Rumpum Advertisement

‘नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसक्यो’

Neuro Revised Adv
Koshi Dashain ad
‘नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसक्यो’

काठमाडाैं, २६ असाेज । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन् ।

पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रूपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रूपमा लिनुपर्ने डा. मरासिनीले बताए ।

भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थिति भन्दापनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताए ।

काठमाडौं उपत्यकाभित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालयलगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उनकाे भनाइ छ ।

सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उनले स्पस्ट पारे ।

नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरूको आवत-जावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको बताए ।

सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी गरे ।

उनले कोरोना संक्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको बताए ।

त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताए ।

त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९-१० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पुर्‍याएको उनको भनाइ छ ।

पछिल्लो तीन दिनयताको संक्रमणको स्थिति हेर्ने हो भने डा. मरासिनीले भनेको कुरालाई करिब पुष्टि गरेको छ । गत शनिबार नेपालमा एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये २ हजार ६ सय ७२ जना संक्रमित काठमाडौं उपत्यकामा फेला परेका थिए ।

आइतबार २ हजार ७१ जना मानिसमा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना रहेका छन् ।

सोमबार नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित पुुष्टि भएका छन् ।

सोमबार नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । यसरी दिनप्रतिदिन संक्रमणको दर बढ्दै जानुले संक्रमण समुदाय स्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको पुष्टि गरेको छ ।