Rumpum Advertisement

डा. केसीको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता

Neuro Revised Adv
Koshi Dashain ad
डा. केसीको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता

काठमाडौ, १८ असोज । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राखेका मागहरु जायज भएको भन्दै ऐक्यबद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिकरुपमा विज्ञप्ति जारी गरिसकेको बताए । तर पनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उनले बताए । तर कोरोना संक्रमण जोखिमका कारण भोलि (सोमबार) बस्ने भनेको केन्द्रीय कार्यसमितिको बैठक बस्ने–नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उनले बताए ।

कार्यसमिति बस्नुअघि आज (आइतबार) बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले बताए । केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने पनि उनले स्पष्ट पारे ।

डा. गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पूरा हुने पनि उनले बताए । पछिल्लो समय पीसीआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकाले सरकारले तत्काल वार्ता गरी सुनुवाइ गर्नुपर्ने उनको भनाइ छ ।

संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । यद्दपि जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उनले बताए ।

विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थालगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उनले बताए । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्ने पनि प्रवक्ता शर्माले बताए ।