Rumpum Advertisement

बैंग्लोर भर्सेज कोलकता : प्लेयर्स टू वाच

Neuro Revised Adv
Koshi Dashain ad
बैंग्लोर भर्सेज कोलकता : प्लेयर्स टू वाच

विराटनगर, २६ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को २८औं खेलअन्तर्गत आज बेलुकी ७ः४५ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइट राइडर्स शारजाह क्रिकेट रंगशालामा भिड्दै हुनेछन् । आजको खेलको समाप्तीसँगै भोलिबाट आईपीएलको दोस्रो राउण्ड रोबिन लिग सुरु हुनेछ । बैंग्लोर र कोलकताको आज खेलसँगै आईपीएलका आठै टोलीले आ–आफ्नो प्रारम्भिक चरणका सात खेल सिध्याउने छन् ।

भोलिबाट सुरु हुने मिड–सिजनमा हामी आठ टोलीका खेलाडीहरूले क्लब परिवर्तन गरेको समेत देख्नेछौं । भारतीय क्रिकेट बोर्डले यस सिजन अनुबन्धित क्लबका लागि दुई खेल खेलिसकेको खेलाडीलाई पनि क्लब परिवर्तन गर्नसक्ने अनुमति दिएको छ । यसले आईपीएललाई थप रोमाञ्चक बनाउने छ भनेर हामी सहजै अनुमान गर्न सक्छौं ।

भोलिबाट सुरु हुने मिड सिजनमा कुन–कुन खेलाडी आ–आफ्नो क्लब परिवर्तन गर्दै नयाँ क्लब जानेछन् त्यसको चर्चा हामी पक्कै गर्नछौं तर त्योभन्दा पहिले आजको खेलका प्लेयर्स टू वाचका बारेमा चर्चा गरौंः

विराट कोहली, कप्तान, रोयल च्यालेन्जर्स बैंग्लोर

जारी आईपीएलका सुरुआती तीन खेलमा चल्न नसकेका विराट कोहली पछिल्ला तीन खेलमा भने निकै फर्ममा देखिएका छन् । हैदराबाद, पञ्जाब र मुम्बईविरुद्धका तीन खेलमा बललाई बाउन्ड्री कटाउन नसकेका कोहलीले राजस्थान, दिल्ली र चेन्नईसँगका तीन खेलमा १३ चौका र सात छक्काको मद्दतमा दुई अर्धशतक प्रहार गर्दै टोलीलाई योगदान दिइसकेका छन् ।

आईपीएलमा पाँच हजार ६ सय ३५ रन बनाएर ‘ओरेन्ज क्याप’ होल्डर कोहली आजको खेलमा पनि चम्कने हो भने कोलकतालाई बैंग्लोरविरुद्ध जित निकाल्न निकै कठिन हुनेछ । जारी आईपीएलको आफ्नो छैटौं खेलमा चेन्नईविरुद्ध ९० रनको नट आउट पारी खेलेका कोहली म्यान अफ म्याच घोषित भएका थिए । पछिल्ला खेलबाट आफ्नो उत्कृष्ट खेल कौशल देखाइरहेका कोहली आजका खेलका प्लेयर्स टू वाच हुन् ।

वासिङ्टन सुन्दर, बलर, रोयल च्यालेन्जर्स बैंग्लोर

राइजिङ पुने सुपर जाइन्ट्सबाट २०१७ मा आईपीएलमा डेब्यू गरेका वासिङ्टन सुन्दर बैंग्लोरका बलिङ अलराउण्डर हुन् । २०१८ बाट बैंग्लोरका नियमित सदस्य रहेका सुन्दर बायाँ हातले ब्याटिङ गर्छन् भने दायाँ हातले ‘अफब्रेक’ बलिङ गर्छन् । जारी आईपीएलमा बैंग्लोरबाट ६ खेल खेलिसकेका सुन्दरले तीन विकेट लिएका छन् ।

हैदराबादविरुद्धको पहिलो खेलमा एक ओभर मात्रै बलिङ गरेका उनले दोस्रो खेलमा पनि पञ्जाबविरुद्ध दुई ओभर मात्रै बलिङ गर्ने जिम्मेवारी पाएका थिए । तर तेस्रो खेलबाट पूरै चार ओभर बलिङ गर्न पाइरहेका सुन्दरले आफ्नो पहिलो विकेट मुम्बईका कप्तान रोहित शर्मालाई पेभेलियन फर्काउँदै हात पारेका थिए । तर त्यसपछिका दुई खेल विकेटविहीन बनेका सुन्दरले आफ्नो छैटौ. खेलमा तीन ओभर किफायती बलिङ गर्दै बैंग्लोरलाई जित दिलाए । चेन्नईका ओपनरद्वय वाट्सन र डु प्लेसिसलाई आउट गराएका सुन्दरको जादूमय बलिङले बैंग्लोरलाई प्रतियोगितामा चौथो जित दिलायो । ब्याटिङ गर्ने जिम्मेवारी खासै नपाए पनि वासिङ्टनले दुई इनिङ्स खेल्दै ४७ रनको योगदान दिइसकेका छन् । आफ्नो दोस्रो खेलमा पञ्जाबविरुद्ध छैटौं नम्बरमा ब्याटिङमा आएका उनले ३० रनको योगदान टोलीलाई दिए पनि हारबाट जोगाउन सकेनन् ।

दिनेश कार्तिक, कप्तान, कोलकता नाइट राइडर्स

कोलकताका कप्तान दिनेश कार्तिकका लागि कोलकता छैटौं क्लब हो । यसअघि उनले दिल्ली, गुजरात, मुम्बई, पञ्जाब र बैंग्लोरबाट आईपीएल खेलिसकेका छन् । आफ्नो पहिलो खेलमा ३० रन बनाउनुबाहेक कार्तिक ब्याटिङमा चलेको पञ्जाबविरुद्धको खेलमा मात्रै हो ।

हैदराबादसँग शून्य रनमा आउट भएका कार्तिक, राजस्थानविरुद्ध एक रन, दिल्लीविरुद्ध ६ रन र चेन्नईविरुद्ध १२ रनमै पेभिलियन फर्किएका थिए । तर आफ्नो छैटौं खेलमा २९ बलमै ५८ रनको अर्धशतकिय पारी खेलेका कार्तिकले आफू फर्म आएको संकेत गरिसकेका छन् । जारी प्रतियोगितामा तेस्रो, चौथो, पाँचौ र सातौ नम्बरमा आएर ब्याटिङ गर्दै आएका कात्र्तिक आजको खेलका प्लेयर्स टू वाच हुन् । पञ्जाबविरुद्धको पछिल्लो खेलमा जस्तै उनी आजको खेलमा पनि चम्कने हो भने कोलकतालाई पाँचौ जित दर्ता कसैले रोक्न सक्दैन ।

सुनिल नारान, बलर, कोलकता नाइट राइडर्स

आठ वर्षदेखि कोलकताको बलिङ सम्हाल्दै आएका सुनिल नारान दायाँहाते अफ–स्पिन बलर हुन् । अघिल्लो संस्करण कोलकताका लागि १२ खेल खेलेका उनले १० विकेट लिएका थिए । जारी सिजन कोलकताबाट ६ खेल खेलिसकेका उनले पाँच विकेट लिइसकेका छन् ।

पञ्जाबविरुद्धको पछिल्लो खेलमा उनले निकोलस पुरन र मन्दीप सिंहको विकेट लिँदै खेलको मोमेन्टम कोलकताको पक्षमा पारेका थिए । पहिलो, तेस्रो र पाँचौ खेलमा समान एक–एक विकेट लिएका उनले पञ्जाबविरुद्धको खेलमा भने दुई विकेट लिन सफल भएका थिए । तर उनको बलिङ ‘बलिङ एक्सन’ भन्दा फरक भएको प्रतियोगिताका अधिकारीहरूले बताएका छन् । त्यसैले आज हुने खेलमा उनले आफ्नो बलिङ गर्ने तरिका सुधार गर्नुपर्ने छ । यदि आजको खेलमा पनि उनीविरुद्ध उजुरी परेको खण्डमा नारानलाई आईपीएलमा बलिङ गर्न बाट प्रतिबन्ध लाग्न सक्नेछ ।

कोलकताका लागि पिन्च–हिटरका रूपमा अनुबन्धित नारानले ब्याटिङमा भने खासै जादू देखाउन सकिरहेका छैनन् । पहिलो, दोस्रो, तेस्रो र चौथो खेलमा कोलकताको ओपनिङ सम्हाले पनि लय गुमाएका नारानले पाँचौ खेलमा चौथो नम्बरमा ब्याटिङ गरेपनि कुनै जादू देखाउन सकेनन् । आफ्नो छैटौं खेलमा बलिङको जादू देखाए पनि उनले ब्याटिङ गर्ने मौका पाएनन् । आजको खेलमा नारानले कस्तो प्रदर्शन गर्ने हो हामी सबैको चासोको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ