Rumpum Advertisement

अंकतालिकाको शीर्ष स्थानमा उक्लने दाउमा बैंग्लोर र कोलकता

Neuro Revised Adv
Koshi Dashain ad
अंकतालिकाको शीर्ष स्थानमा उक्लने दाउमा बैंग्लोर र कोलकता

विराटनगर, २६ असोज । डबल राउण्ड रोबिन लिगको आधारमा खेलिने इन्डियन प्रिमियर लिग (आईपीएल)को मिड–सिजन आजको खेल सकिएसँगै सुरु हुनेछ । प्रतियोगितामा सहभागी आठ टोलीले आ–आफ्नो सात खेल खेलिसकेपछि आईपीएलमा मिड–सिजन प्रारम्भ हुने गरेको छ । पहिलो राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र कोलता नाइट राइडर्स आमनेसामने हुँदैछन् ।

शारजाह क्रिकेट रंगशालामा आज बेलुकी ७ः४५ बजे सुरु हुने खेलमा दुवै टोली आफ्नो पाँचौ जितको खोजीमा हुनेछन् । आ–आफ्नो ६ खेल खेलिसकेका दुवै टोलीले चारमा जित र दुईमा हार भोगेका छन् । समान आठ अंक भएपनि नेट रन रेटको आधारमा कोलकता बैंग्लोरलाई पछि पार्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।

आज यी दुईमध्ये कुनै एकले विशाल अन्तरको जित निकाल्न सफल हुने हो भने महत्वपूर्ण दुई अंक आफ्नो खातामा बटुल्दै आईपीएल अंकतालिकाको शीर्ष स्थानमा पुग्ने मौकासमेत पाउनेछन् ।

आईपीएल २०२० को शीर्ष स्थानमा सात खेलबाट दस अंक बटुलेको मुम्बई छ भने दस अंक नै बटुलेको दिल्ली नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यसैले बैंग्लोर र कोलकतामध्ये कुनै एकलले भारी अन्तरले खेल जित्दै मुम्बईको भन्दा बढी रन रेट बनाउन सफल हुने हो भने दोस्रो राउण्ड रोबिन लिग सुरु हुनुअघि अंकतालिकामा पहिलो हुने मौका पाउनेछ ।

आईपीएलको २८औं खेलका लागि आज कोलकताविरुद्ध मैदान उत्रन तयार रहेको बैंग्लोरले आफ्नो पहिलो खेलमा हैदराबादलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा पञ्जाबसँग स्तब्ध बनेको बैंग्लोरले तेस्रो खेलमा भने मुम्बईविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित दर्ता गराएको थियो ।

त्यसलगत्तैको खेलमा राजस्थानलाई आठ विकेटले हराएको बैंग्लोर आफ्नो पाँचौ खेलमा भने दिल्लीसँग ५९ रनले पराजित भएको थियो । तर छैटौं खेलमा साविकको उपविजेता चेन्नईलाई ३७ रनले पराजित गरेको बैंग्लोर आजको खेलमा पनि जित निकाल्न चाहन्छ ।

तर जारी आईपीएलका आफ्ना पछिल्ला दुई खेलमा जित निकाल्दै जितको ह्याट्रिक गर्ने दाउमा रहेको कोलकता बैंग्लोरलाई सहजै अंक सुम्पिन भने तयार छैन । पहिलो खेलमा मुम्बईसँग ४९ रनले र चौथो खेलमा दिल्लीसँग १८ रनले पराजित हुनुबाहेक कोलकताले हैदराबाद, चेन्नई र पञ्जाबलाई पाखा लगाएको छ । हैदराबादलाई सात विकेटले हराएको कोलकताले आफ्ना पाँचौ खेलमा चेन्नईलाई दस रनले र छैटौं खेलमा पञ्जाबलाई दुई रनले स्तब्ध बनाएको थियो ।

हेड–टु–हेड

यी दुईबीचको यो २५औं खेल हो । यसअघि भएका २४ भिडन्तमा बैंग्लोरविरुद्ध कोलकता सफल भएको देखिन्छ । हालसम्म १४ खेल कोलकताले आफ्नो पक्षमा पार्दा बैंग्लोर भने १० पटक मात्रै सफल भएको छ । यी दुईबीच भएका पछिल्ला तीन संस्करणको ६ खेलको नतिजाले पनि कोलकता बैंग्लोरविरुद्ध अघि भएको पुष्टि गर्छ । ६ मध्ये कोलकताले चार खेल आफ्नो पक्षमा पारेको छ ।

सन् २०१९ आईपीएलको पहिलो भेटमा कोलकतालाई १० रनले पराजित गर्नुबाहेक पछिल्ला खेलहरूमा बैंग्लोरले जित निकाल्न सकिरहेको छैन । बैंग्लोरले पछिल्लो पटक कोलकतालाई २०१६ आईपीएलको पहिलो भेटमा नौ विकेटको विशाल अन्तरले हराएको थियो ।

आईपीएलमा बैंग्लोर र कोलकताको पछिल्ला नौ खेल

आईपीएलका पछिल्ला नौ खेलको नतिजाले बैंग्लोरलाई भन्दा कोलकतालाई बलियो स्थितिमा देखाउँछ । जारी आईपीएलका ६ खेल र अघिल्लो संस्करणको आईपीएलका अन्तिम तीन खेलको नतिजाले कोलकतालाई बैंग्लोरभन्दा सफल रहेको संकेत गर्छ । कोलकताको नौ खेलको नतिजाको विश्लेषण गर्ने हो भने उसले ६ खेलमा जित र तीन खेलमा हार भोगेको छ ।

यता, कोलकताको आजको प्रतिद्वन्द्वी बैंग्लोरका पछिल्ला नौ खेलको नतिजा उत्कृष्ट नभए पनि सन्तोषजनक नै छ । नौमध्ये पाँच खेलमा जित निकालेको बैंग्लोरले तीन हार भोगको छ । बैंग्लोरको आईपीएल २०१९ मा राजस्थानसँग भएको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

पछिल्ला खेलबाट निकै फर्ममा देखिएका दुवै टोलीका कप्तानले आजको खेलमा कस्तो प्रदर्शन गर्लान् ? टोलीलाई जिततर्फ डोहोर्‍याउन कोहली र कात्र्तिकमध्ये को सफल हुने हो ? यसको उत्तर थाहा पाउन हामीले आजको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

शारजाह रंगशालमा यी दुई टोलीको हालसम्मको प्रदर्शन

आजको खेल हुने शारजाह रंगशालामा हालसम्म यी दुवै टोलीले दुई खेल खेलिसकेका छन् । जारी प्रतियोगितमा बैंग्लोरको शारजाहमा पहिलो खेल हो भने कोलकताको दोस्रो खेल हो । २०१४ मा यस रंगशालामा दुई खेल खेलेको बैंग्लोरले एकमा जित र एकमा हार भोगेको थियो ।

यता, कोलकताले भने २०१४ मा खेलेको खेलमा जित निकालेको थियो भने जारी आईपीएलमा यस रंगशालामा उसले खेलेको खेलमा पराजय भोगेको छ ।

रोचक कुरा त के भने, यी दुई टोली यो रंगशालामा भिड्न लागेको दोस्रो पटक हो । पहिलो पटक २०१४ आईपीएलको ११औं खेलमा यी दुईको भेट यहीँ रंगशालामा भएको थियो । सो खेलमा बैंग्लोरलाई दुई रनको झिनो अन्तरले पराजित गर्दै कोलकताले रोमाञ्चक जित दर्ता गरेको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ