Rumpum Advertisement

कोरोनाभन्दा नसर्ने रोग भयावह : एनआरएनए विश्व ज्ञान सम्मेलन

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाभन्दा नसर्ने रोग भयावह : एनआरएनए विश्व ज्ञान सम्मेलन

विराटनगर, २६ असोज । नेपालमा नसर्ने रोगहरुको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एन्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगहरुको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निक्लिएको हो ।

कार्यक्रममा बोल्दै डा. अभिनभ वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रेसन, मोटोपना आदि नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गरे ।

यी रोगहरुबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उनले यी रोगहरुबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गरे । ४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरु नसर्ने रोगबाट नप्रभावित बनेको डा. वैधले जानकारी दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसहरुले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए । क्यान्सरबाट ज्यान गुमाउनेहरुमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिसहरु रहेको उनले बताए । नेपालमा पनि क्यान्सरका रोगीहरु बढ्दै गएको बताउँदै उनले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

धुलो, धुँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उनको भनाइ थियो ।

भरत नेपाल (सिनियर मेन्टल हेल्थ एजुकेसन अफिसर अस्ट्रेलिया) ले मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडिदेखि नै उठेको बताए । तर कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उनले बताए ।

कार्यक्रममा बोल्दै उनले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउँदा, लामो समयसम्मको बेरोजगारीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताए । मानसिक समस्याकै कारण मानिसहरु आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदै पुरुषको तुलनामा ठूलो संख्यामा महिलाहरुले आत्महत्या गर्ने उनले उल्लेख गरे । ४५ प्रतिशतसम्म महिलाहरुले आत्महत्या गर्ने प्रवृत्ति देखिएको उनले जानकारी दिए ।

डा. कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताए । विश्वमा विद्यालय जाने अवस्थाका तीनदेखि १९ प्रतिशत बालबालिकाहरुमा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकाहरुमा यस्तो समस्या बढ्दै गएको जानकारी दिए । सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाहरुका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उनको भनाइ थियो ।

‘डिस्लेक्सिया भएका बच्चाहरु अरु सामान्य बच्चाहरुभन्दा फरक हुन्छन् । उनीहरु शुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिलो अध्ययन गर्ने हुन्छन् । दायाँ र बाँया छुट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डीलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ,’ उनले भने ।

प्रो.डा. अन्जना सिंहले नेपालमा डेंगु भाइरसको प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस ) पोथी लामखुट्टेको टोकाईबाट लाग्ने उनले बताइन् । नेपालमा २००४ सालमा डेंगु देखिएको बताउँदै उनले नेपालमा डेंगु संक्रमण बढ्दै गएको उल्लेख गरिन् ।

पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले नेपालमा अर्टिजम डिस्लेक्सिया लगायत मानसिक रोग, मुटु रोग, क्यान्सर, डेंगुलगायत नसर्ने रोगहरुको जोखिम बढ्दै गएको बताउँदै न्यूनीकरणका लागि राज्यसँगै सम्पूर्ण सरोकारवालाको सहकार्य आवश्यकता भएको औँल्याइन् ।

डा. कृष्ण काफ्लेले नेपालको मध्यपहाड मानव, वन्यजन्तुबीचको द्वन्दक्षेत्रदेखि जुनोटिक रोगहरुको उच्च जोखिम क्षेत्र बन्दासम्मको परिवर्तन विषयमा कार्यप्रस्तुति गरेका थिए ।

त्यस्तै डा. ज्ञानेन्द्र गोंगल (रेजनल एडभाइजर अफ डब्ल्युएचओ), डा. एमडी खुर्सिद अलाम हाइडेर (डब्लुएचओ), प्रो.डा. अभिनाव वैध (काठमाडौं मेडिकल कलेज), डा. फनिन्द्रप्रसाद बराल, डा.सरोज निरौला, डा. ओमराज भण्डारी, डा. सिमोन सुटडिफी, प्रो.डा., शान्थि जोनसोन, डा. विराज कर्माचार्य, भरत नेपाल (अस्ट्रेलिया नेपाल पब्लिक लिंक) लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सोही सोही कार्यक्रमको दोस्रो सेसनअन्तर्गत प्रो.डा. अन्जना सिंह, सुनिल मिश्र (त्रिभुवन युनिभर्सिटी), डा. कृष्ण काफ्ले, प्रोए. बासेर जियाओडी, डा. कृष्णबहादुर थापा, तारा गैरे (इन्नोभेटिभ कलेज काठमाडौं), डा. सुमन श्रेष्ठ, डा. भिनुजा वर्मा, सृष्टि कुन्डोइ, र एनआरएनएका नारायण आचार्यले आफ्नो धारणा राखेका थिए । नसर्ने रोगहरुले भयावह अवस्था लिँदै गएकाले यी रोग निराकरणमा सम्बन्धित सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने जोड अधिकांशको थियो ।

उक्त कार्यक्रमको संयोजन डा. ड्रोना रसाइली, डा. अर्चना अमात्य र डा. सरोज निरौलाले गरेका थिए ।