Rumpum Advertisement

कारागारमा उच्च सतर्कता

Neuro Revised Adv
Koshi Dashain ad
कारागारमा उच्च सतर्कता

चितवन, १८ असोज । कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो ।

चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताए । ‘आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पु¥याउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘कैदी तथा थुनुवाबीच सामाजिक दुरी कायम गराउन गाह्रो छ । बाहिराबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ ।’

प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको संक्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ । कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन । कैदी तथा थुनुवाको खानपानामा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ ।

नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ । करिब ३० शैय्याको आइसोलेसन कक्ष बनाउनेबारे छलफल भइरहेको उनले बताए ।

‘अहिलेसम्म भित्र कोरोना संक्रमण भेटिएको छैन र हामी उच्च सतर्क छौँ,’ उनले भने, ‘बेलाबखत केहीको पीसीआर परीक्षण गराएका छौँ, संक्रमण देखिहाले फैलिन नदिन आवश्यक पूर्वतयारी गरिसकेका छौँ ।’

कारागारभित्र २०० बढी दीर्घरोगी

कारागार कार्यालय चितवनमा २०० बढी कैदीबन्दीले नियमित औषधि लिने गरेका छन् । नियमित औषधि लिनेको संख्या २१२ छ । उच्च रक्तचापका ७८, मधुमेहका ७२, पायल्सका १८, बाथरोगका १५, थाइराइडका १० जना बिरामी छन् ।

यस्तै मुटुरोगका छ, मानसिक रोगका पाँच, एचआईभीका तीन, क्षारे र क्षयरोगीका दुई–दुई, कुष्ठरोगी एकजना छन् । विषेशज्ञबाट सुझाव दिएका औषधि सहजरूपमा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ ।

‘बिरामी धेरै भए पनि जटिल अवस्थाका कम छन्,’ प्रमुख काफ्लेले भने, ‘बिरामीलाई छुट्टै ब्लकमा राखेका छौँ, नियमित जाँच तथा उपचारको सुविधा दिएका छौँ ।’ पछिल्लो समय जिल्लामा संक्रमितको संख्यामा वृद्धि हुँदै गएको देखिएपछि भरतपुर कारागार सबैभन्दा बढी जोखिम क्षेत्र बनेको छ । हाल कारागारमा कैदी तथा थुनुवा गरी ६८० जना छन् ।