Rumpum Advertisement

साना हतियार र लागूऔषध खुला सीमामा चुनौती

Neuro Revised Adv
Koshi Dashain ad
साना हतियार र लागूऔषध खुला सीमामा चुनौती

सिरहा, १२ असोज । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेसका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ ।

अवैध हतियार बोक्ने नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरूको समूह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधिहरू हुने गरेका प्रहरीले अनुमान गरेको छ ।

प्रहरी उपरीक्षक राठौरले खुला सीमाको फाइदा उठाउँदै अवैध लागूऔषध सहजै नेपाली बजारमा आउने गरेको भए पनि यसलाई रोक्ने प्रयास गरिरहेको बताए । ‘हामीले सीमाक्षेत्रमा निकै कडाइँ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोर बाटो हुँदै अवैध लागूऔषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौँ,’ उनले भने ।

सीमा क्षेत्रको भारतीय बजारहरूमा अवैध लागूऔषध खुलेआम बिक्री हुने हुँदा चुनौती बढेको उनको भनाइ छ । यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उनले बताए । माओवादी द्वन्द्वको समयमा साना हतियारका साथै अवैध लागूऔषधको निकै बिगबिगी भएको थियो । त्यसबेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको भनाइ छ । हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ ।

सुरक्षा अधिकारीकोे सीमा बैठकमा साना हतियार तथा अवैध लागूऔषधको विषयमा कुरा उठ्ने गरेको पाइएको छ । यसलाई रोक्नु पर्नेमा भारतीय अधिकारीहरूसमेत सहमत हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले तराई मधेसका सबै जिल्लाको सिमाना खुला रहेका कारण अवैध लागूऔषधको ओसारपसार गम्भीर चुनौती भएको बताए । खुला सीमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एकअर्कालाई सहयोग गरे समस्या समाधानमा सहज हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

लागूऔषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेका उनको भनाइ छ । साना सवारीसाधनको केही भागमा लुकाएर अवैध लागूऔषध ओसारपसार गर्दै आएको पाइएको र खुल्ला सिमानाका कारण जिल्लामा अवैध लागूऔषध नियन्त्रण कार्य निकै चुनौतीपूर्ण रहेको प्रजिअ पौडेलले बताए ।