Rumpum Advertisement

खुला दिसामुक्त कागजमा सीमित : विराटनगर महानगरले नै शौचालय भत्काइदियो

Neuro Revised Adv
Koshi Dashain ad
खुला दिसामुक्त कागजमा सीमित : विराटनगर महानगरले नै शौचालय भत्काइदियो

मोहन ढकाल

विराटनगर, २६ असोज । महानगरले शौचालय भत्काइदिएपछि विराटनगर–१९ घिनाघाटका सुकुम्वासी खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका छन् । लगभग सात महिनाअगाडि शौचालय भत्काए पनि निर्माणमा महानगर मौन रहेको छ ।

महानगरले खोलाछेउमा बाँध बाँध्न भन्दै सुकुम्वासी बस्तीछेउमा डोजर चलायो । भएका रुखबिरुवा पनि काटियो । तर अहिलेसम्म निर्माणमा भने ध्यान जान सकेको अवस्था छैन । यस वर्ष परेको अविरल वर्षाका कारण घरहरुसमेत धरापमा परेका छन् । कमलो माटो, त्यसमाथि रुखबिरुवा पनि काटेर डोजर लगाएर अलपत्र अवस्थामा छाडेपछि बस्तीसमेत धरापमा परेको छ ।

सुकुम्वासी बस्तीका गंगा ऋषिदेवले आफ्ना पीडा धेरैबेर सुनाए । शौचालय भत्काइदिएपछि आफूहरुलाई धेरै समस्या भएको उनले बताए । महानगरले निर्माणमा ध्यान नदिँदा खुला स्थानमा नै दिसापिसाब गर्न बाध्य भएको उनको भनाइ छ । जसको कारण कोरोनाको त्राससँगै अन्य रोगको त्रास पनि बढेको उनको भनाइ छ । उनले भने, ‘बनाउनलाई खर्च छैन । बनाइहाल्यो भने फेरि भत्काइदिन्छन् भन्ने डर छ ।’

उक्त स्थानमा लगभग ३५ घर सुकुम्वासीको बसोबास छ । सोही स्थानका कुमार ऋषिदेवले भने, ‘बारम्बार वडा कार्यालय धाएर कुरा राखियो तर हाम्रो कुरा खै कसले सुनिदिन्छ ?’ उनले प्रश्न गरे, ‘हाम्रो पहुँच कहाँ छ र ?’

‘खुला ठाउँमा दिसापिसाब गर्न धेरै समस्या भएको छ,’ उनले भने, ‘यसरी कहिलेसम्म दुःख पाउनु ?’ चुनावताका अनेक सपना देखाएर जितेका जनप्रतिनिधि अहिलेसम्म अवस्था बुझ्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘निर्माण गर्न पनि रकम छैन । निर्माण गरेता पनि फेरि भत्काइदिन्छन् भन्ने डर !’ उनले भने ।

वडा भने सम्झौताविना नै काम गरेको पाइएको भन्दै पन्छिने गरेको छ । सम्झौताविनै काम सुरु भएकाले अहिलेसम्म अलपत्र अवस्थामा नै रहेको वडा सदस्य जीतेन्द्र खवासले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ