Rumpum Advertisement

चौथो जितको खोजीमा हैदराबाद, राजस्थानको लक्ष्य लगातारको हारमा पूर्णविराम

Neuro Revised Adv
Koshi Dashain ad
चौथो जितको खोजीमा हैदराबाद, राजस्थानको लक्ष्य लगातारको हारमा पूर्णविराम

विराटनगर, २५ असोज । आईपीएल अंकतालिकाको पाँचौ स्थानमा रहेको सनराइजर्स हैदराबादले सातौ स्थानको राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । डेबल हेडरको चौथो दिनको पहिलो खेलअन्तर्गत दिउँसो ३ः४५ बजे यी दुई टोली दुबई अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुँदैछन् ।

लगातार दुई जित निकाल्दै प्रतियोगितामा गतिलो सुरुआत गरेको राजस्थानले त्यसयता आफूले खेलेको चारै खेलमा पराजय भोगको छ । यता, लगातारको दुई हार भोग्दै आईपीएल सुरु गरेको हैदराबादले भने मिश्रित नतिजा निकालिरहेको छ । समान ६ खेल खेलिसकेको हैदराबादले तीनमा जित र तीनमा पराजय भोगको छ ।

दुवै टोली आ–आफ्नो सातौं खेलमा सुखद नतिजा आत्मसाथ गर्न चाहन्छ तर यी दुईमध्ये सफल को हुने हो, त्यसको लागि आजको खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

चेन्नईलाई पराजित गर्दै आईपीएल यात्रा प्रारम्भ गरेको राजस्थानले दोस्रो खेलमा पनि पञ्जाबलाई चार विकेटले हराएको थियो । तर आफ्नो लगातारको जितको यात्रालाई कोलकताले टुंग्याइदिएपछि राजस्थानले सम्हालिन सकिरहेको छैन । स्टिभ स्मिथले नेतृत्व गरिरहेको राजस्थान चौथो खेलमा बैंग्लोर, पाँचौ खेलमा मुम्बई र छैटौं खेलमा दिल्लीसँग स्तब्ध बनेको थियो ।

यता, राजस्थानको आजको प्रतिद्वन्द्वी हैदराबादले भने आफ्नो छैटौं खेलमा पञ्जाबविरुद्ध ६९ रनको जित निकालेको थियो । आईपीएलमा आफ्नो पहिलो खेलमा बैंग्लोरसँग पराजित भएको हैदराबाद दोस्रो खेलमा कोलकतासँग पराजित भएको थियो । तेस्रो खेलमा दिल्लीलाई १५ रनले स्तब्ध बनाउँदै प्रतियोगितामा पुनरागमन गरेको हैदराबादले चौथो खेलमा चेन्नईलाई पराजित गर्दै आफू लयमा फर्किएको संकेत गरेको थियो । तर हैदराबादको जितको शृंखला लामो हुन सकेन । पाँचौ खेलमा ३४ रनले पराजित गर्दै मुम्बईले हैदराबादको जितको शृंखलामा विश्राम लगाइदिएको थियो । तर पञ्जाबविरुद्धको छैटौं खेलबाट फेरी प्रतियोगितामा जितको सुरुआत गरेको हैदराबादले आज कस्तो प्रर्दशन गर्न हो ? हामी सबैको चासको विषय बनेको छ ।

हेड–टु–हेड

यी दुईबीच हालसम्म आईपीएलमा ११ पटक भेट भइसकेको छ । एघारमध्ये ६ खेलमा हैदराबादले बाजी मारेको छ भने राजस्थान पाँच पटका मात्रै सफल भएको छ । हेड–टु–हेडमा एक जितले पछि परेको राजस्थानलाई आजको खेल जित्दै बराबरी गर्ने मौका छ । साथै, आजको खेलबाट प्रतियोगितामा लगातारको हारलाई पूर्णविराम लगाउँदै ‘बाउन्स ब्याक’ गर्ने अवसर समेत राजस्थानसँग छ ।

तर हैदराबाद र राजस्थानको पछिल्ला भेटको नतिजाले भने यो हुन नसक्ने हो कि भन्ने संकेत गर्छ । यसअघिका तीन संस्करणको ६ भेटमा यी दुईबीच भएका खेलको नतिजाले हैदराबादलाई बलियो स्थितीमा देखाउँछ । २०१५, १८ र १९ मा यी दुईले खेलेका ६ मध्ये चार खेल हैदराबादले जितेको थियो । आजको खेलमा पनि जित दर्ता गर्दै राजस्थानविरुद्ध आफ्नो वर्चस्व कायम राख्न हैदराबाद चाहन्छ ।

आईपीएलमा यी दुईका पछिल्ला आठ खेल

हैदराबाद २०१९ आईपीएलमा दिल्लीसँग इलिमिनेटरमा पराजित हुँदै दोस्रो क्वालिफायरमा पुग्नबाट रोकिएको टोली हो । राजस्थानले भने अघिल्लो संस्करणको आईपीएल सातौं स्थानमा रहँदै सकाएको थियो । प्रतियोगितामा दुवैले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेका छैनन् ।

हैदरबादको पछिल्लो आठको खेलको नतिजा विश्लेषण गर्ने हो भने उसले पाँच खेलमा हार र तीन खेलमा जित निकालेको छ । यता राजस्थानको पछिल्ला आठ खेलको नतिजा हेर्ने हो भने उसको प्रदर्शन सन्तोषजनक छैन । आठमध्ये पाँचमा हार भोको राजस्थानले दुई खेलमा मात्रै जित निकाल्न सफल भएको छ । राजस्थानको पछिल्ला आठमध्येको एक खेल भने वर्षाको कारण रद्द भएको थियो ।

दुबई रंगशालामा राजस्थान र हैदराबादको प्रदर्शन

आज खेल हुने रंगशालामा हैदराबादले पाँच खेल खेलिसकेको छ । दुबई रंगशालामा हैदराबाद सफल सावित भएको पनि छ । खेलेका पाँचमध्ये चार खेलमा जित निकालेको हैदराबादले एक खेल मात्र गुमाएको छ । जारी आईपीएलमा हैदराबादले दुबई रंगशालामा खेलेका तीनमध्ये दुई खेलमा जित निकालि सकेको छ । यस्तै, २०१४ आईपीएलमा यस रंगशालामा हैदराबादले खेलेको दुवै खेलमा जित निकालेको थियो ।

राजस्थानको भने दुबई रंगशालामा यो तेस्रो खेल हो । २०१४मा एक र जारी आईपीएलमा एक गरी दुबई रंगशालामा कूल दुई खेल खेलेको राजस्थान दुवैमा पराजित भएको छ । जारी आईपीएलमा कोलकतासँग पराजित भएको राजस्थान २०१४ आईपीएलमा यसै रंगशालामा चेन्नईसँग सात रनले स्तब्ध बनेको थियो ।