Rumpum Advertisement

धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

Neuro Revised Adv
Koshi Dashain ad
धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

धनगढी, १९ असोज । दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन् ।

सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपत्यका मात्रै नभएर देशका प्रमुख शहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता हर्षित भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन् । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री बिक्री वितरण भइरहेका छन् । पसलमा चिनी प्रतिकिलो ७० र नुन प्रतिकिलो १८ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा १० र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट गरिएको छ ।

सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभएर बेच्ने पनि गरेको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए । चाडपर्वको समयमा सुपथ मूल्य पसलमा माल समानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको खाद्य संस्थान धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए ।

यो वर्ष सुदूरपश्चिमका अन्य जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन । विगतमा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दिपायल लगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो । यो वर्ष भने अनलाइन बिलिङ सिस्टम भएपछि अन्य स्थानमा पसल सञ्चालनमा आउन सकेको छैन ।