Rumpum Advertisement

जनताले कुरा बुझ्छन् र नयाँ खालको बिस्फोट आउँछ : डा. बाबुराम भट्टराई

Neuro Revised Adv
Koshi Dashain ad
जनताले कुरा बुझ्छन् र नयाँ खालको बिस्फोट आउँछ : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गरेका छन् । विगतका धेरै आन्दोलन र अभियानको विरुद्धमा उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न नसकिने बताएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईसँग समसामयिक राजनीतिबारे भएको कुराकानीको सारसंक्षेप :

हामी कोरोना कहरमा छौं । तपाई एकपटक सरकारको नेतृत्वमा बसेर काम गरिसक्नुभएको मान्छे । अहिले कोरोना र सरकार कसरी हिँडिरहेका छन् ? तपाईको विष्लेषण के छ ?

कोरोना तपाई–हाम्रो जीवनकालको सबैभन्दा ठूलो त्रासदीको रुपमा आएको प्रष्टै छ । यस्तो बेलामा यो प्राकृतिक कारणले आउने हो र यसको पछाडि जीव विज्ञान र भौतिक विज्ञानको खास नियमले काम गरेका हुन्छन् भन्ने कुरालाई बुझेर त्यसअनुरुपको नीति बनाउनुपथ्र्यो । यसको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्छ भन्ने बुझेर राज्यले सुरुदेखि नीति अपनाउनुपथ्र्यो । तर दुर्भाथ्य, हाम्रो राजनीतिक नेतृत्व खासगरी प्रधानमन्त्रीमा जुन प्रकारको अहंकार र अज्ञानताको डरलाग्दो कक्टेल म देख्छु, त्यसले गर्दा उहाँले यसको गम्भीरतालाई बुझ्न सक्नुभएको छैन । उहाँले आफ्नो महानता, बडोपन देखाउनलाई नचाहेको जस्तो गरेर अन्यत्र मोडिदिनुहुन्छ । त्यो कारणले गर्दा सुरुदेखि नै ठिक नीति बनेन । यो केही पनि होइन हाच्छ्युँ गरेर जान्छ भन्ने ढंगले भन्नुको अर्थ के थियो भने यसको खास तयारी गर्नु पनि आवश्यक छैन मैले केही पनि नगर्नु स्वभाविक हो, मैले बुझेरै गरिराखेको छु भनेजस्तो उहाँले गर्नुभयो । जबकि त्यस्तै मुर्ख शासकहरुले विभिन्न अरु देशमा पनि गरिराखेका छन् । त्यो कारणले गर्दा सुरुदेखि नै बिग्रिइहाल्यो । अरुको देखासिकी गरेर बन्दाबन्दी गर्नेसम्मको उहाँले गर्नुभयो ।

लकडाउन भनेको त समाधान त होइन, त्यो त तयारीको निम्ति थियो । वास्तवमा जनतालाई सतर्क बनाउने र राज्यले त्यो किसिमको आवश्यक तयारी गर्ने, जस्तैः परीक्षणका तयारी, कन्ट्याक्ट ट्रेसिङका तयारी र सुरक्षित ढंगले चिकित्सा क्षेत्रमा कार्य गर्ने मान्छेहरुको तयारी गर्ने कुरा, क्वारेन्टाइन र आइसोलेसनको उचित व्यवस्थापन गर्ने कुराहरु र स्वास्थ्यसम्बन्धी उपकरणहरुको व्यवस्था गर्ने कुराहरु र संघ, प्रदेश तथा स्थानीय तहहरुमा उचित कार्य विभाजन गरेर त्यसको व्यापक तयारी गर्ने विषय हुनुपथ्र्यो । सँगसँगै ठूलो जनसंख्या भारत, मध्यपूर्ण र मलेसियातिर छन् र उनीहरु पनि त्यहाँबाट आउन सक्छन् र उनीहरु आउँदा रोगको र आर्थिक समस्या पर्नसक्छ भन्ने बुझेर योजना बनाउनु पथ्र्यो, सरकारले योजना नै बनाएन ।

त्यसैगरी जुनप्रकारको बजेट आयो, पहिले त सुरुमा नै विभिन्न देशले बजेटभन्दा अगाडि नै यस्तो संकट आएपछि छुट्टै योजनाहरु ल्याउँथे तर उहाँले त्यो पनि ल्याउनु भएन । बजेटमा आउँछ कि भनेर मानिसहरु बसे, त्यो पनि आएन । त्यसपछि पनि उहाँहरु त्यत्तिकै जानुभयो । यो मुख्य राजनीतिक नेतृत्वकै कारणले हो र त्यसमा पनि मुख्य प्रधानमन्त्रीको असक्षमता, अहंकारले नै हो भन्ने मलाई लाग्छ ।

त्यसो भए अहिलेको समाज विज्ञान कोरोनाको कारणले गर्दा कतातिर जाँदैछ ? कोही बोल्न सकिरहेको छैन तर अवस्था बिग्रिसक्यो भन्छन् । यसमा तपाईको विष्लेषण के छ ?

हाम्रो मनोविज्ञान कस्तो भयो भने सुरुदेखि नै कोही मान्छेले क्रान्ति, परिवर्तनले गर्दा बिग्रियो भन्छन् । मैले निरन्तर भन्छु, क्रान्तिले बिगारेको होइन, क्रान्ति अपुरो गरी बिग्रेको हो । क्रान्ति भनेको त संरचनात्मक जुन परिवर्तन हो, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक राज्य व्यवस्थाको समग्र जुन परिवर्तन आउनुपथ्र्यो, त्यो हाम्रो पूरा भएको थिएन । त्यो कारणले गर्दा निजी क्षेत्र पनि, राजनीतिक दलहरु पनि, सरकार र विभिन्न अंगहरु सबै राज्यको दोहन गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने यो अहिलेको नेपाली समाजको अवस्था छ । त्यसैलाई नै एउटा क्रोनिक क्यापिटलिजम भन्ने पनि त्यसै अर्थमा हो ।

त्यो कारणले गर्दा प्रधानमन्त्री बेठिक हुनुभएको छ, उहाँले गलत गरिराख्नुभएको भन्ने मान्छेलाई थाहा छ । तर मान्छे किन डराउँछ ? विपक्षी दल किन बोलिराखेको छैन ? र अरु दलहरु बाहिरका मान्छे किन बोल्दैनन ? ती पार्टीभित्र पनि असन्तुष्टि भएकाहरु किन बोल्दैनन ? भने राज्य सत्ताको अलिकति आड भएन भने टिक्नै गाह्रो, पार्टी चलाउन पनि गाह्रो, आफ्नो आर्थिक व्यवस्थापन गर्न पनि गाह्रो । जुनखालको हाम्रो समाज अलिकति शक्ति पूजक छ, शक्तिबाट अलिकति टाढा गयो भने मान्छेले गन्दैन भने हामीजस्तो एकाध मान्छेहरु त एउटा विद्रोही चेतको कारणले गर्दा बोल्छौं तर धेरै मान्छेमा त्यो आँट छैन । त्यो कारणले गर्दा यो गल्ती भइराखेको छ भनेर बुझ्दा–बुझ्दै पनि मान्छेले बोल्न सकिराखेका छैनन्, यसको प्रतिरोध हुन सकेको छैन ।

आखिर केही युवाहरुले, केही पढेलेखेका मान्छेहरुले ‘इनफ इज इनफ’ भनेर अलिकति गर्न खोज्छन्, सर्फेसियल्ली उनीहरुले गरेका छन् तर त्यसको संरचनात्मक जरो नै उखेलेर उधिन्ने ढंगले जाने चेतना फेरि उनीहरुको छैन । त्यो त राजनीतिक नेतृत्वले गर्ने हो, विपक्षी दलहरुले गर्ने हो, वैकल्पिक शक्ति बनाउने राजनीतिक दलहरुले गर्ने हो । नागरिक समाज जुन हामी भन्छौं, पब्लिक इन्टलेक्च्युअल त्योले गर्ने हो । तर हामी सबै राजनीतिक सत्ताबाट नै केही न केही प्राप्त गरेर गुजरा गर्ने वर्ग भएको हुनाले यो समस्यालाई उधिन्न नसकेको र मुख्य जरो त्यहाँ हो । सरकारले गल्ती गरेको छ नै, त्यसको प्रतिरोध गर्ने शक्ति पनि अगाडि आएन । यही कारणले गर्दा आएन ।

photo

आर्थिक अवस्थाका बारेमा भर्खरै निवर्तमान अर्थमन्त्रीबाहेक कसैले बोलेनन् । हामी कस्तो अवस्थामा छौं, ठिक छौं या जर्जर भइसकेका छौं या सत्ताले जस्तो चाह्यो त्यस्तो देखिराखेका छौं । कस्तो अर्थव्यवस्था देख्नुहुन्छ ?

अर्थतन्त्रका हिसाबले गम्भीर छ । सुरुदेखि नै प्रक्षेपणहरु फरक–फरक आइराखेका छन् । तैपनि नेपालको अर्थतन्त्र ठूलै संख्यामा १३ प्रतिशतले खुम्चिन्छ भनेर त्यसरी आएको हो । पछि सरकारको तथ्याङ्कले झण्डै दुई दशमलव २८ ले खुम्चियो भनेर भन्यो । त्यसरी हेर्दा मलाई के लाग्छ भने त्योभन्दा बढी खुम्चिएको छ । तर कम देखिएको कारण के हो भने एउटा हाम्रो जुन निर्वाहमुखी कृषि छ, गाउँमा फर्केर बस्दा मान्छेको गुजरा चलेको छ । दोस्रो, जुन रेमिट्यान्समा काम गर्न जाने मान्छे हुन्, खासगरी मलेसिया, खाडी मुलुकतिर जाने मान्छे र भारततिर जाने मान्छेहरु, जो अनौपचारिक क्षेत्रमा काम गर्छन् र उनीहरु घरायसी श्रमिकको रुपमा काम गर्छन् । ठूलाठूला उद्योगधन्दा बन्द भएका छन् तर त्यहाँ घरायसी श्रमिकहरुको त माग छ । त्यो कारणले गर्दा जति संख्यामा उनीहरु विस्तारै घर फर्किन्छन् भन्ने जुन आँकलन थियो त्यो त्यति फर्किएन र रेमिट्यान्समा पनि केही कमी त आयो तर ह्वात्तै कमी आउँछ भन्ने थियो, त्यति आएन । त्यो कारणले गर्दा जेनतेन धानिएको हो । तर त्यो समाधान त होइन । यो त गुजारामुखी अर्थतन्त्र भयो । तर गुजाराले मात्रै देश त चल्दैन । त्यसैले अर्थतन्त्र गम्भीर अवस्थामै छ ।

अब हाम्रा पर्यटनदेखि लिएर साना मध्यम उद्योगहरु र ठूलो मात्रामा कम भने पनि ६० प्रतिशत गतिविधि घटेको छ भनेर आधिकारिक तथ्याङ्कले भनेको छ । त्यो हिसाबले गर्दा अर्थतन्त्र खुुम्चिएको छ । बेरोजगारी दर बढेर गएको छ र आगामी दिनमा यसको असर त झन् बढ्दै जान्छ । विश्वव्यापी र क्षेत्रीय अर्थतन्त्रको र भारतीय अर्थतन्त्रको हाम्रोमा असर पर्छ किन भने भारतीय अर्थतन्त्र नै २३/२४ प्रतिशतले खुम्चिएको छ, त्योभन्दा बढी खुम्चिएको ठूला अर्थतन्त्रमध्ये भनिँदै आइराखेको छ । यो सबै कारणले गर्दा आगामी दिनमा हामी गम्भीर अवस्थामा पुग्छौं ।

त्यसो भए अर्थ व्यवस्था जर्जर छ । सरकारविरुद्ध कोही बोल्न सक्दैन । यो के हो भन्ने पनि थाहा छैन । प्रतिपक्षले पनि आफ्नो भूमिका अगाडि देखाउन सकेको छैन । अब कस्तो नेपाल देख्ने हामीले ? अब कहाँ पुग्ने ?

म त अलि आशावादी मान्छे, अनि अलिकति क्रान्तिकारी ढंगले सोच्ने मान्छे । मेरो दृष्टिले के देखिराखेको छ भने क्रान्तिको प्रवाह छलमय ढंगले अगाडि जान्छ माथि आउँदै तल आउँदै जान्छ । अहिले विश्वयापीरुपमा नै एउटा जुनखालको पुँजीवादी अर्थतन्त्रको संकट छ, त्यो कुरा असमानताको कारणले गर्दा मागहरु खुम्चँदै छ र चीनलगायतका केही ठाउँहरु जुन पछिल्लो विकसित छन्, तीबाहेकका अरु सबै अर्थतन्त्र भारतसम्म पनि ठूलो संकटतिर जाँदैछ । त्यसैले जब संकट आउँछ त्यतिबेला शासक वर्गले के गर्छ भने ध्यान अन्यत्र मोडनलाई राष्ट्रवादका कुरा गरेर, अत्यन्त लोकप्रियता संकीर्ण राष्ट्रवादका कुरा गरेर जनताको ध्यान अन्त मोड्न सक्छ । किनभने दोस्रो विश्वयुद्धको सुरुमा पहिलो विश्वयुद्धपछि इटली, जर्मनीमा हिटलर मुसोलिनीहरुले पनि त्यसरी नै उग्र राष्ट्रवादको नारा देखाएर ध्यान अन्यत्र मोड्न कोसिस गरेका थिए ।

अहिले अमेरिकाको राजधानीदेखि बेलायत र भारत हुँदै नेपालसम्म हेर्नुभयो भने शासकहरुले अन्यत्र ध्यान मोडन खोजिराखेका छन् । कहिले सिमानाका समस्यालाई ल्याएर, कहिले अरु कुराहरु ल्याएर ध्यान अन्यत्र मोडने कोसिस गरेका छन् । तर अन्तिम कुरा मान्छेको रोजगारी र पेट पाल्नुपर्ने कुरा आउँछ । जब त्यो असह्य हुन पुग्छ, त्यतिबेला जनताले कुरा बुझ्छ र फेरि नयाँ खालको बिस्फोट आउँछ भन्ने म देख्छु । त्यसैले यो आँधीअगाडिको सन्नाटा होजस्तो मलाई लाग्छ । छिटै नै अन्तर्राष्ट्रियरुपमा पनि उथलपुथल ढंगले यो अगाडि जान्छ र हाम्रो क्षेत्रमा र नेपालमा चाहिँ यो दिगो हुनै सक्दैन । एउटा नयाँ ढंगले विद्रोह र बिस्फोटक चित्र तयार हुन्छ ।

प्रश्न के हो भने त्यसलाई अग्रगामी सोच राख्ने ढंगले एउटा लोकतान्त्रिक र अग्रगामी सोचको विकल्प दिन सक्यो भने त्यसले एउटा क्रान्तिकारी रुपान्तरण ल्याउँछ । तर राजनीतिक विकल्पले त्यस्तो अग्रगामी सोच दिन सकिएन भने पश्चगमनतिर लिएर जाने खतरा पनि हुन्छ । मेरो विश्वास के छ भने र हालसालै आठ–दश वर्ष मात्रै भएको छ एउटा क्रान्तिकारी वार भएर मत्थर सेलाएको, त्यसैले नेपाली जनता फेरि अलि बढी सचेत नै हुन्छ । यसले एउटा अग्रगमनकारी विकल्प दिन्छ जस्तो मलाई लाग्छ ।

त्यसो भए रेट्रोफिटिङ गर्ने कि रिबिल्डिङ गर्ने या नयाँ संरचनामा जाने ? अर्थात् सरकारलाई कहाँबाट सुधार गर्ने, अथवा सरकारको विकल्प खोज्नुपर्ने हो कि ?

अब लोकतन्त्रको विकल्प त उन्नत लोकतन्त्र नै हो । अलोकतान्त्रिक र अन्यतिर त सोच्नै हुँदैन । अहिले भर्खरै संविधान बनेको पाँच वर्ष पुग्दैछ, त्यसको समीक्षा पनि हुँदै गर्ला । दुर्भाग्य के भयो भने यो संविधानमा कमी–कमजोरीका बाबजुत पनि धेरै सकारात्मक कुरा यसमा छन् । तर यसको कार्यान्वयन गर्ने जिम्मा यो संविधानका आधारभूत अन्तरवस्तुहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिता त्यसको विरोधी मान्छेको हातमा नेतृत्व गइदियो । केपी शर्मा ओली भनेको झापा आन्दोलनको बेलादेखि नै, माओवादी जनयुद्ध र शान्ति प्रक्रिया सबैको विपक्षमा उभिएको मान्छे हो । मूल एजेन्डाभन्दा फरक ढंगले उभिएको मान्छे हो । तर प्रकारान्तरले क्षणिक राष्ट्रवादको नारा उहाँले लगाएर सत्तामा पुगिहाल्नुभयो ।

पार्टी ठूलो पनि भयो दुई तिहाईको झण्डै नजिक पनि रह्यो, भनेपछि यसलाई त अरु तरिकाले हटाउने ठाउँ त छैन, त्यही पार्टीभित्रैबाट नेतृत्व परिवर्तन गर्न योभन्दा सुधारात्मक ढंगले परिवर्तन गर्न सक्नुपथ्र्यो । तर नेकपाले सकेन । उहाँहरुको अलिकति अन्तरविरोध चल्दै थियो तर विविध कारणले गर्दा मैले अघि पनि भनेँ कि सत्ता कसैले गुमाउन चाहँदैन, बाँडीचुँडी गरेर खाने भन्नेतिर नै गइरहेको छ । त्यो कारणले गर्दाखेरि उहाँहरु फेरि केपी ओलीलाई नै आउँदो अढाई वर्ष नै दिने भन्ने निष्कर्षमा जुन पुग्नुभयो त्यसले गर्दा नेकपाभित्रैबाट अग्रगामी विकल्प आउँछ कि भन्ने जुन सोच थियो, त्यो आएन । त्यो नआउँदाखेरि मैले के देखिरहेको छु भने झन् ठूलो बिस्फोटतिर लान्छ कि भन्ने मलाई लागेको छ । त्यसैले अब यसको विकल्प भनेको लोकतान्त्रिक शक्ति, अग्रगामी प्रवृत्तिको शक्ति तिनीहरुले नै सहकार्य गरेर यसको विकल्प दिने कोसिस गर्नुपर्छ ।

त्यो भनेको डेमोक्र्याटिक एलायन्स हो ?

हो डेमोक्रयाटिक पनि भयो र नेकपाभित्र पनि यही रुपको रहँदैन भन्ने मलाई लाग्छ । किनकि त्यहाँ कमसेकम माओवादी आन्दोलनको पृष्ठभूमि भएका मान्छेहरु अलिकति अग्रगामी प्रकृतिका सोच राख्ने मान्छे हुन्, ती पनि बाध्यताले खुम्चिएर त्यहाँ बसिराखेका छन् । एमालेभित्रको पनि एउटा तप्का केपी ओलीको चरम निरंकुश र सबै ढंगले कुशासनयुक्त जुन सत्ता छ, त्यसबाट चाहिँ वितृष्णा भएको तप्का पनि त्यहाँ देखिन्छ ।

नेपाली कांग्रेस पनि लोकतान्त्रिक पार्टी हो, त्यहाँ कुनै निश्चित हात त छैन । सबैखालको प्रवृत्ति त्यहाँ छन् तर त्यसभित्रका पनि अलिकति अग्रगामी प्रकृतिको सोच राख्ने शक्तिहरु आवाज उठाउन थाल्छन् । नयाँ पढेलेखेका वर्ग पनि आउँदैछ र हाम्रो सार्वजनिक बौद्धिकहरुको समूह हो जुन अहिलेको सोसल मिडियाले पनि केही आपसमा नजिक ल्याउँछ । यी सबै जोड्दा फेरि यो सरकारमाथि एउटा विकल्प दबाब चाहिँ बन्छ र एउटा विकल्प आउन सक्छजस्तो मलाई लाग्छ । तर अहिले विकल्प दिने जुन सम्भावना थियो, त्यो नेकपाले गुमायो । किन गुमायो, त्यो उहाँहरुले नै जान्नुहुन्छ । मलाई लाग्छ, यसले झन् ठूलो संकटतिर लाँदैछ, यो समाधान भएको छैन ।