Rumpum Advertisement

मालपोत कार्यालयमा भिड

Neuro Revised Adv
Koshi Dashain ad
मालपोत कार्यालयमा भिड

कैलाली, १३ असोज । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ । कार्यालय परिसरमा दैनिक सयौंको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् । जसका कारण संक्रमणको जोखिम बढेको छ ।

सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भएपछि असवाधानीका कारण कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । कैलाली मालपोतमा पनि एकजना कर्मचारी संक्रमित भएका छन् ।

मालपोत कार्यालय कैलालीमा सेवा लिन दैनिक सयौंको संख्यामा सेवाग्राही आउने गरेका छन् । असोज १ गतेबाट मालपोत कार्यालयको काम सुरु भएसँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड हुन थालेको हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भने पनि कैलाली मालपोतमा त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य सहर धनगढीमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको आँकलन भइरहे पनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । सेवाग्राहीहरु संक्रमणभन्दा काम समयमा सम्पन्न नहुँदा समस्या हुने गरेको बताउँछन् ।

मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, न त सेनिटाइजरकै व्यवस्था गरेको छ । सेवाग्राही पनि मास्कसमेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् । कार्यालयका अधिकारीहरुले भिडभाड व्यवस्थापन र भौतिक दुरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् ।

कार्यालयका एकजनामा संक्रमण देखिएपछि तीन दिन कार्यालय शील गरेका कारण पनि सेवाग्राहीको भिडभाड बढेको हुन सक्ने कार्यालयका प्रमुख सुरेन्द्र केसीले बताए । भिडभाड नियन्त्रणका लागि अहिले दैनिक ७० जनालाई मात्रै सेवा दिने गरी टोकन प्रणाली सुरु गरिएको प्रमुख केसीले बताए ।