Rumpum Advertisement

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

Neuro Revised Adv
Koshi Dashain ad
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

काठमाडौ, १५ असोज । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज (बिहीबार) गजुर प्रतिस्थापन गरिएको छ ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरि पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो । मन्दिरको शीरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताए । मन्दिरको गजुर एक सय २३ दशमलव ७५ किलोग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेपछि पुनर्निर्माणको काम सुरु भएको थियो । तर बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सकिने चरणमा छ ।

प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्ने गरी पुनर्निर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको बताए । अब मन्दिरभित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिकरुपमा उद्घाटन गरिने पनि उनले बताए ।