Rumpum Advertisement

विपद् जोखिम न्यूनीकरणका लागि विश्व समुदायले हातेमालो गर्नुपर्छ : प्रधानमन्त्री ओली

Neuro Revised Adv
Koshi Dashain ad
विपद् जोखिम न्यूनीकरणका लागि विश्व समुदायले हातेमालो गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, २७ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणका लागि विश्व समुदाय एक ठाँउमा उभिनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण कार्यमञ्चले प्राकृतिक विपद् न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले मानवीय कारणले हुने विपद्का जोखिमहरूको न्यूनीकरणका लागि सबै देशले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले विपद जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्वन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका अधारमा नीति तर्जुमा गर्दै पारस्परिक सहयोग र सहकार्यका आधारमा काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “रोक्नै नसक्ने प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न समस्या उत्पत्तिका कारण पहिचान गरी काम गरिने छ । भूकम्पछिको पुनःनिर्माणको कामलाई सफलतापूर्वक अघि बढाएकै कारण ९० प्रतिशतमा सफलता मिलेको हो । अब हामीले बनाउने आवास, कार्यालय र सम्पदा सुरक्षित हुन भन्नेतर्फ पूर्ण सचेत हुन आवश्यक छ ।”

वातावरण संरक्षण र प्रकृतिप्रति सजग एवं जिम्मेवार हुने शिक्षा विद्यालय तहदेखि नै समावेश गरिने बताउँदै प्रधानमन्त्री ओलीले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने उनले बताए ।

कोरोना सङ्क्रमणपछिको अवस्थाले सबैलाई मानव जाति र समाजको सम्बन्धलाई देशको सीमाभन्दा माथिबाट बुझ्न र एकअर्काको भविष्य कति अन्तरसम्बन्धित छ भन्ने सन्देशसहित सामूहिक मानवतावादी नयाँ विश्व व्यवस्थातर्फ जानुपर्ने कुरालाई झकझक्याएको बताए ।

प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उनले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गरे । रासस