Rumpum Advertisement

बजारमा मूल्यवृद्धि भएको छैन : मन्त्री भट्ट

Neuro Revised Adv
Koshi Dashain ad
बजारमा मूल्यवृद्धि भएको छैन : मन्त्री भट्ट

काठमाडौ, २७ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको बताएका हुन् ।

उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्नलगायत दैनिकरुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दावी गरेका छन् ।

तर विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक–दुईवटा वस्तुमा मूल्यवृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए ।

‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहीँ पनि समस्या आएको छैन,’ उनले भने, ‘केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्नलगायत दैनिकी वस्तुहरुमा महँगाई भन्ने छैन । एकाध वस्तुमा हुनु स्वभाविक हो ।’

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उनले बताए । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए ।

आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दावीसमेत मन्त्री भट्टले गरे । कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले बताए ।