Rumpum Advertisement

दरबारहरुको पुनर्निर्माण हुँदै

Neuro Revised Adv
Koshi Dashain ad
दरबारहरुको पुनर्निर्माण हुँदै

काठमाडौं, १४ असोज । २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठ्ने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहललगायतका दरबारहरुको प्रवलिकरण विधिमार्फत् पुनर्निर्माणको काम भइराखेको हो ।

२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मुख्य प्रशासनिक भवनसहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार बिस्तारै उठ्ने प्रक्रियामा छन् । दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रवलिकरण विधिमार्फत् पुनर्निर्माण गरिरहेको छ ।

प्राधिकरणका अनुसार सिंहदरबारको मुख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिनाभित्रमा सम्पन्न हुनेछ । यो भवनको पुनर्निर्माणको काम सम्पन्न भए पनि फायर फाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षालागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याटबाहेक ५५ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै सिंहदरबारको पश्चिमपट्टिको मोहडाको पुनर्निर्माणले पनि तीव्रता पाएको छ । यो भवन पनि प्रवलिकरण विधिमार्फत् पुनर्निर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरी पुरानै विधिमार्फत् काम भइराखेको विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याटबाहेक ५० करोड रुपैयाँ छ भने हालसम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गतेभित्रमा सम्पन्न हुनेछ ।

त्यस्तै काठमाडौंको केशरमहल दरबारको पुनर्निर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याटबाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुनर्निर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गतेभित्रमा सम्पन्न हुनु पर्नेछ । बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताए । यो दरबारको कुल लागत भ्याटबाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुनर्निर्माण २०७८ असार मसान्तसम्ममा सम्पन्न भइसक्नु पर्नेछ ।

यस्तै बालमन्दिरको पुनर्निर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याटबाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुनर्निर्माण भइरहेको यो दरबार २०७८ मंसिर मसान्तसम्ममा सम्पन्न हुनेछ ।
चारवटै दरबारको पुनर्निर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नबिग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । सुर्की, फलाम, चुना, काठलगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए । पुनर्निर्माणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभूत हुने गरी प्रवलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए ।

पुरानै शैली, पुरानै निर्माण सामग्री, पुरानै पद्दति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रसस्तै’ भन्ने सिद्धान्तबाट पुनर्निर्माणको काम भइरहेको उनले बताए । तर सिंहदरबारको पूर्वी मोहडाको पुनर्निर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ । यसअघि २०३० सालमा आगलागीबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो । त्यसैले अहिले पनि पर्खालको भित्र र बाहिर ज्याकेटिङ प्रविधिमार्फत् बाँधेर प्रवलिकरण गरिएको उनले बताए ।

दरबारहरुको पुनर्निर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौती थपिएको छ । निर्माण सामग्रीको नियमित आपूर्ति श्रृङ्खलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माको भनाइ छ । यसबाहेक कोभिडकै कारण दक्ष कालिगढहरुको समेत अभाव भएको छ । तर पनि कालिगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भए पनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताए ।