Rumpum Advertisement

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक आन्दोलित

Neuro Revised Adv
Koshi Dashain ad
डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक आन्दोलित

काठमाडौं, १८ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन् ।

१९औं पटक अनसन बसेका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट अनसन सुरु गरेका केसीको अनसनको २१औं दिनमा स्वास्थ्यमा समस्यासमेत देखिन थालेको छ ।

आन्दोलित चिकित्सकहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका हुन् । धर्नामा सहभागी चिकित्सक डा. सुवास देवकोटाले केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदासमेत सरकारले चासो नदिएको बताए ।

श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजनसमेत दिन थालिएको उनको भनाइ थियो । तत्काल डा. केसीले उठाएका माग पूरा नभए कडा कदम चाल्ने चेतावनी पनि उनले दिए ।

अर्का चिकित्सक डा. अच्युत खनालले १८ पटकसम्मको अनसनका क्रममा वार्ताको माध्यमबाट भएका सम्झौताहरू कार्यान्वयनमा समस्या देखिएको बताए । दुर्गम क्षेत्रमा सुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने केसीको मागमा अहिलेसम्म जनता र विभिन्न राजनीतिक दलहरूले स्वस्फूर्त रूपमा ऐक्यवद्धता जनाउँदै आएकोमा सरकारले नसुनेकाले अब चिकित्सकहरूसमेत खवरदारीका लागि आन्दोलित हुनुपरेको उनले बताए ।