Rumpum Advertisement

चेन्नई भर्सेस हैदराबाद : प्लेयर्स टू वाच

Neuro Revised Adv
Koshi Dashain ad
चेन्नई भर्सेस हैदराबाद : प्लेयर्स टू वाच

विराटनगर, २७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) को २९औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद दोस्रो पटक भिड्ने तयारीमा छन् । पहिलो पटक आईपीएलको १४औं खेलमा एकअर्काविरुद्ध दुबई रंगशालामा खेलेका यी दुवैका आजको खेलसँगै आईपीएलमा दोस्रो राउण्ड रोबिन लिग सुरु हुँदैछ ।

जारी आईपीएलको पहिलो भेटमा चेन्नईलाई हैदराबादले सात रनको झिनो अन्तरले पराजित गरेको थियो ।

कप्तान वार्नर र मनिष पाण्डेले सुरुआती इनिङ्स सम्हालि दिएपछि मध्यक्रममा आएका प्रियम ग्राग र अभिषेक शर्माले गतिलो साझेदारी गर्दै हैदराबादले चेन्नईसामु एक सय ६५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

तर जवाफी ब्याटिङका लागि आएको चेन्नई सुरुआतबाट नै सम्हालिन नसक्दा खेल हैदराबादलाई सुम्पिन बाध्य बनेको थियो । चेन्नईका कप्तान धोनी र जडेजाले इनिङ्स सम्हालन खोजे पनि १८औं ओभरको चौथो बलमा हैदराबादका नटराजनले जडेजाको विकेट लिएपछि चेन्नईले लय गुमाएको थियो ।

आजको खेलमा हारको बदला लिने दाउमा रहेको चेन्नईले हैदराबादसामु कस्तो प्रदर्शन गर्ला ? यसको जवाफ खेलको नतिजाले पक्कै दिनेछ

आजका खेलका प्लेयर्स टू वाच

अम्बती रायडू, ब्याट्सम्यान, चेन्नई सुपर किंग्स

मध्यक्रममा गतिलो ब्याटिङ गर्न सक्ने ब्याट्सम्यान हुन् चेन्नईका अम्बती रायडू । जारी आईपीएलमा चेन्नईलाई पहिलो खेलमा नै जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए रायडूले । आईपीएल २०२० आईपीएलमा पहिलो अर्धशतक बनाउने खेलाडी बनेका रायडूले ४८ बलको सामना गर्दै तीन छक्का र ६ चौकाको मद्दतमा ७१ रन बनाउँदै टोलीलाई मुम्बईविरुद्ध जित दिलाएका थिए ।

तर त्यसपछिका दुई खेल ह्यामस्ट्रिङ इन्ज्यूरीका कारण खेल्न नपाएका उनले हैदराबादविरुद्धको खेलमा भने कुनै जादू देखाउन सकेनन् । चौथो खेलमा पञ्जाबविरुद्ध १० विकेटको जित चेन्नईले निकाल्दा रायडूले ब्याटिङ गर्ने पालो नै आएन । तर त्यसपछिका चेन्नईले खेलेका दुई खेलमा रायडू उत्कृष्ट लयमा देखिए पनि टोलीलाई जित दिलाउन भने सकिरहेका छैनन् ।

कप्तान धोनीले निकै भर गरेका रायडूले आजको खेलमा पनि मुम्बईविरुद्धको जस्तै प्रदर्शन गर्न सक्छन् भन्ने हामी अपेक्षा गर्न सक्छौं ।

दीपक चाहर, बलर, चेन्नई सुपर किंग्स

मध्यम गतिका पेस बलर दीपक चाहर चेन्नईका बलिङ हतियारमध्येका एक हुन् । जारी आईपीएलका सात खेलमा ६ विकेट लिन सफल बनेका चाहर आजको खेलको प्लेयर्स टू वाच हुन् । मुम्बईविरुद्धको पहिलो खेलमा दुई विकेट लिँदै टोलीको जित पक्का गरेका उनले तेस्रो, पाँचौ र छैटौं खेलमा भने विकेट लिन सकेनन् । तर आफ्नो पछिल्लो खेलमा बैंग्लोरका आरोन फिन्चको विकेट लिन सफल बनेका चाहरले आजको खेलमा पनि आफ्नो स्पिडको जादू देखाउन सक्ने हो भने वार्नर नेतृत्वको हैदराबादलाई गाह्रो पर्न सक्ने देखिन्छ ।

जारी सिजन हैदराबादविरुद्धको खेलमा जोनी बेयरस्टो र अभिषेक शर्माको विकेट लिन सफल भए पनि चाहरले टोलीलाई जित दिलाउन सफल भएनन् । त्यसैले आजको खेलमा हैदराबादसामु किफायती बलिङ गर्दै उसको इनिङ्स धराप पार्नुपर्ने जिम्मेवारी चाहरसँग छ ।

प्रियम गार्ग, ब्याट्सम्यान, सनराइजर्स हैदराबाद

भारतलाई यू–१९ विश्वकपको फाइनलसम्मको यात्रा तय गराउन सफल कप्तान हुन् प्रियम गार्ग । २० वर्षिय गार्ग दाँयाहाते ब्याट्सम्यान हुन् । यसै सिजन हैदराबादबाट आईपीएलमा डेब्यू गरेका उनी टोलीका नियमित प्लेइङ एलेभेनका खेलाडी हुन् ।

चेन्नईविरुद्धको खेलमा ५१ रनको अर्धशतकीय पारी खेल्दै हैदराबादलाई जित दिलाएका गार्ग आजको खेलका प्लेयर्स टू वाच हुन् । हुनत उनले हैदराबादले खेलेका सातमध्ये पाँच खेलमा मात्रै ब्याटिङ गर्ने मौका पाएका छन् । पाएका मौकामा उत्कृष्ट ब्याटिङ गर्न नसकिरहेका भएपनि उनको चेन्नईविरुद्धको प्रदर्शन भने तारिफयोग्य थियो । कप्तान वार्नर, बेयरस्टो, मनिष पाण्डे र केन विलियमसन जस्ता ब्याट्सम्यान पेभिलियन फर्किसकेको बेला पाँचौ नम्बरमा ब्याटिङका लागि आएका उनले २६ बलमै ६ चौका र एक छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय पारी खेल्दै टोलीको सम्भावित हार टारेका थिए । सात खेलमा ८६ रन बनाएर आईपीएल खेलिरहेका गार्गले के आज पनि चेन्नईसामु सोही प्रदर्शन दोहो¥याउलान् ? हामी सबैको चासोको विषय बनेको छ ।

राशिद खान, लेग स्पिनर, सनराइजर्स हैदराबाद

जारी आईपीएलका सर्वाधिक कम ‘इकोनोमिकल’ बलर हुन् राशिद खान । हैदराबादका लागि सात खेल खेल्दै २८ ओभर बलिङ गरिसकेका खानको इकोनोमी रेट ५.०३ रहेको छ । सात खेलमा १० विकेट लिन सफल खान जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने चौथो खेलाडीसमेत हुन् । यतिमात्रै नभई प्रतियोगितामा मेडन ओभर बलिङ गर्न सफल सात बलरमध्ये खान सर्वाधिक किफायती बलर हुन् ।

चेन्नईसँगको भेटमा विकेट लिन सफल नभए पनि निकै किफायती बलिङ गरेका खानले चार ओभरमा १२ रन मात्रै दिएका थिए । टी–२० मा निकै सफल रहेका खानले आजको खेलमा पनि आफ्ना अन्य खेलमा जस्तै कसिलो बलिङ गर्ने हो भने चेन्नईले जारी आईपीएलमा नै हैदराबादसँग दोस्रो हार नभोग्ला भन्न सकिन्नँ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ