Rumpum Advertisement

पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन

Neuro Ad
पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन

काठमाडौ, १९ असोज । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले प्रदर्शन गरेका छन् ।

पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजनाको विरुद्धमा आन्दोलन सुरु गरिएको बताए । गुरुयोजनाले स्थानीय धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनु परेको संगतले बताए ।

उनले पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको चार किल्लाभित्र बसोबास गर्दै आएका पुरानो बस्तीलाई विस्थापित गर्ने र जात्रा पर्वहरुको विनास गरी व्यापारीकरण गर्न लागेको बताए ।

काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेशसिंह डंगोेलले पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरुसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताए । उनले पनि यस क्षेत्रको धर्म, संस्कृति, जात्रा, पर्वको विनाश हुने गरी गुरुयोजना ल्याएकाले विरोध गर्नुपरेको बताए ।

पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । कोषले तयार पारेको एक सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो । पुरानो योजनाको समीक्षा नगरी नयाँ गुरुयोजना तयार पारिएकाले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।