Rumpum Advertisement

तेस्रो जितको खोजीमा चेन्नई, हैदराबादको लक्ष्य आठौं खेलमा चौथो जित

Neuro Revised Adv
Koshi Dashain ad
तेस्रो जितको खोजीमा चेन्नई, हैदराबादको लक्ष्य आठौं खेलमा चौथो जित

विराटनगर, २७ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को मिड–सिजन आजबाट सुरु हुँदैछ । मिड–सिजनको पहिलो खेलअन्तर्गत दुबई रंगशालामा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन् ।

बेलुकी ७ः४५ बजे सुरु हुने खेलमा यी दुई जारी प्रतियोगितामा दोस्रो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । पहिलो राउण्ड रोबिन लिगका आ–आफ्नो सात खेल खेलिसकेका यी दुवै टोलीको आजको खेलसँगै आईपीएलको दोस्रो राउण्ड रोबिन लिग सुरु हुँदैछ ।

जारी प्रतियोगिताको १४औं खेलमा दुबई रंगशालामा नै आमनेसामने भएका यी दुईमध्ये पहिलो भेटमा हैदराबाद सफल भएको थियो । चेन्नईलाई सात रनले पराजित गरेको हैदराबाद आजको खेलमा पनि जित निकाल्न चाहन्छ । खेलेका सातमध्ये तीन खेलमा मात्रै विजयी भएको हैदराबाद अंकतालिकाको पाँचौ स्थानमा छ ।

सुरुआती दुई खेलमा लगातार पराजित हुँदै आईपीएल यात्रा सुरु गरेको हैदराबादले आफ्नो तेस्रो र चौथो खेलमा भने जित निकालेको थियो । तर पाँचौ खेलमा लय गुमाउन पुगेको हैदराबाद छैटौं खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । सातौं खेलमा राजस्थानसँग पाँच विकेटले स्तब्ध बनेको हैदराबाद आजको खेलबाट प्रतियोगितामा लयमा फर्कन चाहन्छ ।

यता, चेन्नईले भने पहिलो राउण्ड रोबिनअन्तर्गतका सातमध्ये दुई खेलमा मात्रै जित निकाल्न सफल भएको छ । पहिलो खेलमा मुम्बई र पाँचौ खेलमा पञ्जाबलाई हराउनुबाहेक अन्य पाँच टोलीसामु चेन्नई निरीह सावित भइसकेको छ । त्यसैले हैदराबादविरुद्धको आजको खेलमा जित निकाल्दै चेन्नई प्रतियोगितामा बाउन्स ब्याक गर्न चाहन्छ ।

चार अंकसहित आईपीएल अंकतालिकाको सातौं स्थानमा रहेको चेन्नईले आफ्नो खराब प्रदर्शनमा सुधार गर्दै लगातारको हारको शृंखलमा पूर्णविराम लगाउन आजको खेलमा सक्दो मिहिनेत गर्नेछ ।

हेड–टु–हेड

आईपीएलमा यी दुईले हालसम्म एकअर्काविरुद्ध १३ खेल खेलिसकेका छन् । खेलेका १३मध्ये चेन्नईले नौ पटक खेल आफ्नो पक्षमा पार्न सफल हुँदा हैदराबाद चार पटक मात्रै भाग्यमानी सावित भएको छ ।

जारी प्रतियोगितामा एक पटक मैदानमा उत्रिसकेका यी दुई मध्ये हैदराबाद सफल भइसकेको छ । त्यसैले आजको खेलमा हैदराबाद सोही प्रदर्शन दोहोर्‍याउने दाउमा हुनेछ उता चेन्नई भने हारको बदला लिँदै हेड–टु–हेडमा अग्रता कायम गर्न चाहन्छ ।

२०१९ आईपीएलमा यी दुईबीच भएको दुई खेलमा दुवैले समान एक–एक खेल आफ्नो पक्षमा पार्न सफल भएका थिए । २०१८ आईपीएलको फाइनल खेलेका चेन्नई र हैदराबाद सो सिजन चार पटक आमनेसामने भएका थिए ।

लिग चरणका दुई, पहिलो क्वालियफायर र फाइनल खेल गरी चार पटक एकअर्काविरुद्ध मैदान उत्रँदा चेन्नईले चारै पटक खेलमा बाजी मारेको थियो ।

दुबई रंगशालामा यी दुईको प्रदर्शन

आज खेल हुने दुबई रंगशालाको पिच यी दुवै टोलीका लागि नौलो हैन । हैदराबाद र चेन्नई दुवैले यस रंगशालामा आ–आफ्नो ६ खेल खेलिसकेका छन् । २०१४ आईपीएलमा दुई खेल खेलेका यी दुवै टोलीले जारी सिजन आ–आफ्नो सातमध्येका चार खेल यहीँ रंगशालामा खेलेका थिए ।

दुबई रंगशालामा हैदराबादको नतिजा फर्केर हेर्ने हो भने, उसले चार खेलमा जित र दुई खेलमा हार भोगेको छ । २०१४ आईपीएलमा खेलेको दुवै खेलमा जित निकाल्न सफल भएको हैदराबाद जारी सिजन यस रंगशालामा खेलेका चारमध्ये दुई खेलमा मात्रै विजयी भएको छ ।

चेन्नईले भने यस रंगशालामा मिश्रित नतिजा निकालेको छ । ६ मध्ये तीन खेलमा जित निकालेको चेन्नई तीन खेलमा नै पराजित भएको छ । यस रंगशालामा चेन्नईले २०१४ आईपीएलका दुवै खेलमा जित निकाल्न सफल भएको थियो । तर दुबई रंगशालामा जारी आईपीएलका आफ्ना चार खेल खेलिसकेको चेन्नईले एक खेलमा मात्रै जित दर्ता गर्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ