Rumpum Advertisement

जेसीबी व्यवस्थापन गर्न नसक्दा हिजोदेखि संक्रमितको शव अस्पतालमै

Neuro Revised Adv
Koshi Dashain ad
जेसीबी व्यवस्थापन गर्न नसक्दा हिजोदेखि संक्रमितको शव अस्पतालमै

सप्तरी, ५ असोज । कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन ।

रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो संक्रमण रिपोर्ट पोजेटिभ आएको केही घण्टामा नै मृत्यु भएको थियो ।

सम्बन्धित स्थानीय तहले शव लैजान नसक्दा रातभरि शव आइसोलेसन केन्द्रमा नै रहेको कोभिड–१९ व्यवस्थापन संयोजकसमेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले बताए ।

शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन केन्द्र पुर्‍याएलगत्तै साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन् । उनीहरुले व्यवस्थापन गर्न नसक्ने भए शव जिम्मा दिन माग गरेका छन् ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि–२०७६ मा शवलाई चाँँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्ने उल्लेख छ । कोरोना संक्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

यसअघि मृत्यु भएका शवको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि शवको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ ।

शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने गाउँपालिकाको जेसीभी सर्भिसिङमा भएकाले शव व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए । अन्य स्थानीय तहसँग माग्दा पनि जेसीभी उपलब्ध नभएकाले आज शव व्यवस्थापनको प्रयास भइरहेको बताका अध्यक्ष यादवले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने जानकारी दिए ।

सप्तरीमा योसँगै मृत्यु हुनेको संख्या दुई महिलासहित १० जना पुगेको छ ।