Rumpum Advertisement

निको भएर पुनः संक्रमित भएका युवाको स्थिति पहिलेभन्दा गम्भीर

Neuro Revised Adv
Koshi Dashain ad
निको भएर पुनः संक्रमित भएका युवाको स्थिति पहिलेभन्दा गम्भीर

विराटनगर, २७ असोज । अमेरिकामा एक युवक दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

बीबीसीमा उल्लेख गरेअनुसार दोस्रो पटक संक्रमित हुँदा युवकको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरूले बताएका हुन् । गत २५ मार्चमा उनलाई खोकी, वाकवाकी आउने, टाउको दुख्ने, झाडापखालालगायतका हल्का लक्षण देखिएका थिए । १८ अप्रिलमा पहिलो पटक संक्रमण पुष्टि भएपछि २७ अप्रिलमा उनमा देखिएका लक्षणहरू हराउँदै गए ।

९ र २६ मेमा परीक्षण गर्दा दुईपटक उनको रिपोर्ट नेगेटिभ आयो । तर, २८ मेमा पुनः लक्षणहरू देखिन थालेपछि ५ जुनमा परीक्षण गर्दा उनमा पुनः संक्रमण पुष्टि भयो । दोस्रो पटक संक्रमित भएका २५ वर्षीय युवकमा अक्सिजनको मात्रा कम भएको र सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गर्नुपरेको थियो ।

दुई भाइरसको जेनेटिक कोडलाई अध्ययन गरेपछि ती युवकमा पहिलो संक्रमण पुनः बल्झिएको भन्दा पनि उनी दोस्रो पटक संक्रमित भएको वैज्ञानिकको टोलीले निष्कर्ष निकालेको हो । हाल ती युवक संक्रमणमुक्त भइसकेका छन् । नेभाडाका ती युवकमा यसअघि कुनै पनि स्वास्थ्य समस्या वा प्रतिरोधी क्षमतामा समस्या देखिएको थिएन ।

पुनः संक्रमणको केसहरु निकै दुर्लभ हुन्छन् । नेभाडा विश्वविद्यालयका डा. मार्क पान्डोरीका अनुसार पहिलो संक्रमणले भविष्यमा हुने संक्रमणबाट बचाउने छ भन्ने ग्यारेन्टी नभएको अध्ययनले देखाएको हो । संक्रमणमुक्त भए पनि समाजिक दुरी अपनाउने, मास्क लगाउने र नियमितरुपमा हात धुने गर्नुपर्ने उनको भनाइ छ ।