Rumpum Advertisement

कोरोनाभन्दा दुर्घटनाबाट मृत्यु हुनेकाे संख्या ६ गुणा बढी

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाभन्दा दुर्घटनाबाट मृत्यु हुनेकाे संख्या ६ गुणा बढी

काठमाडाैं, २९ साउन । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण दर नेपालमा बढ्दो छ । बिहीबारसम्म ९५ जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिमको कैलाली जिल्लामा कोरोनाबाट मात्रै ४ जनाको मृत्यु भएको छ । तर त्यहाँ कोरोनाभन्दा यो अवधिमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६ गुणाले बढी छ ।

सरकारले ११ चैतयता देशव्यापी लकडाउन गरेपनि सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा २ दर्जन बढीले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

अहिलेसम्म त्यहाँ कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ । भने सवारी दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणको दर कम त भएको छैन तर कोरोनाभन्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चैतयता २७ पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताए ।

सवारी दुर्घटनाको दर कोरोनाभन्दा खतरनाक रहेको उनले बताए । विगतमा सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने गरेकोमा लकडाउनको अवधिमा निजी सवारी दुर्घटनामा बढी व्यक्तिको मृत्यु भएको उनको भनाइ छ ।

लकडाउनको अवधिमा खुला सडक भएका कारण तीव्रगतिमा सवारी हाँक्नु र चेकजाँच केही खुकुलो भएका कारण पनि दुर्घटना भएको उनले बताए ।

आर्थिक वर्ष २०७५-०७६ मा दुर्घटनामा ७० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७६-०७७ मा ६९ जनाको मृत्यु भएको थियो । चालु बर्षको श्रावण महिनामा मात्र ५ जनाले ज्यान गुमाएका छन् ।

कोरोना महामारीका कारण राजश्व संकलनमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७५-०७६ मा भन्दा गत आर्थिक वर्षमा कारवाहीमा पर्ने सवारीको संख्या कम रहेको छ ।

फलस्वरुप राजस्व संकलनमा पनि कमि आएको छ । आर्थिक वर्ष २०७५-०७६ मा एक करोड ६३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७६-०७७ मा एक करोड ४५ लाख २६ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको उनले बताए ।

पछिल्लो समय लक डाउन खुकुलो भएसँगै देशका अन्य ठाउँमा पनि सवारी दुर्घटनाका घटनाहरू बढीरहेका छन् । सरकारले जिल्लाभित्र मात्रै सवारी सञ्चालनको निर्णय गरेपनि धेरै ठाउँमा पास लिएर एक जिल्लाबाट अर्को जिल्लामा जानेहरूको संख्या पनि बढिरहेको छ ।

संक्रमंण देखिएको ठाउँबाट अर्को ठाउँमा मानिसहरूको आवतजावत हुँदा कोरोना संक्रमणको दर पनि बढेको छ ।