई सडक कालोपत्र भएको छ । यो वडा नं २ मा पर्छ । यो सडक शिद्धकाली इन्टरनेशनल विल्डर्सले कालोपत्र गरेको हो । वडा नं ४ को बगान उत्तर बच्चुटोल हुलाकी सडक कालोपत्र भएको छ । सतासी–जयलक्ष्मी जेभीले एक करोड ५० लाख ५३ हजार ४२१ लागतमा सडक कालोपत्र भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए । शिद्धकाली इन्टरनेशनल विल्डर्सले नै गाउँपालिकाको फूलगाच्छी–सिमलवाडी सडक कालोपत्र गरेको छ । सो सडक निर्माणका लागि गाउँपालिकाले एक करोड ४७ लाख ३९ हजार ७०९ बजेट विनियोजन गरेको थियो । ९६ लाख ८६ हजार ६१७ को लागतमा शान्ति निर्माण सेवाले खर्मेली चौक–तामाङ गाउँ वियर फ्याक्ट्री सडक कालोपत्र गरेको हो ।

यसैगरी मदरगाछ बजार वडा कार्यालयसम्म जोड्ने सडकको निर्माणसहित कालोपत्र सम्पन्न भएको छ । सो सडक निर्माणका लागि एक करोड ३८ लाख ३६ हजार ४१५ गाउँपालिकाले विनियोजन गरेको थियो । वडा नं ६ र ७ मा पर्ने शरणामती चौकदेखि दयालधाम जाने सडक कालोपत्र भएको छ । सो सडक एक करोड ३४ लाख ६८ हजार ३ सयमा कालोपत्र गरिएको हो । सो सडक नेपाल पूर्वाधार कन्स्ट्रक्सन जेभीले कालोपत्रे गरेको हो । अमरपथ पूर्व मुखिया गाउँ–गणित गाउँ–ज्यामिरे चौक हुँदै पश्चिम दोसाखी टोल झापा वजार सडक कालोपत्र भएको छ । यो गाउँपालिकाको वडा नं ३ मा पर्छ । यो सडक कालोपत्रका लागि गाउँपालिकाले एक करोड ४९ लाख ६० हजार १३२ लगानी गरेको छ । शान्ति खनाल जेभीले सडक कालोपत्र गरेको गाउँपालिकाले बताएको छ ।

४५ लाख ३८ हजार ४४३ को लागतमा वडा नं ३ र ४ को शहीद मार्गसमेत कालोपत्र भएको छ । यो सडक नेपाल पूर्वधार कन्स्ट्रक्सनले कालोपत्र गरेको हो । गाउँपालिकाले प्रत्येक वर्ष प्रत्येक वडामा एउटा मात्रै सडक कालोपत्रका लागि छनोट गर्दै कालोपत्र गर्दै आएको छ । गाउँपालिकाभित्रका सबै सडकलाई कालोपत्र गरिसक्ने योजनाअनुसार गाउँपालिकाले सडक कालोपत्रको कामलाई अघि बढाएको गाउँपालिका अध्यक्ष साहले बताए ।

पश्चिममा सानो माई र पूर्वमा विरिङ खोलाको कटान र डुवानको चपेटा वर्षाैदेखि झेल्दै आएको झापा गाउँपालिकाले यस वर्ष झोलुंगे र पक्की पुल निर्माण कार्यलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले खोलामा तटबन्धनसँगै पुल निर्माण गर्दै गाउँपालिकावासीलाई आवतजावतमा सहजता प्रदान गरेको हो । अहिले वडा नं २ को झापा–कुवाडी सडक खण्डमा पर्ने सानो माईमा एक करोड बढीको लागतमा झोलुंगे पुल निर्माण भइरहेको छ । सिमलवाडी–फूलगाच्छी जोड्ने सडक खण्डको सानो माईमा नै ६० लाख रुपैयाँको लागतमा झोलुंगे पुल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

त्यस्तै कामाटोली–लालमोहर जाने सडक खण्डमा पर्ने पर्ने सानु माई खोलामा पक्की पुल निर्माण भएको छ । ७५ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । वडा नं १ को लसुनगञ्ज सालमारा सडक खण्डको सानो माइमा नै तीन करोड ६० लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भइरहेको छ । शिक्षाको विकासका लागि गाउँपालिकाले एक करोडभन्दा बढी बजेट विनियोजन गरेको थियो । जसमा गाउँपालिकामा सातवटा विद्यालयमा दुई कोठे पक्की भवन निर्माण भइरहेका छन् भने शौचालय र खानेपानीको व्यवस्था, प्रविधिमैत्री सिकाइमा जोड जस्ता कार्यक्रमलाई अघि बढाइएको थियो ।

प्रत्येक विद्यालयलाई १६ लाखका दरले भवन निर्माणमा सहयोग गरेको शिक्षा शाखाका कर्मचारी खड्गप्रसाद खरेलले बताए । संघीय सरकारको सशर्त अनुदानमार्फत् डिल्लीराज माध्यमिक विद्यालयलाई नमूना विद्यालय निर्माण गरिँदैछ । एक करोड ५० लाखको लागतमा डिल्लीराज माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि लाने उद्देश्यसहित पूर्वाधार निर्माणको काम अघि बढाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले जानकारी दिए ।

साविकको कुमरखोद, टाघनडुब्बा र शरणामती गाविसलाई समेटेर बनेको झापा गाउँपालिका ९४.१२ वर्ग किलोमिटरमा फैलिएको छ । समुद्री सतहबाट ७० देखि १०० मिटरसम्मको उचाइमा रहेको यो गाउँपालिकामा मिश्रित बसोबास पाइन्छ । यहाँका नागरिकको मुख्य पेशा कृषि तथा पशुपालन भएको हुँदा विपन्न तथा मध्यम वर्गीय परिवारको संख्या यो गाउँपालिकामा धेरै छ । विसं २०६८ को जनगणनाअनुसार ८ हजार २२ घरधुरी रहेको यहाँको कूल जनसंख्या ४१ हजार १३६ जना हो ।

गाउँपालिकाले सर्वेक्षण गरेर तयार गरेको पाश्र्वचित्रलाई आधार मान्दा वर्षभरि खान पुग्ने परिवार संख्या दुई हजार १७८ छ । एक हजार ५३० परिवारले मात्रै वर्षभरि खान पुग्ने गरी अन्न उतपादन गर्दै बचेको अन्न बिक्री गर्छन् । यो गाउँपालिकामा विपन्नको संख्या धेरै छ । फलस्वरुप गाउँपालिकाले विपन्न परिवारको पहिचान गर्दै विपन्न परिवारलाई घर निर्माण गर्दै आएको छ । यो वर्ष १६४ परिवारलाई गाउँपालिकाले घर निर्माण गरेको छ । गाउँपालिकाले सहारा नेपाल र ह्याविट्याटको सहकार्यमा विपन्न परिवारका लागि १६४ वटा घर निर्माण गरेको हो ।

प्रति घर निर्माणमा एक लाख ५० हजार खर्च हुने गरेको बताइन्छ । गत वर्ष गाउँपालिकाले ७६ वटा घर निर्माण गरेको थियो । धान, मकै, गहुँ आदि मुख्य बाली रहेको झापा गाउँपालिकाका नागरिकको मुख्य पेशा पनि कृषि नै हो । करिब ७८.२४ प्रतिशत साक्षर रहेको झापा गाउँपालिकाले १५ शैय्याको अस्पतालसहित स्वास्थ्य संस्थाको समेत स्तरोन्नति गर्दै लगेको छ । सबै वडामा विद्युत् सेवा विस्तार, कृषकका लागि गोठ सुधार कार्यक्रम, गोबरग्यास प्लान्ट निर्माणमा अनुदान, कृषकलाई पानी तान्ने मोटर, निःशुल्क बीऊविजन, मल खरिदमा छुटजस्ता कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको छ । कोरोना कहरकैबीच झापाका हरेक पालिकाले विकास निर्माणका कामलाई अघि बढाएसँगै झापावासी उत्साहित पनि छन् । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ