Rumpum Advertisement

संक्रमित आमाबाट नवजात शिशुमा संक्रमण सर्ने सम्भावना एकदम कम

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमित आमाबाट नवजात शिशुमा संक्रमण सर्ने सम्भावना एकदम कम

विराटनगर, २८ असोज । कोभिड संक्रमित आमाबाट नवजात शिशुमा संक्रमण सर्ने सम्भावना एकदम कम हुने बताइएको छ ।

जर्नल जामा पेड्रियाट्रिकमा प्रकाशित अध्ययनका अनुसार सावधानी अपनाउने आमाले स्तनपान गराउँदा पनि विरलै आफ्ना नवजात शिशुलाई कोरोना भाइरस सार्ने हुन्छन् । संक्रमित आमालाई आफ्ना बच्चाबाट छुट्याउने जस्ता विस्तृत उपायको पुष्टि हुन नसक्ने बताइएको छ । सन् २०२० को १३ मार्चदेखि २४ अप्रिलसम्म अमेरिकाको न्युयोर्क–प्रेस्बिटेरियन अस्पतालमा कोभिड संक्रमित आमाबाट जन्मेका एक सय १ नवजात शिशुको जाँच गरिएको थियो ।

प्रसवपश्चात नवजात शिशुमा सार्स कोभ २ भाइरस सार्ने जोखिम कम गर्न, अस्पतालका कर्मचारीले सामाजिक दुरी, मास्क लगाउने र संक्रमित आमालाई अलग्गै कोठामा राखेका थिए । नवजात शिशुलाई संक्रमणबाट जोगाउन संक्रमणको नियन्त्रणका आधारभूत उपाय जस्तै मास्क लगाउने वा स्तनपान गराउँदा स्तन र हातको स्वच्छता ध्यान दिन आवश्यक रहेको अध्ययनका सहलेखक सिन्थिया ब्यानरम्यान बताउँछिन् ।

अधिकांश नवजात शिशुलाई आफ्नै आमाको साथ कोठामा (आमाको ओछ्यानबाट छ फिट टाढा) राखिएको थियो । कोही शिशु गैर–कोभिडसम्बन्धी स्वास्थ्य कारणका लागि आईसीयूमा भर्ना भएका थिए । वैज्ञानिकले संक्रमित आमालाई शिशुसँग सिधा स्तनपान र छालाको सम्पर्क (आमाले मास्क, हात र स्तनलाई साबुन र पानीले राम्ररी धोएपछि) लाई प्रोत्साहित गरिरहेका छन् ।

नवजात शिशुमध्ये दुईजना मात्र संक्रमित भएका थिए । अनुसन्धानकर्ताले बच्चा कसरी संक्रमित भए भनेर पत्ता लगाउन भने सकेनन् । संक्रमित आमाले आफ्नो नवजात शिशुलाई सिधै स्तनपान गराउन महत्वपूर्ण हुने अनुसन्धानकर्ताहरू बताउँछन् । आमाको दूध नवजात शिशुलाई धेरै रोगविरूद्ध रक्षा गर्छ र दुधमा भाइरस नभएर भाइरसविरुद्ध एन्टिबडी पाइएको हुनाले यसले सार्स कोभ २ को संक्रमणबाट नवजात शिशुलाई बचाउन मद्दत पु¥याउन सक्ने ब्यानरम्यानको भनाइ छ ।