Rumpum Advertisement

स्क्रब टाइफसका तीन बिरामी भेटिए

Neuro Revised Adv
Koshi Dashain ad
स्क्रब टाइफसका तीन बिरामी भेटिए

कञ्चनपुर, २० भदौ । महाकाली नगरपालिकामा तीनजना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा तीनजना स्क्रब टाइफसका बिरामीमा भेटिएका हुन् । उच्च ज्वरो भएर उपचारका लागि आएका ११ जना बिरामीको परीक्षण गर्दा तीनजनामा स्क्रब टाइफसको संक्रमण देखिएको सो केन्द्रले जनाएको छ ।

स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर उपचारका लागि आएका ११ जना बिरामीको आरडीटी परीक्षण गर्दा तीनजनामा संक्रमण देखापरेको स्वास्थ्य केन्द्रका डा. गगन चौधरीले बताए । उनका अनुसार हालसम्म उच्च ज्वरो भएका ५० भन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको र तीमध्ये सातजनाको मृत्यु भइसकेको छ ।

उच्च ज्वरोका कारण मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी परिचालन गरेर बिरामी र मृत्यु भएका बिरामीको आफन्तको रगत परीक्षणका लागि नमूना संकलन गरेको थियो । त्यसको नतिजा अहिलेसम्म आएको छैन ।

परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुका अनुसार संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुनेलगायतका लक्षण देखापर्ने गर्छ ।

रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको डा. चौधरीको भनाइ छ । किर्नाको टोकाइबाट बँच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुपर्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने उनले बताए ।