Rumpum Advertisement

सट्टेबाजीमा हारेपछि बन्धक बनाएर कुटपिट, तरुण दल विराटनगरका नेता पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
सट्टेबाजीमा हारेपछि बन्धक बनाएर कुटपिट, तरुण दल विराटनगरका नेता पक्राउ

विराटनगर, २६ असोज । व्यक्तिलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले विराटनगर ११ पिचरा बस्दै आएका रोनल कँडेललाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेस निकट तरुण दल विराटनगरका नेता रोनल कँडेललाई नियन्त्रणमा लिएकाे हाे । प्रहरीका अनुसार कँडेलसहितको समूहले विराटनगरका युवक सञ्जय सिंघललाई अपहरण गरेपछि बन्धक बनाएर कुटपिट गरेको आरोप छ ।

बिहीबार बेलुका घरबाट बोलाएपछि गएका सिंघलले कृष्ण पार्टी प्यालेस(हाेटल)काे माथिल्लो तलामा राखेर कुटपिट गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा गुनासो पोखेका छन् ।

फेसबुकबाट कुरा बाहिरिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो । फेसबुकमा सिंघलले भोलिपल्ट आफूसँग रहेको चेकमा जबरजस्ती आठ लाखको हस्ताक्षर गर्न लगाउँदै कँडेलले लिएर गएको आरोप लगाएका छन् ।

कँडेलले कुटपिट गरेपछि होटलको खर्च तिर्न भन्दै भोलिपल्ट बिहान ५० हजार रुपैयाँ मागेको फेसबुक पोस्टमा उल्लेख छ । पैसा दिने बाहनामा आफू भागेर बचेको सिंघलले उल्लेख गरेका छन् ।

प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनका लागि सिंघलमाथि कुटपिट भएको देखिन्छ । सिंघल र कँडेल दुवै जना सट्टेबाजका खेलाडी रहेको प्रहरी दाबी छ ।

‘सट्टेबाजीमा पैसा हारेपछि दुई जनाबीच हिसाब नमिल्दा घटना भएको देखिन्छ,’मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘जितेको भए कतै जान्थे होला, तर हारेपछि यस्तो अवस्था आएको पाइयो ।’

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट कँडेलको पैसा लगेर सिंघलले सट्टेबाजीमा हारेको देखिन्छ । त्यहीँ पैसा उठाउने नाममा कानून हातमा लिएर घटना गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अनुसन्धान थालिएका कारण थप विषयपछि खुल्दै जाने एसपी खड्काले बताए । उनका अनुसार दुवै जना आईपीएलमा सट्टेबाजी लगाउन सक्रिय रहेको खुलेको छ ।

आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएका कँडेल एक्कासी बिरामी परेपछि नोबेल अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएकाे छ ।

प्रहरी उपरीक्षक खड्काले उपचारपछि प्रहरी कार्यालय झिकाउनेगरी कडेललाई हाजिरजमानीमा छाडिएको बताए ।

कडेलले आफूलाई नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको मोरङ क्षेत्र नम्बर–६ काे उप–सभापति रहेको बताउने गरेकाे कांग्रेस माेरङका एक नेताले बताए । तर उनी पूर्णकालिन सदस्य नरहेकाे ति नेताकाे भनाइ छ ।

घटनापछि सिंघलले आफ्नो फेसबुकमा लेखेको स्टाटस …

म यो फेसबुकमार्फत् एउटा जानकारी गराउन चाहान्छु । बिहीबार राति ६ देखि ६ः३० बजेको बीचमा मलाई विराटनगरको पिचरा निवासी रोनल कँडेल भन्ने केटाले फोन गरेर क्रिकेटमा बेट लगाउनु पर्नेछ भाइ डिपोजिट लिन आउ भनेर बोलायो । म त्यहाँ पुग्दा रोनल, ठाकुरबारी रोडमा रहेको अलंकार ज्वेलर्सका सञ्चालक विकास सोनीको गाडीमा थिए । म गाडीमा बसेपछि उसले गाडी बसपार्क पिछाडि रहेको कृष्ण पार्टी प्यालेसको टप फ्लोरको रुममा मलाई लगेर बन्धक बनाइ कुटपिट गरे ।

जबरजस्ती मेरो फोनबाट धेरै ठाउँमा फोन गरेर धम्की दिए । अनि मसँग पैसाको माग गरे । मसँग पैसा छैन भन्दा रोनलसँग रुममा भएका अरु केटाहरूले मलाई कुटपिट गर्न थाले । त्यसपछि उनीहरू त्यहाँबाट निस्किएर गए । यस घटनामा रोनलसँगै विकास पनि संलग्न छन् । अरु पनि धेरै जनाको योजना छ ।

त्यसपछि शुक्रबार बिहान ९ बजे रोनल फेरि रुममा आएर मलाई टर्चर गर्न थाले, पैसाका लागि । मैले टर्चर बर्दास गर्न नसकेपछि चिनेको दाइ मनोज साह भन्नेसँग पैसाको लागि सहयोग पनि मागेँ । तर उहाँसँग मैले खुलेर सबै कुरा भन्न सकिनँ । अनि सहयोग पनि पाइनँ । त्यसपछि रोनलले मेरो पर्स चेक गर्‍यो । मेरो पर्समा उसले चेक पायो । जबरजस्ती उसको नाम लेखेर आठ लाखको तीन वटा चेकमा रकम भरेर २ वटाको डेट असोज १५ र एउटाको असोज २१ गतेको हालेको छ ।

तीन वटा चेक लिएपछि उसले मलाई जान दिन्छु भन्यो । जाने बेला उसले मलाई अहिले ५० हजार दे भन्यो होटललको बिल तिर्न, अनि मलाई किडन्याप (अपहरण) गर्न प्रयोग गरेको गाडीको अगाडिको भाग फुटेको मर्मतका लागि भन्यो ।

अनि मैले मनोज दाइलाई कमसेकम ५० हजार त अहिले तुरुन्त पठाइदिनु भनेँ। अनि उसले पप्पु भन्ने एकजना मान्छेलाई पठाए । त्यो मान्छे बसपार्क छेउमा रहेको रत्न होटलमा अगाडि आयो भन्दा रोनलले मनोजजंग भन्ने अर्को केटासँग रत्न होटल अगाडि पठायो ।

म त्यहाँ जादा पप्पु भन्ने मान्छेले पैसा नलिइ आएको भनेपछि मनोजले रोनललाई फोन गर्न खोजेको थियो । तर मैले भाइ प्लिज एकछिन बीएफएम छेउ जाउँ दाजुको पसल छ, त्यहाँबाट लिएर दिन्छु भन्दा त्यो भाइले माने । पछि जनपथ टोल हुँदै जाँदा अचानक उसले बाइक रोक्यो अनि रोनललाई फोन गरेर पैसा लिन बीएफएम छेउ जाँदैछु भन्यो । रोनलले होइन पर्दैन त्यसलाई लिएर आइज भनेपछि मनोजले बाइक स्टार्ट गरेर फर्काउन खोज्दा म चलाउँदै गरेको बाइकबाट जम्प गरेर भागें । अनि मलाई लिन आएको पप्पुको बाइकमा चढेँ । त्यसपछि बीएफएममा मनोज दाइको पसल पुगेँ अनि दाइले मलाई उपचार गराउनु भयो । औषधि दिनुभयो ।

अब यो घटनामा मैले उसले भनेअनुसार सबै गरेँ, उसले भनेअनुसार भिडियो बनाएँ । उसले मेरो नम्बरबाट धेरै ठाउँ फोन गरेर धम्की पनि दिएको छ । मेरो चेक पनि लगेको छ । अब कुनै पनि घटना घटे वा मेरो परिवारका कोही सदस्य बुबा-आमा र भाइ तथा मलाई केही भएमा सम्पूर्ण जिम्मेवारी रोनल कँडेल र विकास सोनीको हुनेछ ।