Rumpum Advertisement

दिल्ली भर्सेस राजस्थान, प्लेयर्स टू वाच

Neuro Revised Adv
Koshi Dashain ad
दिल्ली भर्सेस राजस्थान, प्लेयर्स टू वाच

विराटनगर, २८ असोज । जारी आईपीएलको ३०औं खेलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स एकअर्काविरुद्ध मैदान उत्रँदैछन् । दोस्रो स्थानको दिल्लीले तालिकाको सातौं स्थानमा रहेको राजस्थानको सामना गर्दै गर्दा खेल निकै रोमाञ्चक हुन सहजै अनुमान गर्न सकिन्छ ।

यी दुईबीच जारी सिजनको पहिलो भेटमा राजस्थान दिल्लीसँग पराजित भएको थियो । टस जित्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएको राजस्थानले खेल जित्न एक सय ८५ रनको लक्ष्य पाएको थियो ।

ओपनिङ र लोअर अर्डरका ब्याट्सम्यानहरूले खासै प्रदर्शन गर्न नसके पनि मध्यक्रममा आएका मार्काेस स्टोइनिस र सिम्रन हिटमेयरले गतिलो साझेदारी गरेपछि दिल्ली सम्हालिएको थियो । राजस्थानका लागि जोफ्रा आर्चरले किफायती बलिङ गर्दै दिल्लीका तीन विकेट लिए पनि हार टार्न सकेनन् ।

जवाफी ब्याटिङका लागि आएको राजस्थानले सुरुआत गतिलो गरेको पनि हो । तर रबाडा, अश्विन र स्टोइनिसको कसिलो बलिङसामु राजस्थानका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । कप्तान स्मिथ, यश्स्वी, बटलर र टेवाटीयाबाहेक अन्य ब्याट्सम्यानले क्रिजमा जमेर दोहोरो अंकको रन जोड्न नसक्दा राजस्थान स्तब्ध बन्यो ।

निकै प्रतिस्पर्धात्मक हुन आजको खेलमा राजस्थान वा दिल्लीमध्ये कसले बाजी मार्ला ? यसको जवाफ खेलको नतिजाले पक्कै दिनेछ ।

प्लेयर्स टू वाचतर्फः

पृथ्वी सअ, ब्याट्सम्यान, दिल्ली क्यापिटल्स

दिल्लीका लागि जारी सिजन सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् पृथ्वी सअ । ओपनिङ ब्याटिङको जिम्मेवारी सम्हालिरहेका सअले सात खेलमा दुई अर्धशतकसहित दुई सय दुई रन बनाएर आईपीएल खेलिरहेका छन् । पञ्जाविरुद्धको पहिलो खेलमा पाँच रनमा नै पेभिलियन फर्किएका सअले दोस्रो र चौथो खेलमा अर्धशतक बनाएका थिए ।

तर तेस्रो खेलमा दुई, पाँचौ खेलमा ४२, छैटौं खेलमा १९ र सातौं खेलमा चार रन मात्र बनाएका सअ आजको खेलबाट फर्ममा फर्किन चाहन्छन् । उत्कृष्ट प्रदर्शन गरिरहेको दिल्लीलाई राजस्थानविरुद्धको आजको खेलमा जित निकाल्न सअको उत्कृष्ट प्रदर्शन आवश्यक रहन्छ । जारी सिजन राजस्थानविरुद्धको भेटमा १९ रनमात्रै बनाएका सअले आजको खेलमा आक्रामक ब्याटिङ गर्ने छन् भन्ने हामी अपेक्षा गर्न सक्छौं ।

कागिसो रबाडा, पेश बलर, दिल्ली क्यापिटल्स्

जारी आईपीएलमा सर्वाधिक विकेट लिन सफल खेलाडी हुन्, दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडा । दिल्लीबाट सात खेल खेलिसकेका रबाडाले १७ विकेट लिइसेकका छन् । रोचक कुरा त के भने उनले जारी सिजन आईपीएलमा दिल्लीका लागि हालसम्म १७ रनकै योगदान दिएका छन् ।

आफूले खेलेका हरेक खेलमा विकेट लिन सफल भएका रबाडा आजको खेलमा पनि सफल हुने कुरामा कुनै शंका छैन । राजस्थानविरुद्धको खेलमा ३.४ ओभर बलिङ गर्दै तीन विकेट लिएर दिल्लीलाई जित दिलाएका रबाडाले आजको खेलमा पनि यस्तै प्रदर्शन गर्ने हो भने दिल्लीको जित निश्चित छ ।

जारी आईपीएलमा २७.४ ओभर बलिङ गरिसकेका रबाडाले ६९ डट बल बलिङ गरेका छन् । तेस्रो उत्कृष्ट बलिङ एभरेज रहेको रबाडा आजको खेलका प्लेयर्स टू वाच हुन् ।

राहुल टेवाटिया, लेग स्पिनर, राजस्थान रोयल्स

राहुल टेवाटिया राजस्थान रोयल्सका लेग स्पिनर हुन् । तर उनको ब्याटिङ यस सिजन टोलीका अन्य ब्याट्सम्यानभन्दा निकै चलेको छ । चाहे त्यो पञ्जाबविरुद्ध जित दिलाउन एकै ओभरमा पाँच छक्का प्रहार गर्न होस् या हैदराबादविरुद्ध जित निकाल्न नटआउट पारी खेल्न होस् ।

राजस्थानलाई जित दिलाउन उनी बलिङ र ब्याटिङ दुवैका लागि उत्तिकै महत्वपूर्ण खेलाडी सावित भइरहेका छन् । सात खेलमा एक सय ८९ रन र पाँच विकेट लिइसकेका टेवाटियाले आजको खेलमा पनि अन्य खेलको जस्तै आफ्नो प्रस्तुती दोहोर्‍याउने हो भने उनी दिल्लीका लागि आज टाउको दुखाइको विषय बन्ने पक्का छ ।

दिल्लीसँगको यसअघिको भेटमा उनले ३८ रन बनाउँदै एक विकेट लिएपनि टोलीको हार जोगाउन सकेका थिएनन् । तर यस सिजन निकै फर्ममा देखिएका टेवाटिया आजको खेललाई प्रत्यक्ष रूपमा प्रभाव पार्न सक्ने खेलाडी हुन् ।

जोफ्रा आर्चर, पेश बलर, राजस्थान रोयल्स

जारी सिजन सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने खेलाडी हुन् जोफ्रा आर्चर । उनले जारी आईपीएलकै सर्वाधिक तीव्र गतिको बलिङ गर्ने क्रममा १५३.६२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गरेका छन् । आईपीएलका १० सर्वाधिक तीव्र बलिङमध्ये आठ आर्चरको नाममा छ ।

हरेक खेलमा विकेट लिएका आर्चर आजको खेलमा पनि आफ्नो फर्ममा देखिने हो भने दिल्लीविरुद्ध राजस्थानले जित दर्ता नगर्ला भन्न सकिन्न । राजस्थानका अलराउण्डरसमेत रहेका उनले सात खेलमा नौ विकेट र ८८ रनको योगदान टोलीलाई दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ