Rumpum Advertisement

यती एयरलाइन्सको काठमाडौं-सिमरा उडान सुरु

Neuro Revised Adv
Koshi Dashain ad
यती एयरलाइन्सको काठमाडौं-सिमरा उडान सुरु

काठमाडौं, २१ असोज । यती एयरलाइन्सले आज (बुधबार) देखि काठमाडौं–सिमरा–काठमाडौं उडान सुरु गरेको छ ।

एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंदेखि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । एयरलाइन्सले उच्च सतर्कता अपनाएर आजबाट काठमाडौं–सिमारा–काठमाडौं उडान सुचारु गरिएको बताएको छ ।

आज नाइन एन–एएलएज कल साइन भएको जेटस्ट्रीम–४१ विमानमार्फत् बिहान ९ बजेर १० मिनेटमा पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ बजेर ४५ मिनेटमा हुने पनि एयरलाइन्सले बताएको छ ।

एयरलाइन्सले कोभिड संक्रमणको रोकथामका सबै मापदण्ड अपनाएर यात्रा गर्ने वातावरण मिलाएको बताएको छ । एयरलाइन्समा यात्रा गर्ने यात्रुले पनि धेरै समयपछि यति एयरलाइन्समार्फत यात्रा गर्न पाउँदा सुरक्षित महसुस भएको बताएका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई उच्चतम ध्यान दिई यात्रुलाई सुरक्षित भई यात्रा गर्ने वातावरण एयरलाइन्सले बनाएको यात्रुहरुको भनाइ छ ।

एयरलाइन्सले पनि अबदेखि दैनिक दुईवटा उडान काठमाडौं–सिमरा–काठमाडौंका लागि हुने बताएको छ । यात्रुहरुको माग भएमा उडान संख्या थप्न सकिने पनि एयरलाइन्सको भनाइ छ ।

यस्तै एयरलाइन्सले आज पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत् एकजनालाई निःशुल्क हवाइ टिकट उपलब्ध गराउने बताएको छ । यतिले हालका लागि काठमाडौं–सिमरा–काठमाडौं उडानमा एकतर्फी १ हजार ९ सय ९९ रुपैयाँ भाडादर तोकेको छ ।

२०५५ सालदेखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाजमार्फत् सेवा दिँदै आएको छ । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।