Rumpum Advertisement

रतन्छा एक हप्ताका लागि सिल

Neuro Revised Adv
Koshi Dashain ad
रतन्छा एक हप्ताका लागि सिल

खोटाङ, २७ असोज । साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना संक्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।

काठमाडौँबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो । घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयवासीलाई सम्भावित संक्रमण हुनबाट बचाउन सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाइएकामा एकजनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।

पीसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते संकलन गरेर विराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको संक्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झंकार’ले जानकारी दिए ।

यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारीसाधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै दश स्थानीय तह रहेको जिल्लामा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका छन् ।

दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । उक्त नगरपालिकाबाट पीसीआर परीक्षणमा पठाइएकामध्ये १६ जनालाई संक्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकामा चार/चार, जन्तेढुंगा गाउँपालिकाका दुई, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क र बराहपोखरी गाउँपालिकाका एक/एक जनालाई संक्रमण पुष्टि भएको छ ।

केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन् । केपिलासगढी गाउँपालिकाका ३५ र रावाबेँसी गाउँपालिकाका ६५ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ