Rumpum Advertisement

‘प्वाँख’खोज्दै बोक्सी आरोपमा बर्बर यातना, गाउँबाट निकाल्न घर घेरियो, लुकेर ज्यान जाेगियाे

Neuro Revised Adv
Koshi Dashain ad
‘प्वाँख’खोज्दै बोक्सी आरोपमा बर्बर यातना, गाउँबाट निकाल्न घर घेरियो, लुकेर ज्यान जाेगियाे

विराटनगर, १७ असोज । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेकी ३८ वर्षीया तामाङ थरकी महिला र २९ वर्षीया धनहीरा राईको घरसँगै छ । एकै ठाउँ घर भएका कारण ऐचोपैचो चल्थ्यो । छिमेकी भएकाले अफठ्यारो पर्दा सहयोग गर्थे ।

तर मंगलबार राति शरीरमा धामी उत्रिएकाे भन्दै चिन्ता (धामी) बसेकी धनहीराले बुधबार बिहान ४ः३० बजेतिर बोक्सीको आरोप लगाउँदै दिएको बर्बर यातना र कुटपिट छिमेकी महिलाका लागि जिन्दगीभर नमेटिने घाउ बन्यो । बोक्सी आरोपमा कुटिएकी तामाङ थरकी महिला घटनाको आलो घाउ लिएर अहिले न्यायको खोजीमा छिन् ।

पहाड घर खोटाङ छिटापोखरीबाट तामाङ परिवार २०६१ सालमा सुन्दरहरैँचाको गछिया बसाइ सरेको थियो । २०७० सालबाट भने आइतबारेमा घर बनाएर बस्न थालेपछि धनहीरा छिमेकी भएकी हुन् ।

पछिल्लो घटनाले दुई छिमेकीबीचको विगतको मैत्रीपूर्ण व्यवहार, सरसहयोग, एकअर्काप्रतिको सम्मान र सम्बन्ध सबै समाप्त गरिदिएको छ ।

बाेक्सी आराेपमा बर्बर यातना

धनहीरा मंगलबार राति आफ्नै घरको बरण्डामा थाल ठटाएर चिन्ता बसिन् । आफ्नो शरीरमा देउता उत्रिएको र माता चढेको बताउने उनले बसेको चिन्ता हेर्ने छरछिमेकीको भीड पनि ठूलो थियो । त्यही भीडमा थिइन् छिमेकी पीडित महिला पनि ।

पीडित महिला

धनहीराकै घरको कोठाभित्र बसेर झ्यालबाट चिन्ता हेरिरहेकी उनलाई बिहान उज्यालो हुँदै गर्दा धनहीराले आफ्ना गुरुले धामीविद्या सिकाउँदा दिएको ‘प्वाँख’ लुकाएको आरोप लगाइन् ।

धनहीरा नौ दिनअघि एक सातासम्म केही नखाइकन र कोहीसँग पनि नबोलिकन भोकै गुप्तबास बसेर निस्किएको परिवारको दाबी छ । एक साताको अनौठो तमासापछि बाहिर निस्किएकी उनले शरीरमा धामी उत्रिएको र आफूलाई माता चढेको बताउँदै अर्को अमानवीय र राक्षसी व्यवहार प्रस्तुत गरिन् ।

स्थानीयका अनुसार एक्कासी बोक्सीभन्दै धनहीराले महिलामाथि ‘प्वाँख’ चोरेको आरोप लगाइन् । उनले चिन्ता बसेको ठाउँमा जथाभावी गर्दै बोक्सीको तन्त्रमन्त्र लगाएर धामीविद्या सिकाउँदा गुरुले दिएको ‘प्वाँख’ लुकाएर गायव बनाई आफ्नो बाटोमा असर पुर्याएको आरोप महिलामाथि कुटपिट गरिन ।

एक घण्टाभन्दा बढी समय बोक्सी भनेर गालीगलौज गर्दै ‘प्वाँख’ तत्काल नदिए हत्या गरिदिने धम्की दिँदै चिन्ता बस्दा थानमा राखिएको त्रिसूल उठाएर हान्न थालेको स्थानीय बताउँछन् ।

त्यसपछि आफूबाट कुनै गल्ती नभएकोभन्दै महिलाले थानमा पुगेर पटकपटक माफी माग्न थालिन् । झन् धेरै कुटपिट हुनथालेपछि डराएकी ती महिला दौडिएर आफ्नो घरतिर गइन् । घरमा पूजापाठ गर्दा प्रयोग गर्दै आएको कुखुराको ‘प्वाँख’ लगेर दिइन् ।

कुरा त्यतिमा सकिएन । गुरुले दिएको ‘प्वाँख’ लुकाएर असफल बनाउन खोजेको भन्दै झन् त्रिसूल र आगो बलिरहेको अगुल्टो प्रहार गर्न थालिएको स्थानीयको भनाइ छ ।

बलिरहेको आगोमा पनि हाल्न खोजिन् । अतिनै भएपछि चिन्ता हेर्न भेला भएकाहरुले रोकेर महिलालाई बचाएका थिए । नबचाएको भए ज्यानै जाने हिसाबमा आक्रमण भएको एक स्थानीय बताउँछन् ।

चिन्ता हेर्न भेला भएकामध्ये अधिकांशले महिलाले गल्ती गरेकोभन्दै कुटपिट गर्न धनहीरालाई उकासेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल पीडित महिला भाग्यले बाँचेको बताउँछन् ।

‘महिलामाथि बर्बर यातना दिँदै निर्घात कुटपिट गरिएको रहेछ,’ उनले भने, ‘बोक्सी भएर आफ्नो बाटोमा अवरोध गरेकोभन्दै जलाउने हिसाबमा आँगनमा बलिरहेको आगोमासमेत महिलालाई घोप्टो पारेर हाल्न खोजिएको कुरा आएको छ ।’

पीडित महिलाको निधार, दुवै पाखुरा, हत्केला, दुवै खुट्टा, घुँडा, अनुहार, कुम सबैतिर चोट रहेको जानकारी ढकालले दिए । पाखुरा र कुममा आगोले पोलेको घाउ छ । त्रिसूलले पेटमा छेडिएको छ ।

‘चोट लागेको ठाउँबाट धेरै रगत बगेर महिला कमजोर बनेकी छन्,’ढकालले भने, ‘छिमेकीले बोक्सीको आरोप लगाउँदै मार्ने हिसाबमा आक्रमण गरेको पाइयो ।’

पीडित महिलाले दिएकाे प्वाख देखाउँदै स्थानीय

घटनालाई लिएर स्थानीयले बनाएको भिडियोमा पनि निरन्तर त्रिसूल, अगुल्टो प्रहार भइरहेको देख्न सकिन्छ । मरणासन्न हुने गरी कुटाइ खाइरहँदा महिलाले भने आफूलाई केही नगर्न र बाँच्न दिन बारम्बार आग्रह गरेकी थिइन् ।

घटनामा घाइते भएर उठ्न नसकेकी पीडित महिला बुधबार दिनभर ओछ्यानमै थला परेकी थिइन् । राम्ररी उठ्न र हिँडडुल गर्न नसक्ने उनलाई अर्काको सहारा चाहिन्छ ।

‘चिन्ता बसेकी छिमेकीले आफूलाई माता बताउँदै ‘प्वाँख’ लुकाएको आरोप लगाएर मार्छुभन्दै म माथि कुटपिट गर्न थालिन् । मर्ने अवस्था आएपछि ज्यान बचाउनलाई घरमा मैले पूजापाठमा प्रयोग गर्दै आएको कुखुराको ‘प्वाँख’ लगेर दिएँ,’ भक्कानिँदै पीडित महिलाले भनिन्, ‘धेरै बेर बोक्सीभन्दै जातिय हिसाबमा गालीगलौज पनि गरेपछि कुटपिट सुरु भएको हो । गल्ती गरेको भए शरण पर्छुभनेर माफी माग्दा पनि छाडिएन ।’

घटनाका बारेमा सुनाउने क्रममा डाँको छोडेर रोएकी उनले ‘प्वाँख’ लगेर दिएपछि झन् घोक्रायाउँदै र मुन्ट्याउँदै त्रिसूलले घोचेर पेटमा प्वालनै पारिदिँदै आगोले शरीर भरी पोलिदिएको बताइन् । बाँच्न पाउँ भनेर बारम्बार बिन्ती गर्दा पनि आज मारेरै छाड्छुभन्दै कुटपिट गरिएको उनले सुनाइन् ।

पीडित महिलाले एउटा कालो र तीनवटा सेतो रंगका ‘प्वाँख’ घरमा राखेर आफूले पूजामा प्रयोग गर्ने गरेको सुनाइन् । उनका अनुसार आउजाउ हुनेक्रममा पूजामा ‘प्वाँख’ प्रयोग गरेको धनहीराले देखेकि थिइन् । त्यसैमा आँखा लगाएकी उनले चिन्ता बसेको बाहनामा बोक्सीको आरोप लगाउँदै आफूलाई निर्मम ढंगले आक्रमण गरेर ‘प्वाँख’ कब्जा गरेको पीडितको भनाइ छ ।

‘‘देउता’लाई ‘बलि’नै दिन्छुभन्दै बालिएको आगोलमा घोक्रायाएर हाल्न खोजियो,’ भक्कानिँदै पीडितले भनिन्, ‘अहिलेसम्म मान्छेको ‘बलि’ दिइन्छ भन्ने थाहा नभएको कुरा पहिलो पटक मैले सुनेपछि धेरै डर पनि लाग्यो ।’

घटना सुनेपछि झापाको सुरुंगामा बस्दै आएका उनका श्रीमान बुधबार बेलुका घर आइपुगेका थिए ।

पारिवारिक सल्लाहमै दोस्रो बिहे गरेका उनका श्रीमान गुम्बामा र मृत्यु संस्कारमा लामा पढ्ने काम गर्छन् । जेठी श्रीमतमाथिको घटना सुनेर कान्छी श्रीमतीसहित आइपुगेको थाहा पाएपछि झन् उग्र बनेकी धनहीराले वरपरका केही व्यक्तिलाई बटुलेर बोक्साबोक्सीलाई आगो लगाउनु पर्छभन्दै राति घर घेर्न लगाएको उनले सुनाए ।

उनका अनुसार बुधबार राति एउटा समूहनै आएर आगोमा हाल्छौँभन्दै धेरै बेर घर घेर्दै तोडफोड गर्न खाजेको थियो । ‘तेरो शाखासन्ताननै बोक्साबोक्सीभन्दै आगो लगाउने धम्कीसहित तीन÷चार घण्टा घर घेरियो,’ उनले भने, ‘श्रीमती, म, ८४ वर्षको बुवा र ७० वर्षकी आमालाई बोक्साबोक्सीको आरोप लगाइएको छ ।’

उनले आफूले बिहान कुरा गर्नुपर्छभन्दै बारम्बार घरभित्रबाट सम्झाउँदा पनि त्यो हुलले नमानेको सुनाए ।

‘असुरक्षित भएपछि मसहित सबै परिवारका सदस्य ढोका थुनेर घरको पूजा कोठामा छि¥यौँ । हामी धेरै डराएका थियौं,’ उनले भने, ‘तर पछि उनीहरु बिहान ठीक पार्नु पर्छभन्दै फर्किए । बिहान (बिहीबार) उज्यालो हुन नपाउँदै हामीले प्रहरीको शरणमा पुगेर ज्यान बचाएका हौँ ।’

धनहीराको उक्साहटमा आएको त्यो समूहले गाउँ निकाला गर्ने, घरमा ताला मारिदिने र नटेरे आगै लगाइदिने धम्की दिएको उनको गुनासो छ ।

पीडित महिला देवरका आठ वर्षीया छोरालाई साथमा राखेर घरमा एक्लै बस्दै आएकी थिइन् । घाइते अवस्थाकी उनको अहिले श्रीमान र कान्छी श्रीमतीले स्याहार गरिरहेका छन् ।

प्रहरी निरीक्षक ढकालले घटनामा संलग्नविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाइसकिएको बताए ।