Rumpum Advertisement

सर्वसाधारणको निःशुल्क उपचार गर्दै प्रहरी अस्पताल

Neuro Revised Adv
Koshi Dashain ad
सर्वसाधारणको निःशुल्क उपचार गर्दै प्रहरी अस्पताल

सप्तरी, २२ असोज । प्रदेश २ अन्र्तगत सप्तरीको रुपनीस्थित प्रदेश प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा सुरु गरिएको छ ।

यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले सर्वसाधारण समेतका लागि उपचार गर्न थालिएको हो । सर्वसाधारणको उपचार निःशुल्क भइरहेको अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. सुरेन्द्र साहले जानकारी दिए ।

राजविराज नगरपालिका–३ निवासी जग्गादाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उद्घाटन गरेका थिए ।

अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचारसमेत यो अस्पतालले गर्न थालेपछि त्यहाँका जनता खुसी भएको स्थानीय नर्मदेव यादवको भनाइ छ । प्रत्येक दिन १२ देखि १५ सर्वसाधारणको उपचार थालिएको जानकारी दिँदै सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएको अस्पतालका प्रमुख डीएसपी डा. साहले बताए ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा. साहले बताए । अस्पताल प्रमुख डा. साहले भने, ‘उपचार गराउन आउने सर्वसाधारणलाई न त पूर्जी नै कटाउनु पर्छ नत ल्याब जाँचकै शुल्क तिर्नु पर्छ, अस्पतालले एक्सरे पनि निःशुल्क नै गरिरहेको छ ।’

अस्पतालको आफ्नै ल्याब, डिजिटिल एक्सरे, भिडियो एक्सरे रहेको छ । डेन्टल विभाग छुट्टै रहने बताउँदै रगतको हरेक किसिमको जाँच यहाँ हुने गरेको उनको भनाइ छ । ‘दाँत उखाल्ने, सफा गर्ने ठूलो मेसिन यहाँ छ । दन्त चिकित्सकको दरबन्दी भइसकेको छ,’ डा. साहले भने, ‘केही दिनभित्रै चिकित्सक आउनुहुनेछ ।’ अस्पतालमा घाउ सफा गर्नेदेखि लिएर सानो शल्यक्रियासमेत गरिँदै आएको छ ।

अस्पतालमा एक जनरल फिजिसियन, एक विशेषज्ञ, दुई स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अहेब कार्यरत छन् । अस्पतालमा दश सुरक्षाकर्मीले काम गर्दै आएका छन् । यसबाहेक दुईजना दन्त विभागका टेक्निसियन पनि छन् ।

अस्पतालमा चार बेड आकस्मिक र दुई बेड प्रसूति गराउन राखिएको छ । अन्य १९ बेड जनरलका लागि छुट्याइएको छ । अस्पतालका प्रमुख डा. साहले प्रहरी अस्पतालको सेवा राम्रो बनाउने आफ्नो सोच रहेको बताए ।