Rumpum Advertisement

कोरोनामुक्त भएकालाई समाजको फरक व्यवहार

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनामुक्त भएकालाई समाजको फरक व्यवहार

सर्लाही, ६ असोज । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गरे । उनले भनिन्, ‘घर परिवारका मानिसदेखि समाजका अरु व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुई छोरा छन्, उनीहरु पनि तपाईँलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन् ।’

उनले भनिन्, ‘म महिला सञ्जालमा काम गर्छु, समाजमा सबैखालका मुद्दाहरु आइरहन्छन् । समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ । एक दिन अचानक मलाई कमजोर महसुस भयो । अनि जाँच गराउँदा कोरोना भएको रहेछ ।’ लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोनालाई जितेको उनको अनुभव छ । बेला–बेलामा तातोपानी र बेसारपानी खाएको उनले सुनाइन् ।

कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै उनले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाइ छ । लालबन्दी नगरपालिका–८ का वडाध्यक्षसमेत रहेका ३५ वर्षीय राजनकुमार श्रेष्ठ पनि तातोपानी बेसार, जिरा र अदुवा पानी खाएर आफूले कोरोनालाई जितेको बताउँछन् ।

उनले भने, ‘कोरोना लाग्नेबित्तिकै सुरुमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ । लागिहाले आत्तिहाल्नुपर्ने अवस्था हुँदोरहेनछ । कोरोना भनेको केही होइन रहेछ ।’ कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउँदै उनले आफूले पनि अरु कोरोना संक्रमितहरुसँगै आइसोलेनसनमै बसेर उपचार गरेको र आइसोलेसनमा बस्दा अरु कोरोना संक्रमितको मनोवल नघटोस् भनेर रमाइलो गरेको बताए ।

जिल्लामा करिब दुई हजार २०० को हाराहारीमा कोराना संक्रमण देखिएको भए पनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना संक्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले जिल्लाको एकमात्र नगरपालिका लालबन्दीमा कोरोना संक्रमणका बिरामी एकजना पनि नरहेको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रकुमार खतिवडाले बताए । नगरमा देखिएका ८४ कोरोना संक्रमित सबै कोरोना जितेर घर गइसकेका नगरपालिकाले जनाएको छ । रासस