Rumpum Advertisement

बारम्बार बत्ती जाँदा अनलाइन शिक्षा प्रभावित

Neuro Revised Adv
Koshi Dashain ad
बारम्बार बत्ती जाँदा अनलाइन शिक्षा प्रभावित

काठमाडौ, २१ असोज । कोरोना भाइरसको संक्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटक–पटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् ।

गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटक–पटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा विद्युत् आपूर्तिमा अवरोधकै कारण पढाइ छुट्टी समस्या भइरहेको गोकर्णेश्वर–२ स्थित चण्डिकाश्वरी अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ५ की छात्रा सचिना थापाले दुखेसो पोखिन् ।

गोकर्णेश्वर क्षेत्रमा आइतबार २४सै घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विगत एक महिनादेखि दिउँसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने समयमै दैनिकजसो दुईदेखि तीन घण्टासम्म बत्ती जाने गरेको छ । जोरपाटीबाट सुन्दरीजलसम्मको सडक विस्तारका क्रममा रहेकाले पटकपटक दिउँसो पोल सार्न, बत्ती बिग्रिएका स्थानमा बनाउनेलगायत कामले विद्युत् आपूर्तिमा अवरोध हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण गोकर्ण नो लाइट कार्यालयका प्रमुख उमेशमान चिनियाँ विभिन्न स्थानमा विद्युत् तार, ट्रान्सफर्मरलगायत उपकरण बनाउनुपर्ने भएकाले विद्युत् आपूर्तिमा अवरोध आउने गरेको स्वीकार गर्छन् । आइतबार भने बौद्धमा ट्रिपरले ट्रान्सफर्मर ढाल्दा २४ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध भएको उनले सुनाए । टिपरले तीनवटा पोल ढालेको प्राधिकरणले जनाएको छ ।

करिब १३ हजार ग्राहक रहेको र भौगोलिकरूपमा पनि नुवाकोट र सिन्धुपाल्चोकसम्म जोडिएको काठमाडौँको बस्ती हेर्न जम्मा छजना मात्र कर्मचारी भएकाले काममा ढिलाइ हुने गरेको छ । कार्यालयका कर्मचारी अस्मिन चालिसे भौगोलिकरूपमा विकट क्षेत्र रहेको कार्यालयका लागि दिइएको बा१य ४९० नंको गाडी लिएर बत्ती बिग्रिएको स्थानमा बनाउन जाँदा नगुड्ने अवस्था आउने गरेको दुखेसो पोख्छन् ।

बिग्रिएको बत्ती बनाउन जाँदा गाडी नै बिग्रने गरेकाले बनाउन ढिला हुँदा ग्राहकको गुनासो आउने गरेको छ । नेपालकै दोस्रो जलविद्युत् केन्द्र सुन्दरीजल रहेको गोकर्णेश्वर क्षेत्रमा दैनिक घण्टौँ बत्ती जाने समस्या भए पनि समाधानका लागि प्रभावकारी उपाय अवलम्बन हुन सकेको छैन ।

गाउँगाउँमा सिंहदरबार पुग्यो भनिए पनि सिन्धुपाल्चोक र नुवाकोट जिल्लासँग सीमा जोडिएको बस्तीका मानिस मासिकरूपमा ८० रुपैयाँ विद्युत् शुल्क तिर्न ५०० खर्च गरेर चावहिलसम्म पुग्नुपरेको मूलखर्कका स्थानीयवासी हर्कबहादुर तामाङले बताए । सुन्दरीजल वा गोकर्णसम्म बत्तीको पैसा तिर्ने गरी काउन्टरको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ ।

विद्युत् आपूर्तिमा अवरोध आउन थालेपछि गोकर्णेश्वर नगरपालिका शिक्षा समितिले असोज १६ गतेदेखि भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पठनपाठन विद्यालयमै सुरु गरेको छ । विद्यालयको बस नचलाउने, विद्यालयमा खाजा, खानाको नबनाउनेलगायत व्यवस्था गरेर विद्यालय खोल्ने निर्णय गरिएको शिक्षा समिति सदस्य श्रीकृष्ण ज्योतिले जानकारी दिए ।

अभिभावकले नै सुरक्षितरूपमा विद्यार्थीलाई विद्यालयसम्म पुर्‍याउने गरी सञ्चालन गर्ने दिने निर्णय गरिएको उनले सुनाए । समितिले कोरोनाको महामारीका बेला विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका नै तयार पारेको छ ।

समितिको निर्णयपछि पनि गोकर्णेश्वरका सबै सामुदायिक विद्यालय खुले पनि संस्थागत विद्यालय भने खुलिसकेका छैनन् । प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ अनलाइन कक्षा विद्युत् आपूर्ति, इन्टरनेटको कमजोरी, मोबाइल तात्ने समस्या, विद्यार्थीको आँखामा हुने समस्यालगायत कारण प्रभावकारी नभएकाले बिहानैदेखि विद्यार्थीका बीचमा दुरी कायम गरी कक्षा सञ्चालन सुरु भएको बताउँछन् ।

एक मेचमा एक जनामात्र विद्यार्थी राखेर स्वास्थ्य सुरक्षाका उपाय अपनाई पठनपाठन सुरु भएको विद्या व्यायाम स्कूलको प्रधानाध्यापकसमेत रहेका उनले जानकारी दिए । अनलाइनबाटै शैक्षिकसत्र प्रभावकारी हुने नदेखिएकाले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको प्याब्सनको विश्लेषण छ । रासस