Rumpum Advertisement

काठमाडौंका विभिन्न स्थानमा बजार अनुगमन

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंका विभिन्न स्थानमा बजार अनुगमन

काठमाडौ, २१ असोज । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तीव्रता दिएको छ ।

महानगरपालिकाले दशैं तिहारलगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु बिक्री–वितरण हुन सक्ने अवस्थालाई ध्यान दिँदै अनुगमनलाई तीव्रता दिएको हो ।

महानगरपालिकाले बुधबार काठमाडौंको नक्साल, कालोपुललगायतका ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा नक्सालस्थित बिग मार्टमा केही कमीकमजोरी पाइएकाले सचेत गराइएको अनुगमनमा रहेका महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए ।

त्यसबाहेक कालोपुलस्थित एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको सामानहरु राखिएको अवस्थामा फेला परेको उनले बताए । उक्त मार्टलाई दुई महिना पहिले पनि सोही सामान राखेको भनी वाणिज्य विभागले कारवाही गरेको पाइएकाले एक साताभित्र विस्तृत विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उनले बताए । उक्त सामग्रीको व्यवस्थापन छिटो गर्न नसके पुनः कारवाहीको प्रक्रियामा जाने पनि उनले बताए ।

यस्तै अनुगमनमा रहेका उपभोक्ताकर्मी माधव तिमल्सिनाले दशैं–तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु बिक्री–वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तीव्रता दिनुपर्ने बताए । जहाँ म्याद सकिएका समाग्री फेला पर्छ त्यहीँ नै नष्ट गर्ने गरी बजार अनुगमन गरिनुपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारवाहीका लागि सिफारिस गर्दै आएको छ । तर निकट भविष्यमै आफ्नै कार्यविधि, निर्देशिका र नियमावली ल्याई बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताए ।