Rumpum Advertisement

पर्यटकले नेपाल घुम्न सोधपुछ गर्छन्, बुक गर्दैनन्

Neuro Ad
Koshi Dashain ad
पर्यटकले नेपाल घुम्न सोधपुछ गर्छन्, बुक गर्दैनन्

काठमाडौं, २२ असोज । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भने पनि हालसम्म कोही पनि पर्यटक नेपाल घुम्न आएका छैनन् ।

कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरे पनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालमा कुनै पनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि सात दिन क्वारेन्टाइनमा बस्नु पर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैले पनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिँदैन् ।

पर्यटन व्यवसायी सुदर्शन नेपालका अनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र र्‍याफ्टिङ गर्नका लागि सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढेको बताए । खासगरी नेपालमा कोभिड संक्रमणका लागि के–कस्ता मापदण्ड छन् भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफूहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताए ।

आईएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोधपुछ गरिरहेको बताए । संसारभर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले नै सोधपुछ गरिरहेको उनले बताए । तर अहिलेसम्म कुनै पनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको सापकोटाले बताए ।

पर्यटकहरुले नेपाल आउन सोधखोज गरिरहे पनि आफूहरुले सरकारी मापदण्डका कारण चित्तबुझ्दो जवाफ दिन नसकेको व्यवसायीहरुको भनाइ छ । तर पनि सरकारले तोकेको मापदण्ड पालना गरेर पर्यटकलाई सेवा दिन आफूहरु तयार रहेको पनि व्यवसायीहरु बताउँछन् ।

खासगरी पदयात्रा, पर्वतारोहण र र्‍याफ्टिङमा जाँदा कोभिड संक्रमणको जोखिम नहुने गरी पर्यटकलाई सेवा दिन सकिने पनि व्यवसायीहरु बताउँछन् । कोभिडले थला परेको पर्यटन क्षेत्रमा लकडाउन खुलेसँगै नयाँ उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरे पनि सरकारी मापदण्डका कारण पर्यटक नआउँदा भने व्यवसायीहरु निराश देखिन्छन् ।