Rumpum Advertisement

कोरोना संक्रमितलाई युवाको साथ, संक्रमितको घर निःशुल्क ‘सेनिटाइज’ गरिँदै

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमितलाई युवाको साथ, संक्रमितको घर निःशुल्क ‘सेनिटाइज’ गरिँदै

आशिका लम्साल

विराटनगर, ७ भदौ । कोरोना संक्रमितलाई समाजले बहिस्कार गरेका घटनाहरु सार्वजनिक भइरहेको अवस्थामा विराटनगरमा केही युवाहरुले संक्रमितको सहयोगमा जुटेका छन् ।

युवाहरुले संक्रमित व्यक्तिको घरघर पुगेर निःशुल्क ‘सेनिटाइज’ गर्ने र अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउने अभियान सुरु गरेका हुन् ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि महानगरपालिका र प्रदेश सरकारका संयन्त्रहरुले वास्ता गर्न नभ्याएपछि स्वतस्र्फुतरुपमा विराटनगरका युवाहरुले संक्रमितहरुको घरघरमा पुगेर निःशुल्क सेनिटाइज गर्न र अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउन लागिपरेका हुन् ।

हाल विराटनगर वरगाछीका राम नेपाल, रोविन कार्कीको युवा समूहले संक्रमितहरुको घरघरमा पुगेर निःशुल्क घर, टोल ‘सेनिटाइज’ गरिदिने गरिरहेको छ ।

पेरिस सुवेदीसहितको समूहले घरलाई सुरक्षित तरिका, केमिकल र औजार व्यवस्थापनका लागि परामर्श दिने काम गरिरहेका छन् ।

लायन्स क्लब विराटनगर युनिकको समूहले कोरोना संक्रमितहरुलाई आवश्यक उपभोग्य सामानहरु घरमा पु¥याइदिने काम पनि गरिरहेको छ । अभियान्ता पेरिस सुवेदी भन्छन्, ‘सकभर हामी पैसा लिदैनौं दिन चाहनेहरुलाई पनि यो बेला पैसा लिनुदिनु सुरक्षित हुँदैन भनेका छौं ।’

सहयोगी युवाहरुले निषेधाज्ञा जारी हुनुभन्दा पहिलेका तीन हप्ता विराटनगरमा कोरोना संक्रमित भएका घरघरमा पुगेर निःशुल्क सेनिटाइज गरिदिँदै आएका थिए ।

निषेधाज्ञा जारी भएपछि फोनबाट निःशुल्क ‘काउन्सिलिङ’ गरिदिँदै आएको सुबेदीले बताए । उनका अनुसार सेनिटाइजका लागि परामर्श दिन सबै युवाहरुले आफनो नाम नम्बर समाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

पेरिसका अनुसार कोरोना संक्रमण रोकथामका लागि लकडाउन सुरु भएपछि युवाहरुको समूहले विराटनगर बजारमा पाँच दिन निरन्तर सार्वजनिक स्थानमा ‘सेनिटाइज’ गरेको थियो ।

युवाहरुले रंगेली, जहदा, बुधनगर, पथरी, उर्लाबारीलगायतका स्थानमा सेनिटाइज गर्ने र परामर्श दिने काम गरेका थिए ।

संक्रमित घरमा खाना र औषधि पु¥याउने योजना

महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार हाल विराटनगरमा तीन सय ५० जना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् ।

कुनै घरमा त परिवारका सबैजना संक्रमित छन् । सबै सदस्य संक्रमित भएको र पाको उमेर भएकाहरुको घरमा खाना पकाएर खान समस्या हुन थालेको छ ।

युवाहरुका अनुसार आइसोलेसन सेन्टरमा भर्ना भएकाहरुलाई महानगरपालिकाले खाना उपलब्ध गराउने गरेको छ । तर होम आइसोलेसनमा बसेकाहरुलाई खासै सोधखोज हुने गरेको छैन ।

५ भदौ रातिदेखि विराटनगरमा कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा लागू भएको छ । यसैले सहयोगी युवाहरु पनि आआफ्नै घरमा थन्किएका छन् । तर यो बेला खाना पकाउन असर्मथ भयौं, पकाएको खाना उपलब्ध गराइदिनु प¥यो भनेर संक्रमितहरुले आफूहरुलाई निरन्तर फोन गर्न थालेको उनीहरु बताउँछन् ।

घरमा बसेका संक्रमितहरुलाई औषधि र पौष्टिक खानाको आवश्कता पर्छ । ‘अब हामी कसरी अशक्त संक्रमितहरुलाई पकाएको खाना र भिटामिनहरु उपलब्ध गराउन सकिन्छ भनेर योजनाहरु बनाउँदैछौं,’ सुवेदीले भने ।