Rumpum Advertisement

बलात्कारमा संलग्नलाई कारवाही गर्न सरकार कडारुपमा प्रस्तुत: गृहमन्त्री थापा

Neuro Revised Adv
Koshi Dashain ad
बलात्कारमा संलग्नलाई कारवाही गर्न सरकार कडारुपमा प्रस्तुत: गृहमन्त्री थापा

काठमाडौ, १४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानुनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताए । घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे ।

थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानुनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि बताए । सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी दिए ।

मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भए पनि पछिल्लो समय हरेक दिन ६/७ जना बलात्कृत हुने गरेको तथ्यांक रहेको बताए । पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानुनलाई अझ कडाइँ गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताए ।

उनले भने, ‘झन्डै ६/७ जना प्रत्येक दिन देशमा हाम्रा दिदीबहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइँ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ ।’

थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढिरहेको भए पनि विश्वका अन्य देशहरुको तुलनामा अवस्था चिन्तजनक नभएको बताएका छन् । विश्वका दुई सयभन्दा बढी देशको तथ्यांक विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडि रहेको बताए । उनले भने, ‘झण्ढै सवा २०० देशहरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान पछाडिबाट हेर्दा सवा दुई सयभित्र हामी टप १५ मा छौं । अमेरिका पनि टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने गर्छ भन्ने कुरा आएको छ । तर पनि हामीले हाम्रो अवस्था बदल्न जरुरी रहेको छ । यस्ता घटना रोक्न सरकारले आफ्नोतर्फबाट अधिकतम प्रयास गरिरहेको छ ।’

बैठकमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको बताए । घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको उल्लेख गर्दै उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटिएको बताए ।

पन्तको घटनापछि प्रहरीको छविमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफूहरु सचेत रहेको बताए । उनले भने, ‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिकरुपमा अनुसन्धान भइरहेको छ । छिटो निष्कर्षमा पुग्ने गरी काम गरिरहेका छौं ।’

उनले पछिल्लो समय बालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढिरहेको बताए । बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उनले बताए । बोहराले गत साउनमा पनि बलात्कार गरेको घटना बाहिर आएकाले अहिले दुईवटा बलात्कार र एउटा कर्तव्य ज्यान अभियोगमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको उनले बताए ।

पहिलेको घटनालाई मिलापत्र गराउनेहरुलाई समेत प्रतिवादीको रुपमा लैजाने तयारी भइरहेको उनले बताए । मिलापत्रमा पीडितको दाजु पनि बसेको हुनाले अहिलेको अवस्थामा जाहेरवाला हुने र पछि प्रतिवादीको रुपमा लैजाने गरी कारवाही अगाडि बढेको उनले बताए ।

सप्तरीको घटनामा पनि पञ्चायती गरेर पीडितलाई सजाय गरेको अवस्था रहेको देखिएको र त्यो पीडा सहन नसकेर उसले आत्महत्या गरेको भन्ने प्रहरी अनुसन्धानले देखाएको क्षेत्रीले बताए ।