Rumpum Advertisement

सप्तरीमा कोरोनासँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु, स्वाब संकलन हुँदै

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरीमा कोरोनासँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु, स्वाब संकलन हुँदै

सप्तरी, २१ साउन । सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–५ का ४५ वर्षीय पुरुष, राज गढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

रुपनी गाउँपालिका–५ का पुरुष एक–डेढ महिनाअघि मलेसियाबाट फर्किएर घरमै बसेका थिए । यसैबीचमा उनलाई ज्वरो र दमको समस्या देखिएपछि मंगलबार राजविराज ल्याइएको थियो ।

उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए ।

परिवारका सदस्यले धरानबाट फर्काएर शव जलाउने तयारी गरिरहेको अवस्थामा आफूले रोकेको र स्वाब परीक्षणको व्यवस्था मिलाएको उनले जानकारी दिए । स्वाब संकलनको काम सम्पन्न भएपछि शव जलाउन दिइने उनले बताउनुभयो ।

यसै गरी, ज्वरो र श्वासप्रश्वासकै समस्या भएर साउन १५ गते राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राज गढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनीहरूको गए राति मृत्यु भएको जनाइएको छ ।

तीन जनाको स्वाब संकलन गरिसकेपछि मात्रै अन्तिम संस्कारको अनुमति दिइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।