Rumpum Advertisement

फोहोर सदुपयोग गर्दै उद्यम

Neuro Revised Adv
Koshi Dashain ad
फोहोर सदुपयोग गर्दै उद्यम

स्याङ्जा, १३ असोज । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरु राम्रो आम्दानी गरिरहेका छन् । नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्रालि नामको कम्पनी स्थापना गरेर महिलाहरु फालिने कागज, कार्टुनलाई कच्चापदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन् ।

स्थानीय तीनजना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग सञ्चालनमा ल्याएका छन् । जिल्लामा कुखुरापालन गर्ने फर्महरु बढेसँगै क्यारेटको माग बढेकाले उद्योग सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक लेखनाथ शर्माले बताए ।

उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिहरहे कम्पनीले उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, बागलुङ, लमजुङसम्म बिक्री हुने गरेको छ । ग्रामीण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चापदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्थासमेत आफैंले गर्नुपरेको उनले बताए ।

कागज, किताब, कापी, पत्रिका, कार्टुनलगायत कागजी सामग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेसिनमा राखेपछि मेसिनले क्यारेट तयार पार्दछ र करिब ५ घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ । कम्पनीले फालिने कागजहरु घरघरमै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य बस्तुहरु फाल्न फोहोरको ट्रयाक्टर कुर्नेहरु अहिले त्यही कागज बिक्री गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन् ।

कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म खरिद गरिरहेको छ । फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोनाकालमा पनि ११ महिलासहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन् ।