Rumpum Advertisement

प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै

महोत्तरी, ७ भदौ । प्रदेश नं २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या निकै बढेको छ । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको संख्या निकै बढेको हो ।

भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार दुई सय सात पुगेका छन् । साउन मसान्तमा यो संख्या एक हजार ६३ थियो । भदौका छ दिनमा मात्रै दुई हजार एक सय ४४ जना होम आइसोलेसनमा बस्ने थपिएका हुन् ।

आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बसेको संक्रमण पुष्टि भएकाहरुको भनाइ छ । ठिक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट संक्रमणमुक्त हुन सकिने भएपछि यस्ता संक्रमित आफ्नै घरमा बस्न थालेका हुन् ।

‘सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि जनताका काममा लागि रहँदा संक्रमित भइएछ,’ अहिले होम आइसोलेसनमा बस्दै आएका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले सञ्चारकर्मीसँग भने, ‘बस्ने तौरतरिका, निर्वाह गर्नुपर्ने सतर्कता, सन्तुलित खानपानको तालिका र आहारव्यवहारबाटै कोरोना परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्न पनि होम आइसोलेसन प्रभावकारी हुने लाग्यो, घरका सबैले परबाट हेर्न पाइरहेका र ठिकठाक देखेपछि सबैमा यो संक्रमणबाट मुक्त हुइने आत्मविश्वास जागेको महसुस गरेको छु ।’

प्रदेश नं २ का आठवटै जिल्लामा गरी भदौ लागेयता एक हजार पाँच सय ५५ नयाँ संक्रमित थपिएका छन् । यिनीहरुमध्ये धेरैजसो र यसअघिका समेत गरी अहिले होम आइसोलेसनमा बस्नेको संख्या तीन हजार २०७ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म सिरहा होम आइसोलेसनमा बसेका नदेखिएको प्रदेशको एकमात्र जिल्ला हो । यसबाहेक अहिले पर्सामा ७६६, रौतहटमा ७०४, महोत्तरीमा ६५१, धनुषा र सर्लाहीमा ३६० एवं बारामा २९१ जना संक्रमण पुष्टि भएकाहरु होम आइसोलेसनमा बसेका मन्त्रालयको तथ्यांक छ ।

प्रदेश नं २ का सबै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । पछिल्लोपटक भदौ १ गते प्रदेशका आठवटै जिल्ला प्रशासनले निषेधाज्ञा अवधि थप्दै लगेका छन् । कडाइँपूर्वकको निषेधाज्ञा अवधिभित्रै पनि कोभिड–१९ संक्रमण बढ्दो देखिएको छ । भदौ महिनाका छ दिनभित्र प्रदेशभित्र एक हजार ५५५ नयाँ संक्रमित थपिएका छन् । यसै अवधिमा १४ संक्रमितको मृत्यु भएको छ ।

अहिले (भदौ ६ गते शनिबारसम्म) प्रदेशका आठवटै जिल्लामा गरी कूल संक्रमित आठ हजार ५२० पुष्टि भएका छन् । साउन मसान्तमा यो संख्या छ हजार ९६५ थियो । त्यसैगरी भदौ लागिकन १४ संक्रमितको ज्यान गएको छ । साउन मसान्तमा ४५ रहेको मृतक संख्या शनिबारसम्म बढेर ५९ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अभिलेखले देखाएको हो । यद्यपि भदौमा पुष्टि भएको संक्रमण यसअघि नै प्रभावित भएकाहरुमा देखिएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरे बताउँछन् ।

प्रदेश नं २ मा गत साउनमा मात्रै तीन हजार ५४ मा महाव्याधिको संक्रमण भएको हो । साउन मसान्तसम्म कूल छ हजार ९६५ मा संक्रमण पुष्टि भएको थियो । गत साउनमै प्रदेशमा कोभिड–१९ संक्रमण पुष्टि भएका ४२ जनाको मृत्यु भएको थियो । कूल संक्रमित मृत्यु हालसम्मका ५९ मध्ये दुई गत जेठमा र एक असारमा मृत्यु भएका प्रदेश नं २ सरकारको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । असार मसान्तसम्ममा तीन हजार ९११ मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्रदेश नं २ मा कोभिड–१९ संक्रमण पहिलोपटक गत चैत महिनाको मध्यपछि पाइएको हो । सुरुमा पर्साको वीरगञ्जमा आएका तीन भारतीयमा संक्रमण पुष्टि भएसँगै त्यसपछि विभिन्न जिल्लामा फैलँदै गएको तथ्यांकले देखाउँछ । चैत मसान्तसम्म प्रदेशमा तीन मात्र देखिएको यो संख्या वैशाख मसान्तमा बढेर ९५ पुगेको हो । तीमध्ये वैशाखमा मात्रै ९२ जना संक्रमण पुष्टि भएका हुन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार जेठमा एक हजार ९१९ मा संक्रमण पुष्टि भएपछि यो कूल संख्या जेठ मसान्तसम्म दुई हजार १४ पुगेको देखिन्छ । त्यसैगरी असारमा एक हजार ८९७ नयाँ संक्रमित थपिएका थिए । असार मसान्तमा संक्रमितको कूल संख्या तीन हजार ९११ पुगेको अभिलेखले देखाएको छ ।

पछिल्लोपटक साउन ७ यता लकडाउन हटेपछि प्रदेशमा संक्रमण ह्वात्तै बढेको देखिन्छ । यद्यपि साउन तेस्रो साताको अन्त्यतिर जिल्ला–जिल्लामा निषेधाज्ञा लाग्न थालेपछि प्रदेश नं २ फेरि लकडाउनमा फर्केको छ । साउन ७ गते सरकारले लकडाउन हटाएयता कोभिड–१९ संक्रमण झन्झन् बढ्दै गएपछि साउन २० देखि ठाउँठाउँमा धमाधम निषेधाज्ञा घोषणा गरिदै जाँदा सिङ्गो प्रदेश नै अहिले फेरि बन्दाबन्दीको अवस्थामा पुगेको छ । अहिले प्रदेशका सबै जिल्ला (स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय) ले जिल्लाभरि नै निषेधाज्ञा आदेश जारी गरेका छन् । रासस