Rumpum Advertisement

सञ्चारकर्मीको अनसनप्रति ऐक्यबद्धता

Neuro Revised Adv
Koshi Dashain ad
सञ्चारकर्मीको अनसनप्रति ऐक्यबद्धता

काठमाडौ, १८ असोज । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले अनसनरत सञ्चारकर्मीहरुसँग भेट गरी उनीहरुले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरु नै बाँच्न पाउने हकबाट बञ्चित हुने अवस्था आउन नहुने उनीहरुको भनाइ छ ।

सरकारले कोरोनाकालमा अग्रपंक्तिमा रहेका काम गरिहेका व्यक्तिहरुको सुरक्षा, स्वास्थ्य र प्रोत्साहनका लागि ध्यान दिन नसकेको बेला सत्तारुढ दलकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कसैलाई पनि बाँच्न पाउने हकबाट बञ्चित गर्न नहुने बताए । विभिन्न कारण देखाएर सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने, निष्कासन गर्ने, बेतलबी बिदामा राखेर उनीहरुको बाँच्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताए ।

सञ्चारकर्मीहरुलाई विनाकारण जागिरबाट निकालिएको, समयमा तलब नदिएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण हुन नसकेको बेला सत्तारुढ दलका प्रवक्ता श्रेष्ठले कोरोनालाई कारण देखाएर सिर्जना गरिएको समस्याका कारण श्रमजीवीहरुले आफ्नो हक गुमाउनु परेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना सुरु भएको नौ महिना मात्रै भए पनि मिडिया क्षेत्र विगत दुई–तीन वर्षबाट नै राज्यबाट प्रताडित रहेको बताए । सञ्चारकर्मीसँग व्यवस्थापक र लगानीकर्ताहरुको हितका लागिसमेत सरकारले ध्यान दिन नसकेको उनले बताए । अहिले सञ्चारकर्मीहरुको अनसन प्रधानमन्त्रीको लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धताको परीक्षाका रुपमा रहेको उनले बताए ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु विगत चार दिनदेखि रिले अनसनमा रहेका छन् । सरकारले तोकेअनुसारको सेवासुविधा नदिएको, कोरोनाको कारण देखाउँदै जागिरबाट निकाल्ने, बेतलबी बिदामा राख्ने काम गरिएको भन्दै सञ्चारकर्मीहरु आन्दोलित भएका हुन् ।