Rumpum Advertisement

महोत्तरीमा आठ सञ्चारकर्मी संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
महोत्तरीमा आठ सञ्चारकर्मी संक्रमित

महोत्तरी, २७ असोज । महोत्तरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या आठ पुगेको छ । आज एकैदिन थप चारजना सञ्चारकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यो संख्या आठ पुगेको हो । यसअघि नै चारजनामा संक्रमण पुष्टि भएको थियो ।

आज संक्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलंगेले आपूmमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताए ।

चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा संक्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए । सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन् ।

यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बरालमा पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएपछि अहिले ‘होम आइसोलेसन’मा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार संक्रमण पुष्टि भएको हो ।

यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै संक्रमणमुक्त भइसकेका छन् ।

महोत्तरीमा पछिल्लोपटक एकजना नगरप्रमुखमा पनि संक्रमण पुष्टि भएको छ । जिल्लाको भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा सोमबार अबेर राति कोभिड–१९ संक्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले सोमबार अबेर राति आफ्नो पीसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका हुन् ।

महोत्तरीमा हालसम्म एक हजार ६०३ मा संक्रमण पुष्टि भएको छ । यहाँ १५ जनाको संक्रमणले ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।