Rumpum Advertisement

अनटेस्टेड विज्ञता र हाम्रो विकास

द्वन्द्वविज्ञ देशमा जति बढे द्वन्द्व त्यति नै बढ्दै गयो ।

Neuro Revised Adv
Koshi Dashain ad
अनटेस्टेड विज्ञता र हाम्रो विकासद्वन्द्वविज्ञ देशमा जति बढे द्वन्द्व त्यति नै बढ्दै गयो ।
डा. राजेन्द्र उप्रेती

‘तिमीले दिएको दान कहाँ जान्छ भनेर तिम्रो गुरुलाई कहिल्यै सोधेका छौ ?’ मेरो यो प्रश्नमा जाम्बियाको ब्राइटन एकछिन अलमलियो अनि भन्यो, ‘यस्तो प्रश्न सोध्नु नै हुँदैन । सायद तिमीले ईभको कथा पढेका छैनौं होला । भगवानले भनेको कुरा ईभले नमान्दा संसारमा संकट आएको हो, त्यसैले दान दिने र बिर्सने हो ।’ उसको अवोधपनामा अच्ममित भएँ म र मैले केही दिनअगाडि मेरो सुपरभाइजरले उनको अवकासपछि पादरी हुने योजना सुनाएको सम्झिए । मानिसहरुको जिज्ञासा र खोजी गर्ने स्वभावलाई कोमामा पु¥याएपछि सीमित टाठाबाठाहरुले कसरी मानिस, समाज र देशको दोहन गर्दारहेछन् भन्ने एउटा उदाहरण हो यो ।

हाम्रो समाज त्यही बाटोमा जाँदैछ । अन्धभक्ति र स्वार्थप्रेरित मानसिकता बढ्दै जाँदा मानिस, समाज, देश सबै अधोगतितिर लागिरहेको छ । स्वाभिमान स्खलित हुँदैछ र स्वविवेक कोमामा जाँदैछ । किन भइरहेको छ त यस्तो ? मैले आफूलाई नियाली हेरेँ अनि हामी वरिपरि भएका विज्ञ भनाउँदाहरुलाई हेरेँ, अनि हामीले किन विकास गर्न सकेनौं ? हामीले चाहेको रुपान्तरण किन आउन सकेन भनेर केलाउन कोसिस गरेँ । केही कुराहरु मेरा मानसपटलमा खेलिरहे । तिनैलाई यो लेखमार्फत् लिपिबद्ध गर्ने कोसिस गरेको छु । अपवाद जहाँ पनि हुन्छन् । त्यसैले मेरो लेखलाई पनि अपवाद छोडेर बुझिदिनु होला ।

अनटेष्टेड विज्ञता

विगत तीन दशकमा (२०४६ को प्रजातन्त्र स्थापनापछि) नेपालमा विज्ञ भनाउँदाहरुको बाढी नै लाग्यो । संसारका उत्कृष्ट विश्वविद्यालयहरुबाट दीक्षित हजारौं नेपालीहरु स्वदेश फर्किए वा संसारका विभिन्न देशमा फैलिए । धेरैले धेरै किताब, लेख लेखे र आफ्नो विद्धता झल्काउँदै भाषण गरे होलान् । संसारका धेरै देशदेशावर घुमे होलान् र त्यहाँको अनुभवले खारिए होलान् । तर फेरि पनि नेपालका लागि काम लाग्ने सीमित मात्र भए । कृषिविज्ञले देशलाई कृषिलाई आत्मनिर्भर बनाउन सकेनन्, द्वन्द्वविज्ञले द्वन्द्व घटाउन सकेनन्, इन्जिनियरहरु एउटा गर्व गर्नलायकको सग्लो सडक बनाउन सकेनन्, शिक्षाविद्हरुले काम लाग्ने शिक्षा भित्र्याउन सकेनन् । सबै क्षेत्रहरु सकारात्मक होइन नकारात्मक नै छन् । किन त भन्दा सबैखाले विज्ञहरुले आफूले सुनेको पढेको वा जानेको भनेको विषय आफ्नो ठाउँमा टेष्ट गरेर कहिल्यै हेरेनन् । उनीहरुले सिकेको कुरा टेस्ट गरेर आफ्नो ठाउँ सुहाउँदो बनाउन सकेनन् ।

अनटेस्टेड किताबी विज्ञताले विज्ञहरुको आत्मविश्वास कहिल्यै जागेन । व्यवस्थापन विज्ञ पढाउन जान्ने भयो तर लडखडाएको एउटा संस्था व्यवस्थित बनाएर देखाउन कहिल्यै सकेन । द्वन्द्वविज्ञ देशमा जति बढे द्वन्द्व त्यति नै बढ्दै गयो । लौ यो द्वन्द्वको दिगो समाधान म गरिदिन्छु भनेर कुनै द्वन्द्वविज्ञ उदाएन । प्राविधिक विज्ञहरुलाई आजभोलि मानिसहरुले पावरपोइन्ट विज्ञ भन्न थालेका छन् । जो पावरपोइन्ट प्रस्तुति काइदासँग गर्न सक्छन् तर उनीहरुको विज्ञता खेतमा, सडकमा, नहरहरुमा देखिँदैन । यसरी डिग्रीधारी किताबी विज्ञहरुले आफ्नो विज्ञता कहिल्यै टेस्ट गरेनन् । उनीहरुमा आफूले बोल्ने गरेका कुराहरु हुन्छन् कि हुँदैनन भनेर भन्नसक्ने आत्मविश्वास कहिल्यै आएन र उनीहरु सधैं जी–हजुरी र अरुले लाए–अह्राएको काममै दोष जति अरुतिर देखाउँदै विज्ञताको पगरी गुथिरहे र प्रतिफल दिन सक्ने विज्ञ कहिल्यै हुन सकेनन् ।

विज्ञताविनाको लहडी विकास यात्रा

विकासमा नाराहरु हाम्रो देशमा जति सायदै कतै घन्किए होलान् । नामधारी विज्ञहरु पनि सायदै हाम्रा जति अन्ततिर होलान् । तर हाम्रा कामहरु अधिकांश देखाउन योग्य हुन सकेनन् । विज्ञका नाममा जताजता मानिसहरु पसे ती संस्थाहरु या त सकिए या कोमामा पुगे । आफूले गर्ने कामको आत्मविश्वास नभएकाहरु र नैतिकताका सबै धरातल पार गरेकाहरु आफ्ना कर्मदाताको आदेश र जी–हजुरीमा समर्पित भए । कर्मदाताको लहडी वा स्वार्थपुरित इच्छा जुनसुकै तरहले पूरा गर्नु नै उनीहरुको दक्षता र विज्ञता बन्यो । यो विज्ञताको पिसाइमा धेरैधेरै उम्रँदै गरेका उत्साहित युवाहरु पेलिए होलान् । जसबाट उनीहरु उर्लदो उत्साह केही गर्ने जाँगर या त मारियो या फेरियो वा पलाएन भयो । अनि बिस्तारै स्वामीभक्त, स्वविवेक बेचिएका विज्ञहरु बढ्न थाले, मौलाउन थाले र मानव मस्तिस्क, समाज, देशलाई धमिल्याउँदै लगे ।

कर्मदाताहरुको लहडी योजना र स्वार्थपुरित इच्छा पूरा गर्दागर्दै हाम्रा विकासका सपनाहरु भ्वाङ पर्दै गए, थलिँदै गए । परिणामतः हाम्रा विकासहरु मात्र थलिएनन् मनमस्तिस्क, स्वविवेक, नैतिकता पनि थलिँदै गयो । नकारात्मकता बढ्दै गयो र गइरहेको छ । साझाहितको ठाउँ व्यक्तिगत स्वार्थले लियो । मानिसहरु लामो सोच र दिगो योजनाभन्दा ‘तातै खाउँ जली मरौं’तिर आर्कषित भए । कसैलाई भोलिको आशा रहेन । त्यसैको परिणाम हाम्रो विकास यात्राले भोगिरहेको छ ।

आशाहरु सकिएका हुन त ?

आशाहरु सकिएका छैनन् । कुलमानहरुले रुपान्तरण सम्भव छ भन्ने कुरा देखाइरहेका छन् । हजारौं युवाहरु दुरदराजमा बसेर आफ्ना कर्म फलाइरहेका छन् । अनेकौ सकारात्मक उदाहरणहरु हाम्रा वरिपरि छरपस्ट छन् । यी सबै सकारात्मक उदाहरणहरुमा एउटा कुरा साझा छ । त्यो हो विज्ञता वा ज्ञानको परीक्षण वा टेस्टेड विज्ञता । जस्ले सुनेको, पढेको, देखेको कुराको आफूले परीक्षण गरे ती सबै आफूले टेस्ट गरेका कुरामा वा भोगेको कुरामा वास्तविक विज्ञ हुँदै गए । उनीहरुले आफ्नो परिस्थितिमा केले काम गर्छ, केले गर्दैन भन्ने कुरा जान्दै गए र आफ्ना रणनीतिहरु सोहीअनुसार बदल्दै गए । उनीहरुको आत्मविश्वास बढ्दै गयो उनी उनीहरु झन्झन् फैलिँदै गए । अनि उनीहरुको विज्ञताले परिणाम देखायो ।

अन्त्यमा :

हामीले आफूलाई टेस्टेड विज्ञ बनाउन सकेनौं भने हामीले छाँटेका किताबी विज्ञताहरुले केही परिणाम दिएनन् । विज्ञता प्रमाणित गर्न संख्यामा गनिएका प्रकाशनहरु, भाषणहरु यो देशका लागि उपयोगी नहुन पनि सक्छन् । त्यसैले हो विभिन्न विकास रणानीति बनाउन गरिएका अध्ययन र लेखनहरु हाम्रा लागि अपवादबाहेक कुनै उपयोगी हुन सकेनन् । ती ठेली लेख्नमा विज्ञता देखाएकाहरुले अगाडि बढेर त्यो योजना कार्यान्वयन गर्ने जिम्मेवारी आफूलाई दिइयोस् भनेर हाँक दिन र इच्छित परिणाम दिन कहिल्यै सकेनन् ।

वास्तविक विज्ञता नहुँदा आफनो कामप्रति आत्मविश्वास जागेन अनि हाम्रा विज्ञहरु कर्मदाताका आदेश कार्यान्वयनमा सीमित भए र अन्त्यमा परिस्थिति र कर्मदाताको आदेशलाई दोष दिँदै आफ्नो विज्ञताको कमजोरी ढाकछोप गर्दैरहे । त्यसैले कमजोरी अन्ततिर खोज्नुको साटो आफैंबाट सुरु गरौं । आफूले सुनेका, पढेका कुराको पहिला परीक्षण गरौं अनि आत्मविश्वास र नैतिक इमान्दारिताका साथ त्यसको बिस्तार गरौं । हामीले विकासको बाटो बदल्न सक्छौं ।

प्रतिक्रिया

  1. This is the reality of our contemporary society. Nicely articulated the lapses we are facing. Thanks for sharing your thoughts Dr Upreti.

Comments are closed.