Rumpum Advertisement

मुक्तिनाथमा पनि कोरोनाको कहर

Neuro Revised Adv
Koshi Dashain ad
मुक्तिनाथमा पनि कोरोनाको कहर

मुस्ताङ, ११ भदौ । गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक–दुई महिनाबाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा यतिखेर कोरोना कहरको प्रभाव परेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिने उद्देश्यका साथ सरकारले गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीसँगै सर्वसाधारणका लागि पूजाआजामा लगाइएको रोक अहिले पनि कायमै छ । चैत र वैशाख महिना मुक्तिनाथमा पर्यटक ठूलै संख्यामा पुग्ने गर्दथे तर यसपटक भने कोरोनाको बढ्दो संक्रमणसँगै गरिएको बन्दाबन्दीले तीर्थालु मुक्तिनाथ जान पाएनन् ।

बन्दाबन्दीपछि मन्दिरमा बिहान बेलुका नियमित पूजाआजा गरिए पनि तीर्थालुका लागि भने मन्दिर हालसम्म पनि खुल्ला नगरिएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘कोरोना संक्रमणका कारण मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएको छ,’ उनले भने, ‘बन्दाबन्दीयता बिहान–बेलुकाको नियमित पूजाआजा भने निरन्तर गरिँदै आइएको छ ।’

मुक्तिनाथ मन्दिरमा दर्शनार्थी जाने महत्वपूर्ण याममा प्रत्येक वर्ष आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्ष पर्दछ । सोह्रश्राद्धका रूपमा लिइने यस समयमा यहाँको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्दार हुने जनविश्वासले देशका विभिन्न भागका दर्शनार्थी आउने गर्दछन् । यस वर्ष यही भदौ १७ गतेदेखि सोह्रश्राद्ध सुरु हुँदैछ । प्रत्येक वर्षको सोह्रश्राद्धको समयमा मुक्तिनाथमा दैनिक ५०० देखि एक हजारसम्म तीर्थालु आउने गर्दछन् ।

मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको आगमन हुने याम नजिकिँदै गर्दा कोरोनाको कहरका कारण यो क्षेत्र अझै सुनसान जस्तै रहेको मुक्तिनाथ गाउँका पूर्व मुखिया एवं होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए । ‘कोरोनाको सन्त्रास यथावत नै छ, मुक्तिनाथ मन्दिर खोल्ने–नखोल्ने विषयमा प्रशासनबाट केही निर्णय आउला,’ उनले भने, ‘प्रशासनले खोल्ने निर्णय गरेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटलहरू सञ्चालन गर्ने कि भन्ने सोच छ ।’ कोरोना संक्रमणको रोकथामका लागि बन्दाबन्दी गरेसँगै होटलहरूमा काम गर्ने कर्मचारी आफ्नो घर गएका कारण होटल सञ्चालन गर्ने तय भएका अवस्थामा उनीहरूलाई काममा फिर्ता बोलाउनु पर्ने अवस्था हरेको होटल सञ्चालकहरू बताउँछन् ।

कोरोनाको संक्रमण बढिरहेको विद्यमान अवस्थामा मुक्तिनाथ मन्दिर खोल्ने निर्णय भइनसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । सोह्रश्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको प्रभाव पर्यटकीय नगरी पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ । विगतमा सोह्रश्राद्धको समयमा मुक्तिनाथ जाने दर्शनार्थीको चापलाई दृष्टिगत गर्दै पोखरादेखि जोमसोम उडान गर्दै आएका एयरलाइन्सहरूले नियमित उडानले नभ्याएपछि थप उडानसमेत गर्दै आएका थिए ।

सोह्रश्राद्धको समयमा मुक्तिनाथ जाने पर्यटकका कारण पोखराको पर्यटनलाई पनि चलायमान गराउने गरेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी संघ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए । ‘देशका विभिन्न स्थानबाट मुक्तिनाथ जाँदा आउँदा धार्मिक पर्यटकहरू पोखरामा एक–दुई दिन बिताउँदा पनि त्यसले यहाँको पर्यटनमा राम्रै टेवा पु¥याएको थियो,’ उनले भने । कोरोनाको कहरसँगै पर्यटकीय नगरी पोखरासहित देशका प्रमुख पर्यटकीय गन्तव्य प्रभावित भएको थापाले बताए ।

पछिल्ला वर्षमा मुक्तिनाथको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै यहाँका पर्यटन व्यवसायीले होटलको संख्या, सुविधा र लगानी पनि बढाउँदै आएका छन् । मुक्तिनाथ मन्दिरकै मुख्य प्रवेशद्वार रानीपौवा र आसपासमा मात्रै पनि दैनिक दुई हजारसम्म स्वदेशी एवं विदेशी पर्यटक राख्न सक्ने गरी यहाँका होटलको क्षमता विस्तार गरिसकेको होटल ग्रान्ड साम्बालाका सञ्चालक गुरुङले जानकारी दिए । पोखरा, काठमाडौँ, चितवनलगायत शहरका होटलसरहका सुविधा यहाँका होटलमा पाइनुका साथै कोठाबाटै हिमाल र मनोरम भू–बनोट अवलोकन गर्न सकिन्छ । जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन् ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ । भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ । ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ मुक्तिनाथको मूर्ति रहेको र विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएको छ । पद्मसम्भवले तपस्या गरेको स्थल भएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । त्यस्तै हिन्दूले भगवान विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्दछन् । रासस